सेनाले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका सराहनीय छ: प्रधानमन्त्री दाहाल
रासंसा/काठमाण्डौ, फाल्गुण ६,
मुलुकमा प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गरेका छन्। कठिन परिस्थितिमा समेत नेपाल र नेपालीका हितमा पुर्याएको योगदानले सेनाको महत्व र सार्थकतालाई मुखरित गरेको उल्लेख गर्दै उनले विकास निर्माण, अन्तर्राष्ट्रिय शान्ति, पर्यावरण संरक्षण, विपद् व्यवस्थापन, निर्वाचन सुरक्षा, खेलकुदमा आर्जन गरेको ख्याति, प्रदर्शन गरेको वीरता र अपनाएको व्यावसायिकताको प्रशंसा गरेका छन्। सेना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले भनेका छन्, ‘ऐतिहासिक परिवेश र परिदृश्यको सूक्ष्म निगरानी तथा विश्लेषण गर्दै देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय छ।’ रक्षामन्त्री हरिप्रसाद उप्रेतीले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सेनाका सकलदर्जालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। रक्षामन्त्री उप्रेतीले सन्देशमा भनेका छन्, ‘सेनाको गौरवशाली सङ्गठनको साङ्गठनिक सुदृढीकरण, जनशक्तिको विकास, स्रोत साधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलगायतका क्षेत्रमा समयानुकूल आधुनिकीकरण र क्षमता विकास गर्न अत्यावश्यक छ। सुखी नेपाली र समृद्ध नेपाल राष्ट्रिय अभियानको पदचापमा सेनाको भूमिका महत्वपूर्ण रहनेछ।’ स्थापनाकालदेखि नै नेपाली सेनाले निष्ठा र इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै आएको बताउँदै उनले देशको स्वाधीनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्ने सिलसिलामा जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा पनि सेनाले प्रदर्शन गरेको अविचलित अनुशासन, निष्ठा र बलिदानका गाथाको स्मरण गरेका छन्। उनले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा सेनाले विगतदेखि नै उल्लेखनीय कार्य गर्दै आइरहेको र बदलिँदो परिस्थितिमा सुरक्षा चुनौती र सेनाको भूमिकाबारे आफू जानकार रहेको उल्लेख गरेका छन्। यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु¥याउने सबैमा शुभकामना व्यक्त गरेको छ। नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ। सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ।