एमाले सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भन्यो– सुदूरपश्चिम सरकारमा भूकम्प
रासंसा/काठमाण्डौ, माघ २६,
मुलुकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर सरकार ढलेपछि नागरिक उन्मुक्ति पार्टीले भूकम्प मात्र गएको प्रतिक्रिया दिएको छ । सरकार गठन भएको एक महिनामै नागरिक उन्मुक्ति पार्टीले साथ छोडेपछि मुख्यमन्त्री रावल नेतृत्वको सरकार ढलेको हो । नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले आफूहरूको काठमाडौँ आगमनले प्रदेश सरकारमा भूकम्प गएको बताए । उनले भने , ‘भूकम्पको धक्का गएको छ । यसले कति असर गर्छ, त्यो उनीहरुलाई नै थाहा होला ।’ पार्टीका संरक्षक रहेका रेशम चौधरीको निगरानीमा डिल्लीबजारस्थित केन्द्रीय कारागारमै उनले आफूहरु शरणमा नपर्ने बताए । उनले भने, ‘हामीलाई मधेसी दलजस्तो ठानेका होलान् । हामी पश्चिमी थारु हौँ । हामी मधेसी दलले जस्तो शरणमा परेर जानेवाला छैनौँ ।’ एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र १ राप्रपा १ गरी २९ जना सांसदको समर्थनमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान लिएर काठमाडौँ बसेपछि रावल सरकार ढलेको हो । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादका ४ र १ स्वतन्त्र सदस्य छन्। रावलले राजीनामा दिएपछि अब प्रदेशसभाको सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसलाई सरकार बनाउन बाटो खुलेको छ। ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ। नाउपाको साथ नपाउने भएपछि रावललाई विश्वासको मतका लागि ५ सांसद अपुग भएको अवस्था छ । प्रदेश सभामा एमालेका १०, माओवादी केन्द्रका (सभामुख सहित) ११, र राप्रपाका १ गरी २२ सांसद मात्र उनको साथमा रहे । संविधानको धारा १६८ (३) मा ‘प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा प्रदेश प्रमुखले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन्’ भनिएको छ ।
