४४ लाख खोप खेर जाने अवस्थामा

Share to:

रासंसा/काठमाण्डौ, माघ १३,

मुलुकमा दातृ निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरानाविरुद्धको ४४ लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ। दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो। दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल दासले पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि प्रदेशमा ८७ हजार र स्थानीय तहमा तीन लाख डोज पठाइएको बताए। उनले भने, ‘म्याद गुज्रेका ती खोप यही जनवरी महिनाभित्र लगाउँदा केही असर पर्दैन भन्ने विश्वास दिलाउन नसक्दा खपत हुन नसकेको अवस्था छ।’ विभागका अनुसार पाँचदेखि ११ वर्ष उमेरसम्मका बालबालिकाका लागि भनेर आएको खोपको पनि म्याद गुज्रिसकेको छ। गत सेप्टेम्बरदेखि अक्टोबरसम्म म्याद रहेका खोप यही जनवरी अन्त्यसम्म प्रयोग गर्न सकिने भन्दै विभागले केही समयअघि स्थानीय तहमा पठाएको थियो। ती खोप जनवरी महिनाभरिमा प्रयोग गर्न सकिने सल्लाहकार समितिको सिफारिसपछि विभागले स्थानीय तहमा पठाएको हो। स्थानीय तहले बालबालिकालाई खोप लगाउन प्रेरित नगर्दा यस्तो अवस्था आएको उनको तर्क छ। डा. दासका अनुसार खोपको पहिलो डोज ९१ प्रतिशत र दोस्रो डोज ८० प्रतिशत बालबालिकाले लिएका छन्। साढे चार वर्षमा हिँड्दै गरेका बालबालिका ६ महिनापछि पाँच वर्ष पुग्ने भन्दै स्थानीय तहले तिनका लागि पनि माग गरेका कारण सोहीअनुसार खोप पठाइएको विभागका एक अधिकारीले बताए। खोप खपत नभएर नष्ट गर्नुपर्ने अवस्था आउन सक्छ। विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख सुरेश चौरासियाले त्यस्तो अवस्था आए निकै सावधानी अपनाउनुपर्ने बताए। उनले भने, ‘खोप नष्ट गर्दा त्यसले माटो, वनस्पति र मानव स्वास्थ्यमा असर गर्छ। त्यसैले आवश्यक कार्यविधि बनाएर नष्ट गर्ने सोच पनि विभागले बनाएको छ।’ चीनबाट अनुदानमा आएको ४० लाख डोज भेरोसेल खोप खपत हुन नसक्दा टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डार कक्षमा थन्किएको छ। चीनले दिएको ४० लाख डोज खोपको म्याद सकिन केही महिना मात्रै बाँकी छ। भेरोसेल खोपको प्रभावकारितामाथि प्रश्न उठेपछि यो खोप खपत हुन सकेको छैन। ‘फाइजर र अन्य खोप लगाउने धेरै भएकाले भेरोसेल खपत गर्न कठिन भएको हो’, विभागको खोप शाखाका डा. सञ्जय महासेठले भने, ‘प्रयोग नभएको भेरोसेल खोप फिर्ता पठाउने कि भन्ने सोचमा पनि छौं।’ स्थानीय तहमा समन्वय नहुँदा सबैको पहुँचमा खोप पु¥याउन समस्या भएको हो। ‘दातृ निकायले नेपाललाई प्राथमिकतामा राखेर दिएको खोप खपत नहुँदा राम्रो सन्देश जाँदैन,’ डा. दासले भने। कतै खोप नपाएर लगाउन नपाएको गुनासो छ भने कतै खोप भएर पनि लगाउने मानिस नहुँदा प्रयोगमा आउन सकेको छैन। जस्तो १ भाइल खोपमा ६ मात्रा हुन्छ अर्थात् ६ जनालाई दिन मिल्छ। भाइल खोलेपछि प्रयोग गरिहाल्नुपर्छ। तर भाइल खोलेपछि लगाउने एकजना मात्र भए बाँकी मात्रा खेर जान्छ। खोप भण्डारबाट झिकेको १० साताभित्र लगाइसक्नुपर्छ। पछिल्लोपटक छिमेकी देश चीन र भारतमा कोरोना भाइरस संक्रमण फैलिएपछि सरकारले गाभीसँग खोपको अतिरिक्त मात्रा (बुस्टर डोज) माग गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अतिरिक्त खोपका लागि १५ लाख मात्रा खोप उपलब्ध गराउन गाभी (भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स) लाई पुस २८ गते औपचारिक पत्र पठाएको हो। पत्रअनुसार गाभीले माघ तेस्रो साताभित्र १५ लाख मात्रा खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभागका अधिकारीले बताए। पछिल्लोपटक भारत र चीनमा कोरोनाको बिएफ सात नामक प्रजातिको नयाँ भेरियन्टको संक्रमण फैलिन थालेपछि स्वास्थ्य मन्त्रालयले बुस्टर खोप लगाउन सबैलाई आग्रह गरेको छ। तर बुष्टर डोज खोप लगाउन पनि आकर्षण देखिएको छैन। ‘अतिरिक्त खोपका लागि १५ लाख मात्राले नपुग्ने भएकाले थप १५ लाख मात्रा उपलब्ध गराउन पनि हामीले गाभीलाई पत्र पठाएको छौं’, विभागको खोप शाखाका डा. सञ्जय महासेठले भने। गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप पठाउने भएको छ। पछिल्लो समय विकसित कोरोनाको नयाँ भेरियन्टबाट जोगिन स्थानीय तह र प्रदेशबाट पनि खोपको माग धेरै भएकाले त्यसैअनुसार सरकारले दातृ निकायलाई उपलब्ध गराउन भनेको महासेठले बताए। कोभिडविरुद्धको खोप पूर्ण मात्रा लिएको तीन महिनापछि अतिरिक्त मात्रा लिनुपर्ने प्रावधान छ। अरिरिक्त मात्रा नलिएकाहरूमा कोभिडको संक्रमण देखिए शरीरमा एन्टिबडीको कमीले गर्दा जटिलता देखिन सक्ने चिकित्सक बताउँछन्। नेपालमा कुल जनसंख्याको २७.३१ प्रतिशत अर्थात् ७९ लाख ७२ हजार ७ सय ९१ जनाले खोपको अत्तिरिक्त मात्रा लगाएका छन्।

Like