उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख दिने
रासंसा/मुगु, पौष ३०,
मुलुकमा छायाँनाथ रारा नगरपालिकाकाले उमेर पुगेका गैरदलितले दलितसँग विवाह गरे एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ। नगरप्रमुख विष्णुकुमार भामले छुवाछुत अन्त्य र दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट बहुमतले पास भएको जानकारी दिए। पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार ३०० दलित घरधुरी छन्। उनले संस्कृति, बाजा र सीपमूलक आर्यआजनका लागि प्रति घरधुरीलाई पहिलो चरणमा दुई हजार ५०० का दरले दलित भत्ता उपलब्ध गराउने बताए। आफ्नो पाँच वर्षे कार्यकालमा पाँच हजारसम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ । भर्खरै सम्पन्न नगरपालिकाको १२औँ विधेयक नगरसभाले जातिय विभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका गैरदलितले दलित सँग विवाह गरे छायानाथ रारा नगरपालिकाले प्रोत्साहन स्वरूप एक लाख उपलब्ध गराउने भएको हो। विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ। युवालाई कुलतमा फस्न नदिन नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ र अपांगता नियमावली २०७९ पारित भएको छ। यस्तै नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएको छ।