मोरक्कोकले समर्थक कमायो

Share to:

एजेन्सी,

विश्वमा कोही पनि मोरक्कोविरुद्ध फ्रान्स विजयी होस् भन्ने चाहँदैनन्। चाहन्छ त फ्रान्सेली वा फ्रेन्च टिमका समर्थक। अरु सबै मोरक्कोले जितोस् भन्ने चाहन्छन्। बुधबार राति हुने विश्वकप फुटबलको सेमिफाइनलमा फ्रान्सलाई समर्थन नगर्नुको कारण क्वार्टरफाइनलमा इङ्ल्यान्डलाई हराएर हो त ? होइन। यथार्थ चाहिँ ‘अन्डरडग’ टिमको माया र समर्थन हो। कतारमा ठूलो संख्यामा मोरक्कोका आप्रवासी छन्। मध्यपूर्वमा अरबी समर्थनको पनि बाक्लो उपस्थिति र सहभागिता छ। त्यसैले मोरक्को मात्रै नभएर ट्युनिसियाले पनि कतारमा खेल्दा घरेलु मैदानझैं अनुभव गरेको थियो। विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको मोरक्कोले धेरै समर्थक कमाएको छ। अफ्रिका महादेश मात्रै नभएर, अरब तथा इस्लामी समर्थकको पनि मन जितेको छ। मोरक्को अर्जेन्टिनासँग खेलिरहेको भए समर्थकले लियोनल मेसीलाई बिर्संन्थे। क्रोएसियासँग खेल्ने हो भने एउटा सानो मुलुकले दन्तेकथाझैं सन् २०१८ मा तय गरेको फाइनल यात्रा बिर्सिंन्थे। फ्रान्सका पुराना समर्थक वा फ्रान्ससँग जोडिएकाले पक्कै साविक विजेताको समर्थन गर्नेछन्। तर, बाँकीले ? उनीहरू पक्कै मोरक्कोको पक्षमा उभिने छन्। साविक विजेता फ्रान्स फाइनल पुग्ने दाबेदार टोली हो भन्ने स्पष्ट छ। तर, न्युट्रल समर्थकले कसरी मोरक्कोलाई समर्थन गर्न सक्छन् ? मोरक्कोका प्रशिक्षक वालिद रेगरागुईकै शब्दमा भन्ने हो भने यसपटक मोरक्को विश्वकपको सर्वाधिक मनोरञ्जनात्मक टोली हो। रेगरागुईको टिमले जारी विश्वकपमा पोर्चुगल, स्पेन र बेल्जियमलाई स्तब्ध पारेको छ। यस्तै समूह चरणमा सेमिफाइनलमा पुगेको क्रोएसियासँग गोलरहित बराबरी खेलेको छ। साविक उपविजेताविरुद्ध मोरक्कोको जारी विश्वकपमा पहिलो खेल थियो। फ्रान्सका लागि भने ‘अन्डरडग’लाई पराजित गर्नु त्यति चिन्ताको विषय हुनेछैन। ‘हामी यसमा निपूर्ण भइसकेका छौं’, फ्रान्सका किङ्स्ले कोम्यान भन्छन्, ‘फ्रान्सबाहेक सबै हाम्रो विपक्षमा हुनेछन्। तर, यो सामान्य हो। सबैले आफ्नो मुलुकको समर्थन गर्छन्। हामी फ्रेन्चको समर्थन पाउँदा भाग्यशाली छौं। यो विश्वकपमा कोही पनि दाबेदार टिम छैन। जे पनि हुनसक्छ। मोरक्कोले आफ्नो मन मैदानमा छाडेको छ।’ मोरक्कोका समर्थक रंगशालामा हाबी हुँदा त्यसको सामना गर्न फ्रान्सलाई उच्च मनोबल चाहिनेछ। त्यो दबाबलाई झेल्दै विश्वकप जितेमा फ्रान्स ६० वर्षमा लगातार उपाधि रक्षा गर्ने पहिलो टिम बन्नेछ। सन् १९५८ र १९६२ मा ब्राजिलले उपाधि रक्षा गरेपछि कुनै टिमले दोहोर्‍याउन सकेका छैनन्। आइतबार राति इङ्ल्यान्डविरुद्धको प्रतिस्पर्धात्मक खेलमा दुई उत्कृष्ट गोल गर्दै फ्रान्सले जित निकालेको थियो। केही हदसम्म भाग्यशाली देखिएको फ्रान्सले दुई पेनाल्टी दिएको थियो। जसका कारण निर्धारित ९० मिनेटमा खेल नसकिने प्रवल सम्भावना थियो। तर, इङ्लिस कप्तान हेरी केन पेनाल्टीमा चुक्दा साविक विजेता भाग्यशाली रह्यो। ‘त्यो खेलमा मानसिक पक्ष एकदमै महत्वपूर्ण थियो’, फ्रेन्च कप्तान हुगो लोरिस भन्छन्, ‘कठिन खेल थियो। इङ्ल्यान्डले धेरै प्रसंशाको हकदार हुने प्रदर्शन गर्‍यो। अन्तिम समयसम्म पनि त्यो तीव्र प्रतिस्पर्धात्मक थियो।’ फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्प्स उपाधि रक्षाबारे धेरै चर्चा हुनु आवश्यक नरहेको बताउँछन्। ‘सबै कुरा तपाईको अगाडि छ, हामी सेमिफाइनलमा छौं। बुधबार रातिको खेल निकै महत्वपूर्ण हुनेछ’, उनी भन्छन्, ‘मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। कुनै ‘सरप्राइज’ र भाग्यले मोरक्को यहाँसम्म आइपुगेको होइन। उनीहरू यसको हकदार छन्।’ फ्रान्सले फाइनलमा स्थान बनाउन जारी विश्वकपमा एक गोल मात्रै खाएको टिमको सामना गर्दैछ। त्यो पनि एक आत्मघाती गोल मात्रै। मोरक्को यहाँसम्म आइपुग्दा युरोपेली फुटबलका पावरहाउसहरू पनि मोरक्कोको रक्षापंक्ति छिचोल्न असफल हुँदै आएका छन्। त्यसैले फ्रान्सले रक्षापंक्तिमा सुधारसँगै आक्रमणलाई पनि अझै छरितो बनाउनुपर्नेछ। लगातार फाइनल पुग्न फ्रान्सले सुधार गर्नुपर्ने आवश्यक छ। सेमिफाइनलसम्म आइपुग्दा फ्रान्सको मिडफिल्डमा समस्या देखिएको छ। पहिलो हाफमा इङ्ल्यान्डविरुद्ध उत्कृष्ट गोल गरेका मिडफिल्डर औरेलियन तचौमेनीले नै दोस्रो हाफमा साकामाथि खराब फल गर्दै पेनाल्टी दिएका थिए। यसअर्थमा फ्रान्सले रक्षात्मक पक्षमा पनि सुधार गर्नुपर्नेछ। जारी विश्वकपमा मोरक्कोको आक्रमण र मिडफिल्डका आधार नै जिच हुन्। पूर्व प्रशिक्षकसँगको विवादका कारण गत फेब्रुअरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका उनकै प्रेरणामा मोरक्को अहिले विश्वकपको सेमिफाइनलसम्म पुगेको छ। पोर्चुगलविरुद्धको खेलमा कप्तान रोमन सेइस घाइते भएका थिए। त्यसैलै बुधबारको खेलमा उनी मैदान उत्रिन्छन् नै भन्ने निश्चित छैन। त्यसो हुँदा मोरक्कोको कप्तानीको जिम्मेवारी पनि उनमै काँधमा आउने सम्भावना छ। फ्रान्सको जारी विश्वकपमा मिडफिल्ड र रक्षापंक्तिबीचको तालमेल चित्तबुझ्दो छैन। जसको सबैभन्दा धेरै फाइदा जिचले उठाउन सक्ने छन्। गोल्डेन बुट दौडमा शीर्ष स्थानमा रहेका एमबाप्पेलाई रोक्नु मोरक्कोको ठूलो चुनौती हो। पेरिस सेन्ट जर्मन (पीएसजी)का २३ वर्षीय फरवार्डले क्लब फुटबलका सहकर्मी असरफ हाकिमीलाई बायाँतर्फ व्यस्त मात्रै राख्ने छैनन्, उनको कठिन परीक्षा पनि लिनेछन्। सुरुवाती चार खेलमा पाँच गोल गरेका एमबाप्पेले इङ्ल्यान्डविरुद्ध गोल गर्न नसके पनि उनी धेरै खेलमा गोल नगरी रहन सक्ने खेलाडी होइनन्। चार वर्षअघि रुसमा फ्रान्सलाई विश्वकप जिताउँदा चार गोल गरेका एमबाप्पे मोरक्कोको रक्षापंक्ति चिर्ने पहिलो खेलाडी बन्न सक्छन्।

Like