नेका नेता शशांक कोइरालालाई सहज प्रतिस्पर्धामा एमालेका कृष्णप्रसाद पौडेलसंग
रासंसा/नवलपुर, कार्तिक २८,
मुलुकमा पहिलो संविधानसभा सदस्य निर्वाचन, २०६४ देखि लगातार तीन चुनाव जितेर ‘ह्याट्रिक’ गरेका नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पनि मैदानमा छन्। २०६४ र २०७० सालमा भएका संविधानसभा सदस्य निर्वाचनमा विभाजन नभएको नवलपरासी १ बाट निर्वाचित कोइरालाले २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन विभाजन भएको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाटै जितेका थिए। कोइरालासँग एमालेका कृष्णप्रसाद पौडेल प्रतिस्पर्धामा छन्। शारीरिक रूपमा केही अस्वस्थ कोइरालाले पछिल्ला दिनहरूमा चुनावी गतिविधि र प्रचार शैलीलाई भने आक्रामक बनाउँदै लगेका छन्। प्रचारका क्रममा उनले ‘यसअघि पटक–पटक जिताएर सांसद बनाएको र अब प्रधानमन्त्री बन्नका लागि पनि सहयोग गर्न’ भन्दै मत मागिरहेका छन्। मतदातासमक्ष उनले आफ्ना प्रष्ट अजेन्डा पनि राखेका छन्। २०७० सालको निर्वाचनमा जित निकाल्न कोइरालाका लागि तुलनात्मक रूपमा सहज भए पनि २०६४ र २०७४ सालका निर्वाचनमा विजय हासिल गर्न उनले कडा मेहनत गर्नुपरेको थियो। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन बनेका कारण गण्डकी प्रदेशका ११ जिल्लामा चुनाव जित्ने कांग्रेसका एक्ला नेता हुन् कोइराला। त्यस्तो प्रतिकूल अवस्थामा चुनाव जितेका कोइरालालाई यसपटक पनि जित निकाल्न सहज परिस्थिति भएको जानकार बताउँछन्। गैंडाकोटमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद रंगशाला बनाउने, निर्माणाधीन कालीगण्डकी करिडोरलाई पूर्णता दिने, कावासोतीमा जिल्ला सदरमुकाम बनाउन आवश्यक पूर्वाधारको निर्माण गर्ने, देवचुली नगरपालिकामा सुविधासम्पन्न ट्रमा सेन्टर स्थापनालगायतका अजेन्डासहित उनी मतदाताको घरदैलोमा पुगिरहेका छन्। एमालेका उम्मेदवार पौडेलले भने कोइरालाका कमीकमजोरी कोट्याउँदै जित निकाल्ने रणनीति अख्तियार गरेका छन्। यो निर्वाचन क्षेत्रमा कोइरालाले तीनवटा निर्वाचन जित्नुअघि २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारले जितेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धन हुँदा पनि कांग्रेसका कोइराला ४० हजार ६२० मत ल्याएर विजयी बनेका थिए। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३६ हजार ५९६ मत पाएका थिए। पौडेलले कोइरालाले लगातार तीनपटक चुनाव जितेर पनि विकास निर्माण गर्न नसकेको, जनताका बीचमा घुलमिल हुन नसकेको, कांग्रेसकै सत्ता हुँदा पनि जनतालाई राहत पुग्ने काम गर्न नसकेको जस्ता विषय उठाएर भोट मागिरहेका छन्। पौडेलले आफू स्थानीय र कोइराला ‘टुरिस्ट’ भएको आरोप लगाएका छन्। सत्ता गठबन्धन र परम्परागत मतका आधा।मा यस क्षेत्रमा कोइराला बलिया देखिन्छन्। २०७४ को प्रतिनिधिसधा सदस्य निर्वाचनमा एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्र, २०७८ भदौमा एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनमा छन्। यसबाट पनि कोइरालालाई चुनाव जित्न सहज हुने देखिएको छ। प्रदेशसभा सदस्यका लागि नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) मा पनि कांग्रेसले जिल्ला सभापति महेन्द्रध्वज जिसीलाई उम्मेदवार बनाएको छ। उनी अघिल्लोपटक नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (ख) बाट उम्मेदवार रहेका उनले चुनाव हारेका थिए। अघिल्लोपटक नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) बाट कृष्णचन्द्र नेपाली पोखरेलले चुनाव जितेका थिए। उनी हाल गण्डकी प्रदेशका मुख्यमन्त्री छन्। नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (क) मा एमालेले रविन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मतका आधारमा नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा कांग्रेस पहिलो दल छ। पालिकाहरूमा वडाध्यक्षहरूले प्राप्त गरेको मतलाई आधार मान्दा कांग्रेसको ४० हजार ५११, एमालेको ३९ हजार ९५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई हजार ३७३, माओवादी केन्द्रको एकहजार ९२१ भोट छ। त्यस्तै नवलपरासी बर्दघाट सुस्ता पूर्व १ (ख) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल उम्मेदवार छन्। यहाँ एमालेले निवर्तमान सांसद रोशनबहादुर गाहा थापालाई उम्मेदवार बनाएको छ। राजनीतिक समीकरण र नवलपरासीको चुनावी इतिहास कोइरालाको पक्षमा भए पनि राप्रपा र एक स्वतन्त्र उम्मेदवारले काट्न सक्ने मत उनले जोगाउनुपर्ने देखिएको छ। ‘केही फरक पर्दैन। शंशाक कोइराला राष्ट्रिय व्यक्तित्व हो, उहाँ एमालेका मत पनि तान्नु हुन्छ, कांग्रेसमा मात्रै सीमित रहनु हुन्न। त्यसबाहेक अहिले त कांग्रेस एकढिक्का छँदै छ, गठबन्धनका दलका नेताकार्यकर्ता पनि एक भएर लाग्नुभएको छ,’ भट्टचनले भने, ‘कांग्रेसको जित त सुरक्षित भइसकेको छ, हामी अत्यधिक जनमत जुटाउन लागेका छौं।’ नवलपरासी बर्दघाट सुस्ता पूर्व १ मा मोहनीलाल भुसाल राप्रपाबाट उम्मेदवार छन्। उनले लामो समय कांग्रेसनिकट रहेर काम गरेका थिए। यो क्षत्रमा कांग्रेसको भ्रातृ संगठन नेविसंघको पृष्ठभूमिका चित्रध्वज जिसी स्वतन्त्र उम्मेदवार छन्। उनीहरूले कांग्रेसको मात काट्न सक्ने अनुमान मतदाताको छ। कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचन कांग्रेसका पक्षमा बलियो जनमत भएको दाबी गर्छन्। कोइरालाका लागि चुनावी गणित अनुकूल रहे पनि स्वास्थ्यमा भने बेलाबेलामा समस्या उत्पन्न गरेको छ। कात्तिक १३ गते निर्वाचन प्रचारप्रसारकै क्रममा उनी बेहोस भएर ढलेका थिए। उपचारपछि उनी घरदैलोमा फर्किएका हुन्। अहिले भने स्वास्थ्य राम्रै रहेको उनी निकट नेता बताउँछन्। ‘अहिले स्वास्थ्य एकदमै ठिक छ। बिहानैदेखि घरदैलोमा जाने, पार्टीका गतिविधिमा सहभागी हुने काम सहजरूपमै उहाँले गरिररहनुभएको छ,’ भट्टचनले भने। एमाले जिल्ला अध्यक्ष मुक्ति पाण्डे कांग्रेसका कोइरालाले तीन पटकसम्म लगातार चुनाव जित्दा पनि जिल्लामा केही गर्न नसकेकाले यसपटक जनताले एमालेका उम्मेदवारलाई जिताउने दाबी गर्छन्। उनले भने, ‘जनस्तरमा उहाँ (कोइराला) का प्रति गुनासैगुनासा छन्। ती गुनासो एमालेले सम्बोधन गर्छ। स्थानीय तहको नतिजालाई हेर्ने हो भने पनि हामी केही मतमात्रैले पछि छौं। अहिले हामीलाई चुनाव जित्न कुनै समस्या छैन।’ प्राध्यापक झविन्द्रेश्वर भुसाल पनि कोइरालाले आफ्नै संगठनका बलमा जित्न सक्ने बताउँछन्। ‘कांग्रेसको संगठन नै बलियो छ। त्यसमा पनि सत्ता गठबन्धन दलको साथ पाएपछि उहाँलाई समस्या देखिन्न,’ उनले भने, ‘कांग्रेसभित्रको आन्तरिक समस्या भने उहाँले अझै पनि मिलाउनै पर्छ।’