अन्य थपदेशप्रदेश-४ [गण्डकी]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

१३ मन्त्रीबीच रुपन्देहीमा प्रतिस्पर्धा

Share to:

रासंसा/रुपन्देही, कार्तिक २८,

मुलुकमा रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १३ मन्त्री चुनावी मैदानमा उत्रिएका छन्। बहालवाला गृहमन्त्रीसहित १३ जना पूर्वमन्त्रीहरूको रोचक चुनावी प्रपिस्पर्धा हुने भएको हो। प्रतिस्पर्धी उम्मेदवारहरू राजनीतिक दलका प्रभावशाली नेताहरू हुन्। रुपन्देहीको क्षेत्र नम्बर १ मा दुई पूर्वकृषिमन्त्री प्रतिस्पर्धी छन्। पूर्वमन्त्री एवं एमाले सचिव छविलाल विश्वकर्मा र पूर्वमन्त्री एवं एमालेका पूर्वउपमहासचिव घनश्याम भुसाल आमनेसामने छन्। भुसाल चुनावअघि एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन्। क्षेत्र नम्बर १ मा दुई समकक्षीको प्रतिस्पर्धाले निर्वाचन रोचक देखिएको छ। एमालेका उम्मेदवार विश्वकर्मालाई जनता समाजवादी पार्टी र राप्रपाले साथ दिएका छन्। भुसाललाई सत्ता गठबन्धनको समर्थन छ। क्षेत्र नम्बर १ को प्रदेश १ मा पूर्वमन्त्री अब्दुल रज्जाक चुनावी मैदानमा छन्। उनी संघीय सरकारको सिँचाइ मन्त्री भएका थिए। यसपटक मुख्यमन्त्री बन्ने योजनासहित उनी प्रदेशमा झरेका हुन्। उनको प्रतिस्पर्धामा एमालेका दधिराम न्यौपाने छन्। उनी पूर्वमाओवादी हुन्। क्षेत्र नम्बर २(२)मा एमालेबाट प्रदेशका पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ चुनावी मैदानमा छन्। उनका प्रतिस्पर्धीमा माओवादीबाट वामदेव क्षेत्री छन्। क्षेत्री प्रदेश योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएर संसद््मा उठेका हुन्। रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छन्। उनको प्रतिस्पर्धामा एमाले–राप्रपा–जसपा गठबन्धनबाट पूर्वमन्त्री दीपक बोहोरा मैदानमा छन्। रुपन्देही क्षेत्र नम्बर २ मा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल एमालेबाट उम्मेदवार छन्। उनीविरुद्ध उभिएका सत्ता गठबन्धनका उम्मेदवारको उम्मेदवारी खारेज भए पनि पौडेल प्रतिस्पर्धीविहीन जस्तै छन्। पछिल्लो चरणमा सत्ता गठबन्धनले जनमुक्ति पार्टीका उम्मेदवार केशव सूर्यवंशीलाई समर्थन गरेका छन्। प्रदेशमा दुई पूर्वप्रदेशमन्त्री मैदानमा छन्। एमालेबाट पूर्वप्रदेश मन्त्री लीला गिरी क्षेत्र नम्बर २(१) मा उम्मेदवार छन्। उनको प्रतिस्पर्धी दीर्घबहादुर केसी छन्। उनी कांग्रेसबाट सत्ता गठबन्धनको उम्मेदवार बनेका हुन्। उनी पहिलोपटक राजनीतिमा देखिएका हुन्। २०७४ को निर्वाचनमा कांग्रेस नेता खाँणले दीपक बोहोरालाई जिताउन आफू समानुपातिकमा बसेका थिए। कांग्रेसको साथ पाएका बोहोराले एमालेका घनश्याम भुसालसँग पराजित भएका थिए। अहिले खाँण र बोहोराको चुनावी प्रतिस्पर्धा रोचक मानिएको छ। नयाँ निर्वाचन क्षेत्र निर्माणपछि खाँण पहिलोपटक चुनावी मैदानमा उत्रिएका हुन्। रुपन्देही क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री सर्बेन्द्र शुक्ला चुनावी मैदानमा छन्। लोसपाका वरिष्ठ उपाध्यक्ष शुक्लासहित क्षेत्र नम्बर ४ मा चार पक्षीय भिडन्त रहेको छ। मर्चवार क्षेत्रमा कांग्रेसबाट पूर्वसांसद प्रमोद शाह छन्। त्यस्तै, एमाले–जसपाबाट पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारी प्रतिस्पर्धामा छन्। गुल्जारी निर्वाचनअघि एमालेबाट जसपामा प्रवेश गरेका थिए। क्षेत्र नम्बर ४ मा सिके राउतका भोपेन्द्र यादव चुनावी प्रतिस्पर्धी छन्। प्रदेशतर्फ ३(१) बाट लोसपाका प्रदेश पूर्वमन्त्री सन्तोष पाण्डे प्रतिस्पर्धी छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्। पार्टी छाडेर सरकारमा पुगेपछि उनको सांसद्् पद कार्यकाल अघि नै गुमेको थियो। उनको प्रतिस्पर्धामा जसपाका महेन्द्र यादव चुनावी मैदानमा छन्। यादव जसपाको प्रदेश अध्यक्ष हुन्। यादव र पाण्डे पहिले एकै दलमा थिए। क्षेत्र नम्बर ४ (२) प्रदेशका बाहालवाला प्रदेश शिक्षामन्त्री उसिउद्दिन खाँ चुनावी प्रतिस्पर्धामा छन्। उनीसँगको प्रतिस्पर्धामा जसपाबाट राम अवतार यादव चुनावी मैदानमा छन्। रुपन्देही क्षेत्र नम्बर ५ मा पूर्वमन्त्री भरत शाह र एमालेका पूर्वमेयर वासुदेव घिमिरे प्रतिस्र्धामा छन्। शाह कांग्रेसबाट तेस्रोपटक चुनावी जितका लागि प्रतिस्पर्धा गर्दैछन्। एमालेका घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाकाका पूर्वमेयर हुन्।

Like