विश्वप्रकाश र अग्नी खरेल झापा-१ मा अस्तित्वको लडाइँ लड्दै

Share to:

रासंसा/झापा, कार्तिक १७,

मुलुकमा झापा क्षेत्र नम्बर १ मा दुई ‘हेभिवेट’ नेताबीच कडा चुनावी प्रतिस्पर्धा हुन आकलन गरिएको छ। अहिले शर्मा र खरेल आफ्नो र आफ्नो पार्टीको अस्तित्व जोगाउन चुनावी रणनीति बनाएर मतदाताको घरआगँन पुगेर भोट माग्दैछन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने रोमाञ्चक प्रतिस्पर्धाका कारण चुनावी माहौल तातिएको छ। झापा-१ शर्माको निर्वाचन क्षेत्र हो। खरेलको निर्वाचन क्षेत्र झापा-२ हो। खरेल पाहुना उम्मेदवार बनेर शर्मासँग भिड्दैछन्। खरेल पूर्व संविधानसभा सदस्य, पूर्व कानुन मन्त्री र पूर्व महान्यायाधिवक्ता समेत हुन्। साबिक झापा-३ र हाल झापा-१ को आम निर्वाचनको तथ्याङ्क केलाउँदा नेकपा (एमाले)ले तीन पटक, नेकपा माओवादीले दुई पटक र कांग्रेसले एक पटक विजयी हासिल गरेको क्षेत्र हो। शर्मा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन, भने खरेल नेकपा (एमाले), राप्रपा र राप्रपा नेपालका साझा उम्मेदवार बनेका छन्। लालकिल्ला मानिएको झापा १ मा शर्मा तेस्रो पटक उम्मेदवार बनेका छन्। २०७० सालमा पहिलो पटक टिकट पाएका शर्मा एमालेका कोइरालासँग ६८९ मतान्तरले पराजित भएका थिए। शर्माले १६ हजार ५४० मत ल्याएकोमा कोइरालाले १७ हजार २२९ मत ल्याएका थिए। २०७४ सालको आम निर्वाचनमा शर्मा फेरि पराजित भए। २०४८, २०५१ र २०७० मा एमालेका क्रमशः राधाकृष्ण मैनाली, देवीप्रसाद ओझा र रविन कोइराला निर्वाचित भएका थिए। २०६४ र २०७४ मा माओवादीका क्रमशः धर्मप्रसाद घिमिरे र सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए। त्यस्तै कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ २०५६ सालमा निर्वाचित भएका थिए। शर्मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कार्कीसँग २ हजार ८६३ मतान्तरले पराजित भए। शर्माले ३३ हजार ३१० मत ल्याउँदा कार्कीले ३६ हजार १७३ मत ल्याएका थिए। उनको मुख्य प्रतिस्पर्धी खरेल एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासिलो पात्र हुन्। खरेलको नाम झापा २ बाट सिफारिस गरिएको थियो। यस पटक ह्याट्रिक पराजित हुनभन्दा पनि जित्ने दाउका साथ शर्मा अघि बढिरहेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन्। झापा १ बाट रिवन कोइरालाको नाम एकल सिफारिस गरिएको थियो। तर, अनन्त पार्टीले कोइरालालाई ब्याक गराई खरेललाई झापा १ को टिकट दियो। प्रतिनिधिसभा सदस्यमा टिकट नपाएपछि कोइराला पार्टीको निर्णयप्रति असन्तुष्ट भए। कोइराला असन्तुष्ट बनेपछि पार्टीभित्र खैलाबैला नै मच्चियो। झापा २ मा उनको ठाउँमा पार्टीले देवराज घिमिरेलाई टिकट दियो। कोइरालालाई पार्टीले प्रदेश सभा सदस्यमा टिकट दियो। पार्टीले तत्काल उनीसँग आन्तरिक छलफल गर्‍यो र प्रदेश सरकारमा राम्रै पद दिने सर्त बमोजिम कोइरालालाई ‘ब्याक’ गरायो। त्यसपछि मात्र कोइराला प्रदेशसभा सदस्यमा उम्मेदवारी दिए र आफ्नो क्षेत्रमा खरेललाई सघाउन तयार भयो। तर, शर्मालाई आफ्नै पार्टी भित्रको कोचेलो मिलाउनु पर्ने बाध्यता छ। कांग्रेसको १४औं महाधिवशेनमा कृष्णप्रसाद सिटौला र शर्मा निकट नेता तथा कार्यकर्ताहरू जिल्ला तहमा छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका थिए। यता कोइराला उठेको भए चुनावमा यस पटक पनि शर्मालाई सकस हुने कांग्रेसभित्र विश्लेषण थियो। तर, कोइराला ‘ब्याक’ गएपछि शर्मालाई केही सहज भएको कांग्रेस कार्यकर्ताहरू बताउँछन्। त्यसबेला शर्माको प्यानललाई सिटौलाको प्यानलले नराम्ररी पराजित गरेको थियो। त्यसको असर स्थानीय तहको निर्वाचनमा पनि देखियो। अन्तिम समयमा कांग्रेस नेता सिटौला निकट कार्यकर्ताको टिकट खोसेर आफ्नो पक्षको उम्मेदवारलाई टिकट दिलाउन उनी सफल भए। तर, शर्माले आफ्नो पक्षको उम्मेदवारलाई भने चुनाव जिताउन सकेनन्। शर्माको निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा एमाले पहिलो पार्टीको रूपमा फेरि उदय भयो। शर्मामाथि आफ्नै गृहपालिका मेचीनगरमा पनि कांग्रेसलाई जिताउन नसकेको आरोप लागियो। यसको असर पनि आसन्न निर्वाचनमा पर्न सक्ने स्वयम कांग्रेस नेताहरूमा वहस सुरु भएको छ। त्यही कारणले सिटौला निकट कार्यकर्ताले फेरि पनि उनलाई असहयोग गर्ने हो कि भन्ने त्रास पनि उत्तिकै छ। यस्तो असहज अवस्थाको बाबजुद पनि आफूले जीत हात पार्नेमा कुनै दुविधा नरहेको शर्माको दाबी छ। एमालेले आफ्नो गाउँ आफैं बनाउ’ नारा दिए पनि त्यसले सार्थकता नपाएको बताउँदै उनले त्यही नारालाई टेकेर यहाँका मतदातामा यस पटक आफ्नो गाउँ आफ्नै गाउँको मान्छेलाई जिम्मा दिऊ भन्ने भावना देखिएको बताए। उनले भने, ‘२०७० सालको निर्वाचन मेरो लागि परिचयको निर्वाचन जस्तै थियो, २०७४ को निर्वाचन मेरा लागि अनुभवको निर्वाचन थियो, २०७९ को निर्वाचन मेरो लागि परिणामको निर्वाचन बन्नेमा म विश्वस्त छ।’ भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा झापा क्षेत्र नम्बर १ को तथ्याङ्क हेर्दा कांग्रेसका वडाध्यक्षहरूलाई जम्मा २४ हजार ५९ मत आएको छ। जबकि राप्रपासँग ५ हजार ९२२ मतसहित एमाले गठबन्धनसँग ३७ हजार ५ मत छ। स्वतन्त्र उम्मेदवारले ४ हजार २७ मत पाए। यो मत कता जान्छ त्यो पनि महत्त्वपूर्ण पक्ष हो। त्यसकारण एमाले उम्मेदवार खरेल आफ्नो जितमा निश्चित रहेको प्रतिक्रिया दिन्छन्। जबकि यहाँ एमालेसँग ३१ हजार ८३ मत छ। यस्तै माओवादी केन्द्रसँग ३ हजार ९०५ तथा एकीकृत समाजवादीसँग १ हजार २५२ र लोसपासँग १३२ मत छ अर्थात् गठबन्धनसँग २८ हजार ९६ मत छ। ‘कार्यकर्ताहरू लागेका छन्, मतदाताहरू उत्साहित छन्, चुनावी माहौल आफ्नो पक्षमा छ,’ उनले भने, ‘उत्साहित कार्यकर्ता र जनताहरू नै निर्वाचनको मुख्य आधार हुन्, मुख्य आधार बलियो भएपछि निर्वाचन जित्नेमा कुनै दुविधा छैन।’ झापा-१ अन्तर्गत मेचीनगर नगरपालिकाका १५ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ वडा र भद्रपुर नगरपालिकाका ९ र १० गरी जम्मा २१ वटा वडा पर्छ। स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने यस क्षेत्रमा कांग्रेसभन्दा एमाले नै बलियो देखिन्छ। यद्यपि झापा १ मा शर्मा र खरेलको पक्षमा स्थानीय तहको परिणाम लागु हुन्छ वा हुँदैन भन्ने हेर्न चैँ मङ्सिर ४ को चुनावी नतिजा पर्खनु पर्ने हुन्छ। जम्मा एक लाख २० हजार ३७५ मतदाता रहेकोमध्ये मेचीनगर ६ मा सबैभन्दा धेरै मतदाता छन। मेचीनगर ६ मा ११ हजार ६९३ मतदाता छन। सबैभन्दा कम मतदाता वडा बुद्धशान्ति ७ छ। त्यहाँ १ हजार ६१८ मात्रै मतदाता छन्।

Like