हारको बदला लिने राजनको दाउमा बिरासत जोगाउने कसरतमा गगन,

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक १५,

मुलुकमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल दिन प्रतिदिन तातिँदै गएको छ । युवा पुस्ताको विशेष आकर्षण नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र भएकाले पनि काठमाडौं-४ को चर्चा देशभर बढी छ । संगठनात्मक अवस्था हेर्दा यो क्षेत्रमा थापा र नेकपा एमालेका उम्मेदवार डा राजन भट्टराईबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार थापा संगठनसँगै आफ्नो व्यक्तिगत छवीले काठमाडौं-४ लोकप्रिय छन्। गगन बाहेक गठबन्धनको अर्को उम्मेदवार भए यसै भन्न नसकिने बताउँने त्यहाँका स्थानीयले उनलाई धेरै माया गरेको देखिन्छ । यो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापा, एमाले नेता राजन भट्टराई, राप्रपाका डा.शंकरमोहन श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका रमेश ढुगेंल प्रतिस्पर्धामा छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका भानुकुमार खड्का, मौलिक जरोकिलो पार्टीका नुमनाथ प्याकुरेल, नेकपा मालेकी लीलामाया पौडेल, स्वतन्त्र उम्मेदवारहरु श्यामराज भेटवाल, थर्कबहादुर बस्नेत, अर्जुनकुमार प्रसाई, रोहित डंगोल, रोशन बर्मा, हेमबहादुर बम्जन, रवीन्द्रदेव ढकाल, महेश्वर केसी, शिवेन्द्र केसीलगायत प्रतिस्पर्धामा छन् । काठमाडौं-४ मा १३ स्वतन्त्रसहित ३० जना प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा छन् । सबै उम्मेदवार चुनावी प्रचारसहित घर दैलो अभियानमा रहँदा कसले कसको मत कति काट्ने भन्ने बेग्ला बेग्लै अड्कलबाजी भइरहेको छ । तर सत्ता गठबन्धनले थापाको मत तलमाथि नहुने विश्लेषण पनि हुँदै आएको छ । अर्का प्रतिस्पर्धी भट्टराई पनि काठमाडौं-४ का कडा दाबेदार हुन् । अघिल्लो निर्वाचनमा थापासँगै पराजित भट्टराई जसरी पनि जित निकाल्ने भन्ने रणनीतिसहित चुनावी प्रचारमा छन् । हारको बदला लिने भट्टराईको योजना कति सफल हुने हो त्यो थाहा पाउन मत परिणाम नै पर्खनुपर्छ। यो क्षेत्रमा एमाले र राप्रपाबीच तालमेल हुने चर्चा चले पनि त्यो हुन नसक्दा केही घाटा भट्टराईलाई पर्ने देखिन्छ । यसरी काठमाडौं-४ मा १३ स्वतन्त्रसहित ३० जना प्रतिनिधि सभा सदस्यको चुनावी मैदानमा छन् । सबै उम्मेदवार चुनावी प्रचारसहित घर दैलो अभियानमा रहँदा कसले कसको मत कति काट्ने भन्ने बेग्ला बेग्लै अड्कलबाजी भइरहेको छ । स्वतन्त्रतर्फबाट उठेका उम्मेदवारको मत धेरै आए बढी चर्चामा रहेका र सबैले जित्ने आँकलन गरिएका गगन थापालाई केही घाटा हुने तर्क एक थरीको छ । २०७४ सालको निर्वाचनमा थापा २१ हजार ५५८ मतसहित विजयी भएका थिए । भट्टराईले भने १८ हजार १४० मत ल्याएका थिए । दुईबीच ३ हजार ४१८ मतान्तर रहँदा तेस्रो धेरै मत ल्याउने विवेकशील साझा पार्टीकी सुवुना बस्नेतले ३ हजार ४० मत ल्याएकी थिइन् । नेकपा मालेका गोवद्र्धन खड्काले भने १५४ मत ल्याएका थिए । यसरी गत प्रतिनिधि सभा निर्वाचनमा ४४ हजार ५८९ मत खसेको थियो । विसं २०७० मा दोस्रो संविधानसभाको निर्वाचनदेखि लगातार निर्वाचित थापा फेरि आफ्नो विरासत जोगाउने अभियानमा छन् । डा.भट्टराई दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकबाट सभासद थिए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारको भूमिका निर्वाह गरेका डा. भट्टराई प्रवुद्ध व्यक्ति समूह (नेपाल-भारत)का सदस्य हुन् । भट्टराईले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत-चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा जवाहरलाल नेहरु विश्वविद्यालय, भारत, नयाँदिल्लीबाट २०६९ सालमा विद्यावारिधि गरेका छन् । युवा नेता थापाले लोकतान्त्रिक आन्दोलनमा खेलेको भूमिका, पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री हुँदा गरेका केही उदाहरणीय कामले लोकप्रिय मानिन्छन् । काठमाडौं-४ मा जित्ने दाबी गर्दै चुनावी अभियानमा होमिएका थापा र भट्टराई दुवै विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका नेता हुन् । थापा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका कांग्रेसका महामन्त्री हुन भने डा.भट्टराई परराष्ट्रमामिला विज्ञ मानिन्छन् । आगामी मंसिर ४ को निर्वाचन मत हाल्ने काठमाडौं-४ का मतदाता ६९ हजार ७५२ रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । आगामी मंसिर ४ को निर्वाचन मत हाल्ने काठमाडौं-४ का मतदाता ६९ हजार ७५२ रहेको निर्वाचन आयोगको अद्यावधिक तथ्यांकमा उल्लेख छ । २०७४ को निर्वाचनमा ६३ हजार २१५ मतदाता थिए । यो पटक ६ हजार ५३७ मतदाता थपिएका छन् । थपिएका नयाँ मतदाता अधिकांश २१ देखि ४५ वर्ष उमेर समूहका छन् । गत वैशाखको स्थानीय तह निर्वाचनमा यो निर्वाचन क्षेत्रका वडाअध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मानेर पनि को कति पल्लाभारी भन्ने विश्लेषण हुने गरेको छ । गत प्रतिनिधि सभा निर्वाचनको अंकगणितलाई हेर्दा थपिएका मतदाताको रोजाइ को हुने भन्नेले चुनावी परिणाममा प्रभाव पार्नेछ । यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर १, ७, ८ र ३० पर्छन् । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् । बढी जनघनत्वका नक्साल, मित्रपार्क, पशुपती, ज्ञानेश्वर यही निर्वाचन क्षेत्रमा पर्छन् । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतभार हेर्दा यो क्षेत्रको सबै भन्दा ठूलो दल एमाले हो । एमाले एक्लैको १६ हजार ५८७ मत छ । यस्तै, दोस्रोमा कांग्रेसको १५ हजार ७३३ छ । तेस्रोमा नेकपा एकीकृत समाजवादी छ। समाजवादीले ल्याएको मत २ हजार ४१४ छ । गत स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा बुढानीलकण्ठ नगरपालिकामा एमालेको पकड बलियो छ । बुढानीलकण्ठको मेयर र उपमेयरमा एमाले निर्वाचित भएको थियो । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ८, ९, १०, ११, १२, १३ मा एमालेकै वडाध्यक्ष विजयी भएका छन् । काठमाडौं महानगरको वडा नम्बर १ मा एमाले विजयी भएको थियो भने ७, ८ र ३० कांग्रेसले जितेको छ । चौथोमा रहेको राप्रपाले २ हजार ११८ मत छ । माओवादी केन्द्रले ६१७, जसपाले ३१७ र लोसपाले २३ मत पाएका थिए । छ । उम्मेदवारको आआफ्नै दाबी, मतदाताको सोचबुझसहित उम्मेदवारलाई गरिरहेको खबरदारीले यहाँको चुनावी महौल अहिले रोचक बन्दै गएको छ ।

Like