भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्यो, व्यवस्थापन हरायो

Share to:

रासंसा/रुपन्देही, कार्तिक १४,

मुलुकमा मुलुककै दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल करिब ४३ अर्ब रुपैयाँ लागतमा भैरहवामा बन्यो। यो विमानस्थलबाट औपचारिक उडान सुरु भएको पाँच महिना नाघ्यो। तर, बिनायोजना सञ्चालनमा ल्याउँदा जहाज कुर्दै बसिरहनुपरिरहेको छ। सरकारले वायुसेवा कम्पनीहरूलाई उडान भर्न भनिरहेको छ। तर, उनीहरू ‘व्यापार नदेखेर’ जान मानिरहेका छैनन्। यसमा पहिलो समस्या यात्रु अभाव देखिएको छ। यात्रु तान्न सरकारले पूर्वाधार तयार गर्न सकेको छैन। भैरहवाबाट दुई प्रकृतिका यात्रु एयरलाइन्सले पाउँछन्। पहिलो वैदेशिक रोजगारीमा जाने–आउने नेपाली र अर्का विदेशी पर्यटक। तर, यी दुवै थरीलाई न्यूनतम पूर्वाधारसमेत बनेको छैन। जबकि पहिलो अन्तर्राष्ट्रिय उडान भरेको जजिरा एयरलायन्सले दसैंअघि दैनिक एक उडान भर्ने निर्णय लियो। केही दिन उडान पनि भर्‍यो। अब भने साताको तीन दिन मात्रै उडान भर्दै छ। विमानस्थल भने दैनिक ४० उडान क्षमताको हो। यो विमानस्थल गत जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। त्यसयता जजिरा एयरबाहेक विमान कम्पनी थपिएका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनभन्दा बढी उडान भर्ने कम्पनीलाई अनिवार्य भैरहवा जान भनिरहेको छ। त्यही बाध्यात्मक निर्देशन पालना नगर्दा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका त्रिभुवन विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्। प्राधिकरणले नेपाल एयरलाइन्सको दिल्ली उडान रोक्दा आइतबार कैयौं यात्रु अलपत्र परे। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका महाप्रबन्धक गोविन्दप्रसाद दाहाल दुई–तीन कारण एयरलाइन्स कम्पनी आउन संकोच मानिरहेको बताउँछन्। उनका अनुसार भैरहवा आउने विमानले भारतीय आकाश प्रयोग गर्ने अनुमति पाएका छैनन्। ‘एयर रुटको विषयमा नेपाल सरकार र भारत सरकारबीच सहमति हुनुपर्छ’, दाहाल भन्छन्, ‘अहिले रुट अनुमति नभएका कारण भैरहवा आउन आधा घण्टा ढिलो भइरहेको छ।’ यसले लागत बढाइरहेको छ। विदेश जानुअघि मेडिकल परीक्षण, श्रम स्वीकृति, भिसा प्राप्ति, रोजगार परामर्शलगायत प्रक्रिया पूरा गर्नुपर्छ। भैरहवामा श्रम कार्यालय स्थापना भए पनि त्यसले पूर्णसेवा दिन सकिरहेको छैन। अन्य सेवा लिन काठमाडौं नै जानुपर्ने अवस्था छ। भैरहवाबाट पहिलो अन्तर्राष्ट्रिय उडान गरिरहेको जजिराले औसतमा १ सय ५० यात्रु पाइरहेको छ। यो विमान १७२ सिटे हो। भैरहवाबाट यात्रु बढाउन पहिलो चरणमा वैदैशिक रोजगारीमा जाने यात्रुका लागि सरकारी कार्यालयगत पूर्वाधार तयार गर्नुपर्छ। महाप्रवन्धक दाहालका अनुसार भैरहवामा श्रमस्वीकृति, स्वास्थ्य परीक्षण, वैदेशिक रोजगार परामर्श, भिसा प्रक्रियालगायत कार्यालय स्थापना हुनुपर्छ। पहिलो पटक बिदामा आई फेरि सोही कम्पनीमा जाने नेपाली श्रमिक मात्रै गौतमबुद्धबाट उडिरहेका छन्। श्रम स्वीकृतिलगायत काम नहुने भएकाले अन्य व्यक्ति यहाँबाट जान सक्दैनन्। उनीहरू काठमाडौैं जानुपर्ने बाध्यता छ। ‘काठमाडांै केन्द्रित संरचनालाई भैरहवामा पनि ल्याउनुपर्छ’, दाहाल भन्छन्, ‘यसले श्रमिक यात्रुको संख्या बढाउनेछ।’ जजिरा एयरलाइन्सकी भैरहवा अपरेसन प्रमुख संगीता रौनियार श्रमिकका लागि आवश्यक संरचना भैरहवामा हुनुपर्ने बताउँछिन्। ‘काठमाडौंमा सबै काम गर्न जानुपरेपछि यात्रुहरू प्लेन चढ्न मात्रै भैरहवा आउने देखिँदैन’, रौनियार भन्छिन्, ‘मेनपावर कम्पनीलाई भैरहवामा शाखा खोल्ने अनुमति दिनुपर्छ।’ तर, चासो नदेखाएपछि प्राधिकरणले गौतमबुद्धबाट पनि उडान भर्न सबैलाई समय तोकिदियो। प्राधिकरणले अन्तर्राष्ट्रिय उडान भर्ने घरेलु वायुसेवा कम्पनीलाई २०२२ को अक्टोबर ३० देखि र अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई डिसेम्बर १६ देखि उडान सार्न समय दिएको छ। आन्तरिकतर्फ नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स तथा कतार, एयर अरेबिया, फ्लाइ दुबईलगायतले दैनिक तीनभन्दा बढी काठमाडौं विमानस्थलबाट उडान भर्छन्। विमानस्थललाई चलायमान बनाउन पर्यटनमन्त्री जीवनराम श्रेष्ठले छुट दिन निर्देशन दिएका थिए। पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजना २०७९ अनुसार विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षालगायत शुल्कमा दिइएको शतप्रतिशत छुटलाई निरन्तरता दिइने भनिएको छ। विमानस्थल सेवा शुल्क नियमावली २०७८ ले पनि ग्राउन्ड ह्यान्डिलिङमा अर्को व्यवस्था नहुन्जेल ५० प्रतिशतसम्म छुट दिन भनेको छ। प्राधिकरणले पनि वायुसेवा कम्पनीलाई आकर्षित गर्न विमानस्थलमा छुट सुविधा दियो। यति गर्दा पनि अन्य वायुसेवाले गौतमबुद्धबाट व्यावसायिक उडान भरेका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय उडान भर्ने आन्तरिक तथा बाह्य वायुसेवा कम्पनीलाई प्रस्ताव गरेको थियो। गौतमबुद्धमा उडानका लागि प्राधिकरणले लिएको नीति नै गलत भएको जानकार बताउँछन्। प्राधिकरणले नेपाली वायुसेवालाई थोरै र विदेशीलाई बढी समय दिएकाले विभेद गरेको पूर्वपर्यटनसचिव केदारबहादुर अधिकारीको भनाइ छ। ‘दुवैको व्यावसायिक उडान नै हो। कडा नियम गर्नुभन्दा पनि वायुसेवा कम्पनीहरूसँग बसेर नै छलफल गर्नुपर्छ। उडान घटाउने भन्ने गर्नुहुँदैनथ्यो। बरु थप उडानको स्वीकृति दिन्न वा रुटको स्वीकृति दिन्न भन्न मिल्थ्यो’, अधिकारी भन्छन्। प्राधिकरणले गौतमबुद्धमा उडान नगर्ने नेपाली कम्पनीको उडान तालिका नै कटौती गरेको छ। जाडोयामको उडान तालिका सार्वजनिक गर्दै प्राधिकरणले नेपाल वायुसेवा निगमको ४ र हिमालयन एयरलाइन्सको २ उडान कटौती गरेको हो। कारण थियो– गौतमबुद्धमा उडान तालिका पेस नगर्नु। कम्तीमा आन्तरिक कम्पनीले उडान सुरु गरे अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश प्रवाह हुने प्राधिकरणका कर्मचारीको भनाइ छ। केही उडान भैरहवाबाट गर्न २ महिनाअघि नै जानकारी गराएको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाको भनाइ छ। अहिले नै गौतमबुद्धमा उडान भर्न व्यावहारिक नहुने र प्राविधिक रूपमा गाह्रो हुने हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ बताउँछन्। सरकारको पूर्णस्वामित्व भएको नेपाल एयरलाइन्सले पनि तत्तकाल गौतमबुद्धबाट उडान सुरु गर्न नसकिने बताएको छ। छुट दिँदा पनि नभएपछि प्राधिकरण ‘फोर्स मेजर’बाट भए पनि गौतमबुद्धबाट उडान सुरु गराउने नीतिमा देखिन्छ। व्यावसायिक रूपमा फाइदा नभए कुनै पनि वायुसेवा उडानमा नजाने र फोर्स मेजर गर्दा नकारात्मक सन्देश जाने पूर्वसचिव अधिकारी बताउँछन्। ‘प्राधिकरणले कति दिनसम्म उडान गर भनेर निर्देशन दिने हो। पहिला सबै पूर्वाधार बनाउनुपर्‍यो अनि उडान गर्न जा भन्ने हो’, उनी भन्छन्। गौतमबुद्ध विमानस्थलले पनि पुरानै हवाई मार्ग सिमरा नै प्रयोग गर्ने हुँदा पनि व्यावसायिक उडानमा समस्या देखिएको हो। हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन्। चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। बाहिरिने हवाई रुट भने सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग हो। विमानस्थल चलाउन प्राधिकरणले छुटलगायत सुविधा दिएर आकर्षण गर्न सक्ने तर बाध्य गर्न नमिल्ने पूर्वमन्त्री योगेश भट्टराईको भनाइ छ। जानकारका अनुसार वायुसेवा कम्पनीले बिजनेस भए मात्रै कुनै पनि गन्तव्यको उडान भर्छन्। बाध्य पारेर केही समय उडान भरे पनि त्यो निरन्तर नहुने भनाइ प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतमको भनाइ छ। ‘वायुसेवा कम्पनीहरू बिजनेस भए जाने हो। बाध्य गरे २–४ पटक जान्छन्। त्यसपछि जाँदैनन्। प्राधिकरणले पूर्वाधार बनाउने हो बाध्य बनाउने होइन। यात्रु नै पाएन भने कसरी उडान हुन्छ ?’ गौतम भन्छन्। प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता छ। थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने प्राधिकरणले बताउँदै आएको छ। नेपालले लामो समयदेखि भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोगका लागि भारत सरकारसँग छलफल गर्दै आएको छ। भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्ने बताइन्छ। भैरहवा रुटबाट जहाजले प्रवेश बिन्दु पाउने हो भने दिल्ली तथा पश्चिमबाट आउने जहाजलाई सिमराको तुलनामा सहज र छोटो दूरी पर्नेछ। काठमाडौं विमानस्थल आउन पनि भैरहवाको रुट छोटो पर्नेछ। यसका लागि प्रधानमन्त्रीस्तरबाट नै भारतसँग कूटनीतिक पहल भए सम्भव हुने पूर्वमन्त्री भट्टराई बताउँछन्। भारतले यी रुट दिने हो भने समय पनि बच्छ भने भारतका अन्य सहरहरूलाई नेपालसँग सीधा जोड्न मदत गर्ने पूर्वपर्यटन सचिव अधिकारीको भनाइ छ। भारतीय नागरिकलाई नेपालबाट विदेश जाने यात्रा अनुमति (एनओसी) हुने हो भने यात्रुको संख्यामा वृद्धि हुने दाहालको विश्वास छ। ‘भारतका उत्तरप्रदेश, विहार क्षेत्रका कैयौं नागरिक वैदेशिक रोजगारीमा जान्छन्। उनीहरू पनि भैरहवाबाट विदेश यात्रा गर्न सक्छन्’, उनी भन्छन्, ‘त्यसका लागि सरकारले प्रयास गर्नुपर्छ।’ भैरहवा भारतको उत्तर प्रदेशसहित क्षेत्रका बासिन्दाका लागि सजिलो स्थान हो। भारतबाट वैदेशिक रोजगारीमा जानेले पनि भैरहवा विमानस्थल प्रयोग गर्न सक्छन्। तर, त्यसका लागि सरकारी तवरबाट पहल गर्नुपर्ने देखिन्छ। भैरहवा विमानस्थलबाट वार्षिक २० लाख पर्यटक भिœयाउने लक्ष्य छ। तर, अन्तर्राष्ट्रिय उडानबाट श्रमिकबाहेक पर्यटक आउने–जाने गरेका छैनन्। कोरोना महामारीपछि बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकको संख्या घटेको छ। पर्यटकलाई सोझै लुम्बिनीको छेउमै रहेको विमानस्थलमा झार्ने योजनासहित भैरहवा विमानस्थलको स्तरोन्नति गरिएको हो। तर, यो विमानस्थलबाट पर्यटक ल्याउने योजना भने सरकारले बनाएको छैन। पर्यटन व्यवसायी बौद्धमार्गीसहित स्तरीय पर्यटक भिœयाउने योजना बनाउँदै तेस्रो मुलुकमा बुद्धजन्मस्थल र विमानस्थलको प्रचार गर्नुपर्ने बताउँछन्। भैरहवाबाट श्रमिकलाई ल्याउने लैजानेमा जोड नगरी बौद्धमार्गी रहेका मुलुकबाट उडान भर्ने गरी योजना बनाउनुपर्ने उनको सुझाव छ। त्यसका लागि सरकारले लुम्बिनीको प्रचारका लागि अभियान नै चलाउनुपर्ने उनी बताउँछन्। पर्यटक भित्र्याउने अभियानमा सबै लाग्नुपर्ने दाहाल बताउँछन्। ‘अहिले पर्यटक नै आइरहेका छैनन्। त्यसकारण पनि एयरलाइन्सहरू उडान भर्न डराइरहेका देखिन्छन्। तर, यो महाअभियानमा सबैको सक्रियता हुनुपर्छ, उनी भन्छन्। सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भीष्म न्यौपाने गौतम बुद्ध विमानस्थललाई श्रमिक ल्याउने र लैजानेमा मात्रै सीमित नगरी पर्यटक आउने वातावरण बनाउन लाग्नुपर्ने बताउँछन्। ‘भैरहवामा भिसा, श्रम स्वीकृति भएन भनिन्छ। के विमानस्थलका टार्गेट यात्रु वैदेशिक रोजगारीमा जाने मात्रै हुन त ?’ न्यौपाने प्रश्न गर्छन्,‘विदेशी पर्यटक भिœयाउने योजना बनाउनु पर्दैन ?’ गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रका यात्रु खुसी छन्। काठमाडौं हुँदै विदेश जानुपर्दा हुने खर्चमा भारी कटौती भएको छ। पाल्पाका रविन भट्टराई वैदेशिक रोजगारीका लागि गौतमबुद्ध विमानस्थल हुँदै साउदी जान पाउँदा आफू हर्षित भएको सुनाउँछन्। ‘काठमाडौं जाँदा पैसा पनि खर्च हुने समय पनि धेरै लाग्ने’, उनी भन्छन्, ‘अब त घरदैलो बाटै विदेश आउजाउ गर्न पाइयो।’ रुपन्देही तिलोत्तमाका खगेश्वर पाण्डे काठमाडौंभन्दा भाडादर पनि सस्तो रहेको सुनाउँछन्। लुम्बिनीमा पर्यटक भारत हुँदै स्थलमार्गबाट आउने गरेका छन्। काठमाडौं आउने विदेशी पनि आन्तरिक उडानमार्फत भैरहवा आइरहेका छन्। लुम्बिनीमा वार्षिक २ लाख तेस्रो मुलुकका पर्यटक आउने गरेका थिए। कोरोना महामारीपछि त्यो संख्या सयमा झरेको छ। वैदेशिक रोजगारीमा जाने यात्रु लक्षित गरी एयर अरेबिया, एयर दुबईले पनि उडान गर्ने योजना बनाइरहेका छन्। महाप्रवन्धक दाहाल दुई एयरलाइन्सले इच्छा राखेको सुनाउँछन्। विमानस्थलमा एयरलाइन्स कम्पनीहरूलाई छुट सुबिधा दिइएको छ। जसकारण काठमाडौंबाट भइरहेको अन्तर्राष्ट्रिय उडानको टिकटको तुलनामा भैरहवामा ८ देखि १० हजार सस्तो छ। भैरहवाबाट मधेस प्रदेश, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका यात्रुले सेवा लिइरहेका छन्। सन् १९५८ जुलाई ८ बाट आन्तरिक विमानस्थलका रूपमा सेवा दिँदै आएको गौतमबुद्ध विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बनाइएको हो। यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बनेको छ। त्रिभुवनमा विमान उडान–अवतरण हुन नसक्ने अवस्था आए छिमेकी मुलुकमा पुग्नुपर्ने बाध्यता हटेको छ। गौतमबुद्धमा वायुयानको उडान सुरक्षाका लागि आधुनिक उड्डयन सहायक उपकरण आइएलए ससमेत जडान गरिएको छ। एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको विमानस्थलको संरचनातर्फ पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ। यो विमास्थल सञ्चालनको सुरुमा दैनिक १० वटा र सन् २०३३ सम्म दैनिक ६० वटा अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्य सरकारले राखेको छ। यो विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो। २०७१ माघमा शिलान्यास भएकोमा ०७९ जेठ २ गते उडान सुरु गरेको हो। ३ हजार मिटर लामो धावनमार्ग रहेको विमानस्थलमा बोइङ ७७७ एयर बस ३३० र सोही क्षमताका वाइडबडी विमानहरू उडान अवतरण गर्न सकिनेछ। करिब ८ वर्षमा विमानस्थल निर्माण सम्पन्न भएको हो। यो विमानस्थल लुम्बिनीको प्रवेशद्वारमा भएकाले विश्वलाई यस क्षेत्रसँग जोड्ने सम्पर्क माध्यमसमेत बन्न पुगेको छ। नेपाल एयरलाइन्समार्फत दिल्ली जान आइतबार यात्रुहरू त्रिभुवन विमानस्थालनमा धमाधम बोर्डिङ पास लिइरहेका थिए। तर, त्यही बेला खबर आयो– ‘प्लेन नउड्ने भयो।’ एकाएक ‘चेक इन काउन्टर’ बन्द भयो। यात्रु बिचल्लीमा परे। कारण थियो– नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमबीच समन्वय अभाव। यी दुई सरकारी निकायबीचको लापरबाहीबाट २ सय ५४ जना यात्रु पीडित भए। सम्म) स्वीकृत उडान तालिकामा निगमको चार उडान कटौती गरिएको प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले बताए। निगमले काठमाडौंबाट साताको १४ उडान भर्न निवेदन दिएको थियो। सोहीअनुसार नै आइतबारको उडान तालिका हुने गरी टिकट काटिएको निगम प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले आइतबार १ बजेर ४५ मिनेटमा दिल्ली जाने भन्दै टिकट बिक्री गरेको थियो। तर, प्राधिकरणले निगमको उडान कटौती भएको भन्दै विमान रोकिएको हो। निगमको आइतबार दिल्ली उडानको तालिका नभएका कारण विमानस्थलले रोकेको जानकारी प्रवक्ता टेकनाथ सिटौलाले दिए। उनका अनुसार प्राधिकरणले पठाएको स्वीकृत तालिकाभन्दा बढी उडान भर्न मिल्दैन। जाडो यामको (अक्टोबर ३० देखि मार्च २७ प्राधिकरणले करिब दुई महिनाअघि दैनिक तीन अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सलाई उडान स्वीकृति लिँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान तालिका पेस गर्न भनेको थियो। निगमले काठमाडौं लक्षित तालिका मात्र पेस गरेका कारण उडान कटौती गरिएको निरौलाले बताए। ‘गौतमबुद्ध पनि नेपालले नै बनाएको विमानस्थल हो। यहाँका कम्पनीले उडान सुरु गरे भने त्यसले सकारात्मक सन्देश प्रवाह गर्छ भन्ने हो’, निरौलाले भने। प्राधिकरणले गौतमबुद्धमा उडान भर्न भने पनि तत्काल नसकिने खड्काले बताइन्।

Like