जनता गठबन्धनलाई नेतृत्व दिन चाहँदैनन् – विष्णु पौडेल
रासंसा/काठमाण्डौ, कार्तिक ९,
मुलुकमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहार्याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए। उपाध्यक्ष पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढंगले विजयी हुने बताए। पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पारे। संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उनको भनाइ थियो। रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका उपाध्यक्ष पौडेलले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढंगले अघि बढेको पार्टी भएकोसमेत जिकीर गरे। उनले छिटै पार्टी केन्द्रले चुनावी घोषणा पत्र सार्वजनिक गर्ने घोषणा समेत गरे। यस्तै उनले भौतिक पूर्वाधार र मानवीय संशोधनको विकास गरेर मुलुकको समग्र आम्दानीलाई अगाडि बढाउने प्रश्नमा आफूहरु केन्द्रित रहेको पनि बताए। पौडेलले संविधानले सुनिश्चित गरेका मौलिक हकहरुको निर्वाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। संविधानको रक्षा र यसको प्रभावकारी कार्यान्वयनको क्रममा आर्जित अनुभवको आधारमा आउने दिनमा संविधान संशोधन हुँदै जाने उल्लेख गर्दै उपाध्यक्ष पौडेलले संविधानको प्रभावकारी कार्यान्वयननै आफ्नो पार्टीको केन्द्रीय विषय भएको बताए।