रक्षा सहयोग बढाउन जापान र अष्ट्रेलिया सहमत
एजेन्सी,
जापानी प्रधानमन्त्री फुमियो किशिदा र उनका अष्ट्रेलियाली समकक्षी एन्थोनी अल्बानीजले एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बीच दुई राष्ट्रहरू बीच व्यावहारिक रक्षा सहयोग बढाउन सहमत भएका छन् । अष्ट्रेलियाको तीन दिने भ्रमणमा रहेका किशिदाले अल्बानीजसँगको संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्दै जापान र अष्ट्रेलियाले अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरू विरुद्ध कारवाही गर्न सहमत भएको क्योडो समाचार एजेन्सीले उल्लेख गरेको छ। सीको पुनः निर्वाचित भएपछि बेइजिङको कूटनीतिक नीति कसरी परिवर्तन हुनसक्छ भन्ने अध्ययनको विषय भएकाले दुई नेताले सो घोषणामा उक्त विषयलाई कूटनीतिकरूपमा सम्बोधन गरेका छन् । सन् २००७ मा, आबे र तत्कालीन अष्ट्रेलियाका प्रधानमन्त्री जोन होवार्डले ‘साझा रणनीतिक चासो र सुरक्षा’ लाई मान्यता दिने कागजातमा हस्ताक्षर गरेका थिए । चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित हुँदै गर्दा चीनले ताइवानविरुद्ध आफ्नो सैन्य उत्तेजकतालाई तीव्र पार्ने चिन्ताका बीच उनीहरूबीच सो सम्झौता बाहिर आएको हो। पछिल्लो घोषणामा, किशिदा र अल्बानीजले पूर्व जापानी प्रधानमन्त्री शिन्जो आबेले वकालत गरेको ‘स्वतन्त्र र खुला इन्डो–प्यासिफिक’ को महत्त्वबारे पुनः पुष्टि गर्ने खालको आशय अभिव्यक्त गरेका छन् । क्योडो समाचार एजेन्सीका अनुसार जापानले अष्ट्रेलियाबाट प्राकृतिक ग्यास, फलाम र अन्य अत्यावश्यक स्रोतहरू आयात गर्ने गर्छ। यसअघि सिंगापुर पोस्टले जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र सिङ्गापुरले आफ्नो सैन्य बजेट र खर्च बढाउँदै आएको उल्लेख गरेको थियो । अष्ट्रेलियाको यात्राअघि किशिदाले शुक्रबार टोकियोमा पत्रकारहरू माझ जापानका लागि अष्ट्रेलिया महत्त्वपूर्ण राष्ट्र भएको र उसँग आफुहरु स्वतन्त्रता र लोकतन्त्रका साथै रणनीतिक हितहरू जस्ता विश्वव्यापी मूल्य मान्यतामा साझा विचार आदान प्रदान गर्ने तयारी गरिरहेको बताएका थिए । किशिदा अक्टोबर २०२१ मा प्रधानमन्त्री बनेका थिए । अल्बानीजले पदभार ग्रहण गरेलगत्तै आयोजित क्वाड शिखर सम्मेलनका लागि गत मे महिनामा जापानको भ्रमण गरेका थिए । सेप्टेम्बरको अन्त्यमा उनी आबेको राजकीय अन्त्येष्टिमा भाग लिन टोकियोको यात्रामा निस्किएका थिए । सेन्काकु टापुहरू (चिनियाँ भाषामा डियाओउ टापुहरू) मा चीनले गरेको दाबीप्रति जापानका मानिसहरूले पहिले नै असन्तुष्टि व्यक्त गरिसकेका छन्। यसैबीच किशिदाको सन् २०१८ को अष्ट्रेलिया भ्रमणपछि जापानी प्रधानमन्त्रीको रुपमा यो पहिलो भ्रमण हो। उनले जनवरीमा अष्ट्रेलिया भ्रमण गर्ने योजना बनाएका थिए तर कोभिड–१९ महामारीपछि उनको भ्रमण रद्द गरिएको थियो ।
