यसपालिको बडादशैं हिलाम्मेसाथ मनाइयो, वेमौसमी वर्षाले जाला विद्युत, सडक र कृषिमा क्षति
रासंसा/काठमाण्डौ, आश्विन २२,
मुलुकमा पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादशैं निरसिलो बनेको छ। लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ। लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन्। केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ती बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्क विच्छेद भएको धौलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जनाए। वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दशैं मनाउन आफन्तकोमा जानेआउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य छन्। बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका-१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युतको मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ। जिल्लाका लेकाली क्षेत्रमा पहिलोपटक मध्य असोजमै हिमपात भएको छ। अविरल वर्षाले बढेको चिसोसँगै गुर्जा गाउँको नजिकका डाँडामा शुक्रबार दिउँसोदेखि हिमपात भएको हो। असोजमै हिमपात भएको यो पहिलो पटक भएको स्थानीयवासीको भनाइ छ। गाउँ आसपासका डाँडामा हिमपातले सेताम्मे भएको वडाध्यक्ष छन्त्यालले बताए। वर्षा रोकिएपछि मात्रै बाढीले पुर्याएको क्षतिको यकिन हुने जनाइएको छ। म्याग्दीमा सडक सञ्जालले नजोडिएको एक मात्रै वडा गुर्जा भौगोलिक रूपमा विकट छ। चार दिनदेखिको वर्षाले जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन्। ठाउँठाउँमा खसेको पहिराका कारण जिल्ला सदरमुकाम बेनीदेखि बेनी-दरबाङ र बेनी-जोमसोम सडक अवरुद्ध भएका छन्। ‘गाउँ आसपासमा असोजमै हिमपात भएको हामीले थाहा पाउँदासम्मकै पहिलो हो, वर्षा र हिमपातका कारण अत्यधिक चिसो बढेर जनजीवनमा असर पारेको बनाएको छ’, उनले भने। गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दशैंमा टीका लगाउन र आशीर्वाद लिन जानेआउनेको विजोग भएको छ। छाता र प्लास्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ। वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं ठाउँमा पहिरो गएको छ भने म्याग्दीका बेनी-भकुण्डे, बेनी-पाखापानी, बेनी–दरबाङ, बेनी-पुलाचौर लगायत एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ। ग्रामीण सडक मात्र होइन राष्ट्रिय गौरवको बेनी-जोमसोम सडक, बेनी-दरबाङ सडक लगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन्। चार दिनदेखिको अविरल वर्षाले टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जानेआउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लास्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जानेआउने गरेका छन्। त्यसैगरी असारमा नदेखिएका झरना र छहरा असोजको अन्तिम साता देखिएका छन्। पाक्ने बेलाको धान खेत पानीले भरिएको छ भने घरभित्र समेत पानी पसेर स्थानीयवासी बस्नै नसक्ने अवस्थामा पुगेका छन्। मध्य असारको लक्षण असोजको अन्तिम सातामा देखिंदा स्थानीयवासीले अचम्म मानेका छन्। असारमा पानी नपरेर कमिला हिंडेका खोला र खहरे अहिले वारपार गर्नै नसकिने गरी उर्लिएका छन्। असारमा नभएको बाढी र पहिराको त्रास असोजमा खेप्न बाध्य भएको बेनी नगरपालिका-२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताए। ‘असारमा मूल नफुटेर रोपाइँ गर्न पानीको हाहाकार भयो। अहिले पन्छाउनै नसकिने गरी पानी परेको छ, मूल फुटेका छन्’,उनले भने। दशैंको बेला भए पनि म्याग्दीका ग्रामीण सडक सुनसान छन्। सडकमा गाडी चल्ने अवस्था छैन। खोला बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै हिंड्न बाध्य छन्। सदरमुकाम बेनी बजारदेखि ग्रामीण भेगमा सञ्चालित सडकको अवस्था अत्यन्त दयनीय बनेको छ। सडकमा भेल बगेको छ भने सडक लच्किएर हिंड्न समेत समस्या भएको स्थानीय रामबहादुर विकले बताए। बेनी-अर्थुङ्गे-पुलाचौर, बेनी–पाखापानी, बेनी-बगरफाँट-भकिम्ली, बेनी-हाँडेभीर-बरङ्जा, बेनी-भकुण्डे लगायत सडक दयनीय अवस्थामा छन्। प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ। यहाँका कतिपय सडकमा सामान्य पानी पर्दा पनि मोटरसाइकलसमेत गुड्न नसक्ने स्थानीयवासी राजकुमार सुवेदीले बताए। म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण भएको छ। बेमौसमी वर्षा, बाढी पहिरो र मर्मतसम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने सडकमै पोखरी बन्ने गरेको छ। बेनी-भकुण्डे सडक झन् दयनीय रहेको सो सडकबाट दैनिक आवतजावत गर्ने खबराका शोभित सापकोटाले बताए। पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड नमिलेको हिलाम्मे सडकमा मोटरसाइकल समेत चलाउन नसकिने उनको भनाइ थियो। म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौं हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ। असोज १७ गते रातिदेखि परिरहेको पानी र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन्। जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन्। पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्याएको हो। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ। जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान अविरल वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ।
