महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि खतरा
रासंसा/काठमाण्डौ, आश्विन १८,
मुलुकमा चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्गने गर्दछन । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् । यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् । अर्को थरी औषधि सेवनपछि हुने बेफाइदाबारे ज्ञान नभएर सेवन गर्ने गरेको डा. अधिकारी बताउँछन् । पछिल्लो समय सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा बढी मात्रामा महिनावारी सार्ने औषधि खाइरहेका छन् । महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ । यस्तोबेला औषधिका रुपमा परिवार नियोजनको साधन पिल्स लगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्छ । तात्काल महिनावारी रोकिएपनि पछि रक्तस्राव बढी हुन सक्छ । हरेक महिना २८ देखि ३९ दिनको बीचमा हुने प्राकृतिक चक्र महिनावारी सुरु हुन्छ । यसलाई चाहेर पनि रोक्न सकिदैन । तर पूजा, चाडपर्वको बेला यो टाउको दुखाइको विषय बन्छ । फलस्वरुप यसलाई रोक्न महिनावारी सार्न प्रयोग गर्ने औषधि हर्मोन चक्की सेवन गर्छन् । जसको कारण हर्मोन परिवर्तनले तत्कालका लागि महिनावारी सर्छ । खास गरी मुटुका बिरामी, बढी वजन भएका, विगतमा स्ट्रोक भएकालाई हर्मोनको औषधि सेवन हुँदैन । जथाभाबी औषधि सेवन गर्दा यदि गर्भ छ भने पेटमा रहेको बच्चालाई असर गर्छ । औषधि सेवनका समयमा गर्भ रहेमा बच्चालाई असर गर्ने हुने डरले गर्भपतन गराउने योजना बनाउँदा यसले झनै खतरा निम्त्याउँछ । पछि यसको असर देखिन्छ । जसमा वाकवाक लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने, उच्च रक्तचाप, मोटोपन, रगत बाक्लो, तौल बढ्ने, स्तन दुख्ने, महिनावारी हुँदा पेट दुख्ने, डाक्टरको सल्लाहबिना धेरै पटक महिनावारी रोक्ने औषधि सेवन गरेमा भविष्यमा पाठेघरको क्यान्सरको जोखिमसमेत हुन्छ । महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी सार्नका लागि खाने औषधि कति मात्रामा खाने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, यो औषधिको असर के हुन्छ, औषधि सेवन गर्न हुन्छ कि हुँदैन ? यसबारे गम्भीर भएर ख्याल गर्नुपर्ने डा. अधिकारी बताउँछन् । महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ । खास गरी महिनावारी सार्ने औषधि ठुला पर्व दसैँ, तिहारमा बढी खपत हुन्छ । यस्तै, लामो समयसम्म गरिने पूजाहरूमा पनि धेरैले यो औषधिको सेवन गर्छन् । प्राकृतिक चक्रलाई जबरजस्ती रोक्न खोज्दा भविष्यमा स्वास्थ्यमा गम्भीर समस्या देखिन सक्ने भएकाले चक्र सर्ने औषधि सेवन गर्नु हुँदैन । अझ चिकित्सकको सल्लाहबिना जथाभाबी औषधि सेवन गर्दा झन् हानिकारक हुन सक्छ । महिलाहरू महिनावारी गडबड भएपछि अस्पताल पुग्ने गर्छन् । औषधि सेवन गर्न छाडेपछि महिनावारी भएन भन्ने गुनासो लिएर खास गरी किशोरीहरू आत्तिएर अस्पताल पुग्ने चिकित्सकको भनाइ छ । त्यसो त महिनावारी पछि सर्ने औषधि नेपालमा मात्र नभई भारत, चीन, श्रीलङ्कालगायतका देशमा औषधि सेवन गरेर महिनावारी पर सार्ने गरेको पाइन्छ । मर्यादित महिनावारीबारे समुदायमा जानकारी नहुँदा आफैलाई हानी गर्ने औषधि सेवन गरेको पाइन्छ । महिनावारी रोक्ने औषधिले तुरुन्तै समस्या नदेखिए पनि यसले दीर्घकालमा स्वास्थ्यमा गम्भीर समस्या ल्याउने डा.अधिकारी बताउँछन् ।
