जसपा सत्ता गठबन्धनसँग वारपार गर्दै, लोसपा–एमाले गठबन्धनको ‘च्याप्टर क्लोज’

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १७,

मुलुकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन नहुने भएको छ । सोमबार दुवै पार्टीका अध्यक्षबीच भएको छलफल पछि दुई पार्टी चुनावी गठबन्धन नगर्ने निर्णयमा पुगेका हुन् । लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्नका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय वार्ता समिति गठन गरेको थियो । सो वार्ता समितिले एमालेका नेताहरूसँग तीन दिनसम्म छलफल गरे पनि एमालेले तर चुनावी गठबन्धनका लागि खासै चासो नदिएको लोसपा नेताहरूको भनाइ छ । ‘सकभर लोसपासँग गठबन्धन नहोस् भन्ने एमाले नेताहरूको चाहना थियो । तीन दिनमा गम्भीर रूपमा एमालेसँग वार्ता नै भएन,’ लोसपाबाट वार्तामा सहभागी भएका एक नेताले रातोपाटीसँग भने, ‘मधेसमा एमाले प्रवेशले गर्दा नेताहरू उत्साहित हुनुभएको छ, एक्लै पनि चुनाव जित्न सकिन्छ भन्ने भ्रम उहाँहरूमा देखिएको थियो ।’ आज एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा चुनावी तालमेल नगर्ने निष्कर्षमा दुई नेता पुगेको अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले बताए । उनले भने, ‘एमालेसँग चुनावी तालमेल हुँदैन, सम्भव भयो भने कुनै शीर्ष नेताहरूको बीचमा सहकार्य हुनसक्छ तर चुनावी तालमेल हुँदैन ।’ यता, पाँच दलीय गठबन्धन छाड्ने सङ्केत गरेको जसपा आज फाइनल कुराकानीमा जुटेको छ । मधेस प्रदेशमा सिट सङ्ख्या नबढाए जसपा गठबन्धन छाडेर निस्कन सक्छ । जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवले भने, ‘पाँच दलीय गठबन्धनमा जसपालाई सम्मानजनक सिट नदिए त्यहाँ बस्नु उचित हुँदैन । मधेस प्रदेशमा कम्तीमा हामीलाई आधा चाहिन्छ । त्यसमा एक दुई सिट तलमाथि हुन सकिन्छ तर त्यसमा कुरा नमिले गठबन्धन छाड्न सकिन्छ । आज त्यसै विषयमा गठबन्धनमा छलफल भइरहेको छ ।’ मुख्य मुख्य क्षेत्र छाड्न नसक्ने, सिट पनि थोरै दिने देखिएको कारण लोसपा एमालेसँग गठबन्धन नगर्ने निष्कर्षमा पुगेको बताइन्छ । मधेसमा जति नेताहरू प्रवेश गरेका छन् ती सबैलाई व्यवस्थापन गर्न पनि एमालेले कुनै दलसँग गठबन्धन गर्न न चाहेको देखिन्छ । गठबन्धन गर्‍यो भने सिट बाँडफाँट हुन्छ र पार्टीमा टिकटकै लोभमा आएका धेरैजसो नेताहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने देखिए पछि एमाले पनि पछि हटेको देखिन्छ । पाँच दलीय गठबन्धन छाडेपछि विचार मिल्ने जुनसुकै दलसँग गठबन्धन हुनसक्ने बताउँदै उनले सकभर पाँच दलीय गठबन्धन छाड्न नपरोस् भन्ने प्रयासमा जसपा रहेको पनि बताए ।

Like