जसपा असन्तुष्ट, कम्तीमा १५ सिट नपाए एक्लै चुनाव लड्छौं: यादव
रासंसा/काठमाण्डौ,आश्विन १५,
मुलुकमा जनता समाजवादी पार्टी (जसपा) सिट बाँडफाँटको विषयलाई लिएर सत्तारूढ गठबन्धनसँग असन्तुष्ट बनेको छ। पाँच दलीय गठबन्धनको एक घटक जसपा सिट बाँडफाँटमा अन्यायमा गर्न लागिएको भन्दै असन्तुष्ट बनेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक रूपमै सिट बाँडफाँटमा अहिले भइरहेको छलफलप्रति असन्तुष्टि पोखेका छन्। जसपाका अन्य नेताहरूले पनि अध्यक्ष यादवकै शैलीमा पार्टीले मधेसमा एक्लै चुनाव लड्ने चेतावनी दिइरहेका छन्। जसपा स्रोतका अनुसार प्रतिनिधिसभामा मधेस प्रदेशका ३२ सिटमध्ये कम्तीमा १५ स्थान आफूहरूका लागि छुट्ट्याउनुपर्ने जसपाका नेताहरूको अडान छ। गठबन्धनमा रहेका अन्य दलहरू भने मधेस प्रदेशमा जसपालाई १५ सिट दिन तयार छैनन्। स्रोतको भनाइ छ, ‘बढीमा १२ सिट जसपालाई दिने गठबन्धनको तयारी छ।’ यसमा जसपाले कडा असन्तुष्टि पोखेको छ। धनुषामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले जसपा गठबन्धनबिना चुनाव लड्न सक्षम रहेको धारणा राखेका थिए। ‘सिट बाँडफाँटमा मधेसी, जनजातिको सम्माजनक सम्बोधन भएन भने हामी एक्लै चुनाव लड्न सक्षम छौं,’ उनले भनेका थिए। जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि मधेस हो। पछिल्लो समय लोसपाका केन्द्रीय नेताहरू एकएक गरी एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गरिरहेको नेताहरूको दाबी छ। ‘मधेस प्रदेशमा हाम्रो बटमलाइन भनेको १८ सिट हो। त्यसमा बढीमा २ देखि ३ सिट छाड्न सक्छौं। त्यसबाहेक हामी एक सिट पनि तल झर्दैनौं,’ जसपा कार्यकारिणी समितिका सदस्य तथा कृषिमन्त्री मृगेन्द्रसिंह यादवले भने, ‘सम्मानजनक सिट पाएनौं भने मधेसमा हामी एक्लै चुनाव लड्न तयार छौं।’ मधेस प्रदेशमा जसपाले एक्लै चुनाव लडे पनि कम्तीमा १५ सिट ल्याउने उनले बताए। ‘हामी एक्लै चुनाव लडे पनि १५ सिट नघाउँछौं भने किन गठबन्धन चाहियो ?’ उनले भने। यसैगरी जसपाका कार्यकारिणी समितिका अर्का सदस्य विजय यादवले पनि गठबन्धनले सम्मानजनक सिट नदिए पार्टीले एक्लै चुनाव लड्ने बताए। ‘सकेसम्म यो गठबन्धन नभत्कियोस् भन्ने हाम्रो चाहना हो। तर हामीलाई सम्मानजनक सिट दिइएन भने हामी एक्लै चुनाव लड्छौं । त्यसका लागि हामी समक्ष छौं,’ उनले भने। जसपा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि मधेस हो। पछिल्लो समय लोसपाका केन्द्रीय नेताहरू एकएक गरी एमालेमा प्रवेश गरिरहेका छन्। केन्द्रीय नेताहरू एमालेमा प्रवेश गरे पनि तल्लो तहका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गरिरहेको नेताहरूको दाबी छ। तल्लो तहमा लोसपाका कार्यकर्ता धमाधम जसपामा प्रवेश गरिरहेकाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जसपाको अवस्था पहिलेको भन्दा झन् बलियो हुने नेताहरूको विश्लेषण छ। सिट बाँडफाँटको विषयमा जसपाका नेताहरूले सार्वजनिक रूपमा असन्तुष्टि पोखेपछि लोसपाका केही नेता उत्साहित भएका छन्। जसपा गठबन्धनबाट अलग्गिएपछि लोसपा र जसपाबीच गठबन्धन हुने उनीहरूको विश्वास छ। जसपा र लोसपाका बीचमा तालमेल भए त्यो प्राकृतिक हुने र यसबाट दुवै दललाई फाइदा हुने लोसपाका कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाले बताए। ‘एमालेसँग सहकार्य ग¥यो भने त्यो सहकार्य हामीले हाम्रो मुद्दालाई तिलाञ्जली दिएसरह हुन्छ। त्यसैले जसपासँग सहकार्य गर्नु प्राकृतिक हुनेछ,’ उनले भने। तर जसपाका नेताहरू लोसपासँग चुनावी तालमेल गर्ने विषयमा त्यति चासो राख्दैनन्। जसपाका एक नेताले भने, ‘हामीलाई कम्तीमा १५ सिट मधेस प्रदेशमै चाहिएको छ। त्योभन्दा तल झर्ने अवस्था नै छैन तर गठबन्धनका नेताहरूले मधेसमा हाम्रो शक्ति नजरअन्दाज गरिरहेका छन्।’ ‘अझै पनि हाम्रो कुुराकानी गठबन्धनसँग भइरहेको छ। एक्लै चुनाव लड्ने अवस्था आयो भने भोलि लोसपालगायत सबै दलसँग कुराकानी हुन सक्छ,’ जसपाका कार्यकारिणी समितिका सदस्य विजय यादवले भने, ‘तर अहिले नै लोसपासँग चुनावी तालमेल गर्ने विषयमा कुराकानी अघि बढेको छैन।’