संघीय मन्त्री क्वार्टरको प्रगति ८१ प्रतिशत, सजावटको काम बाँकी

Share to:

रासंसा/ललितपुर, श्रावण १५,

मुलुकमा ललितपुरको सैंबु भैंसेपाटीस्थित निर्माणाधीन राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधिसभा उपसभामुख तथा संघीय मन्त्री निवास परियोजनाको भौतिक प्रगति ८१ प्रतिशत भएको छ। संघीय सरकारले ललितपुरको पुल्चोकस्थित हाल रहेको मन्त्री आवास साँघुरो र सानो भएको भन्दै भैंसेपाटीमा उच्चपदस्थ अधिकारीरूको लागि आवासीय भवन निर्माण गर्न लागिएको हो। विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक दिलीपशेखर श्रेष्ठले मन्त्री क्वार्टरको ८१ प्रतिशत भौतिक प्रगति भएको बताए। ‘राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख तथा संघीय मन्त्री निवासको निर्माणको काम लगभग सकिएको छ,’ उनले भने– ‘निवासको सजावट, पर्खाल लगाउने र सडक बनाउने लगायतका काम बाँकी छन्। बाँकी रहेका काम पनि आगामी मंसिर महिनाभित्रै सक्ने गरी काम भइरहेको छ।’ सहरी तथा भवन विभाग मातहतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख तथा संघीय मन्त्री निवासको निर्माणको लागि २०७६ कार्तिक २७ गते ठेक्का सम्झौता गरेको थियो। दुई वर्षभित्रै निर्माण सम्पन्न हुने गरी यो आयोजना तयार गरिएको थियो तर ठेकेदार कम्पनीले तोकिएको समयभित्रै भवन निर्माण गर्न असफल देखिएको छ। राष्ट्रियसभाको अध्यक्षको निवासका लागि ३७६.९० वर्गमिटर क्षेत्रफल ओगेट्नेछ। संघीय मन्त्री आवास तथा राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभा उपसभामुखको भवन निर्माणको ठेक्का सिक्रो हनुमान जेभीले १ अर्ब ३ करोड रूपैयाँ लागतमा ठेक्का पाएको हो। सो निर्माण कम्पनीले दुई वर्षभित्रै अर्थात् २०७८ कात्तिक २६ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ तर कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्ती लगायतका कारणले एक वर्ष ढिलो भइसकेको छ। अहिलेसम्म यो आयोजनाको लागि एक वर्ष म्याद थप गएिको छ। यो आयोजनाको म्याद आगामी पुससम्म छ। मन्त्रिपरिषद्को २०७५ मंसिर १७ गते बसेको बैठकले पुलचोकस्थित मन्त्री आवास साँघुरो भएकाले ललितपुर महानगरपालिका सैंबु भैंसेपाटीस्थित आवास क्षेत्रका लागि छुट्याइएको १ सय ४९ रोपनी चार आना जग्गामा निर्माण गर्ने निर्णय गरेको थियो। ११ मिटर सडक छाड्दा भवनको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएकाले सो सम्भव छैन।’ साढे दुई तलाको मन्त्री आवासमा पूजाकोठादेखि लबीसम्मका सुविधासम्पन्न पूर्वाधार भएको आवास निर्माण गरिँदै छ। मन्त्री क्वार्टरको भुइँतलामा लबी, बैठक कक्ष, निजी कक्ष, गार्ड कक्ष, कर्मचारीका लागि आवश्यक कक्ष समेत निर्माण गरिँदैै छ। मन्त्रीका अलावा उनका परिवारका सदस्यहरूका लागि पनि छुट्टाछुट्टै कक्षको व्यवस्थापन गरिनेछ। ललितपुर महानगरपालिकाको सैंबु भैंसेपाटीमा ९६ रोपनी १० आना क्षेत्रफल जग्गामा २४ वटा संघीय मन्त्री निवाससहित २७ वटा अत्याधुनिक भवन निर्माण कार्य जारी छ। मन्त्री क्वार्टरको भवन साढे दुई तलाको हुनेछ। भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ।
निर्देशक श्रेष्ठले ललितपुर जिल्लाका स्थानीयले भवनको वरपर पर्खाल लगाउन अवरोध गर्दै आइरहेको बताए। ‘भवन वरपर २७० मिटर लम्बाइको पर्खाल लगाउनुपर्ने छ। हामीले आठ मिटरको बाटो छाडेर पर्खाल लगाउन खोजेका छौं तर स्थानीयले ११ मिटर चौडाको बाटो बनाउनुपर्ने माग गर्दै आइरहेका छन्,’ उनले भने– ‘सरकारी जग्गा मात्रै ११ मिटर छाड्नुपर्ने माग गर्दै आइरहेका छन्। त्यस्तै दोस्रो चरणमा हरियाली सुरक्षा र सामुदायिक हल निर्माण गरिनेछ। संघीय मन्त्री क्वार्टरको २४ वटा भवनले २२१.३८ वर्गमिटर क्षेत्रफल ओगट्नेछ। मन्त्री क्वार्टरको संरचनाको डिजाइन र सजावटको लागि टेण्डर प्रक्रिया अघि बढिसकेको छ। अहिले टेक्निकल प्रस्तावकहरूको छनोटको कार्य भइरहेको छ। ‘टेक्निकल प्रस्तावको मूल्यांकनको काम भइरहेको छ,’ उनले भने– ‘टेक्निकल प्रस्तावमा छनोट भएका कम्पनीमध्येबाट आर्थिक प्रस्ताव छनोट गरिनेछ।’ आवासको लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी क्षेत्रफल २७ वटा भवनले ओगट्नेछ। ३८ रोपनी ८ आना हरियाली पर्यावरणका लागि छुट्टाइएको छ। २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ। ११ रोपनी क्षेत्रफलमा जिमखाना सहितको हेल्थ क्लव निर्माण गरिनेछ। समुदाय हलका लागि सात आना जग्गा छुट्याइएको छ। व्यवस्थापन कार्यालयका लागि तीन आना छुट्याइएको छ। साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ। बाँकी रहेका जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङसमेत निर्माण गरिनेछ। आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था गरिनेछ। सुरक्षाका लागि थप तीन भवन निर्माण गरिनेछ। आवास दुई चरणमा निर्माण गरिनेछ। पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिनेछ । ललितपुरको भैंसेपाटी सैंबुमै २७ रोपनी १२ आना जग्गामा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सम्पर्क कार्यालयसमेत निर्माण भइरहेको छ । यी सातवटा ब्लकमा छुट्याएर निर्माण गरिँदै छ। प्रत्येक ब्लकमा दुईवटा एकाइ रहने छन्। एउटा ब्लक प्रदेश प्रमुख र अर्काे ब्लक मुख्यमन्त्रीका लागि निर्माण गरिनेछ। यी सातैवटा प्रदेशका लागि निर्माण गर्न लागिएको हो। यी भवन पनि साढे दुई तलाकै निर्माण गरिनेछन्। प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालय भवन निर्माण गर्ने ठेक्का समानान्तर जेभीले ७२ करोड ४८ लाख रूपैयाँमा पाएको छ। यो भवनको प्रगति पनि ८१ प्रतिशत भइसकेको छ। यो भवनको अहिले सजावट र डेकोरेसन गर्ने कम्पनी छनोट भइसकेको छ।

Like