जानकी मन्दिरबाट हरायो अर्बौंको गरगहना सौन्दर्यीकरणको बहनामा प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोप

Share to:

रासंसा/धनुषा, आषाढ १९,

मुलुकमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले मन्दिरबाट अर्बौं रुपैयाँ बराबरको गहना हराएको खुलासा गरेका छन् । जानकी मन्दिरको सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले भ्रष्टाचार गरेको आरोपसमेत उनले लगाए । जानकी मन्दिरको गरगहना हराउने डरले तत्कालीन राजा महेन्द्र शाहको आदेशमा २०२० सालमा जानकी मन्दिरका तत्कालीन महन्त रामशरण दास वैष्णवसँग लगत हिसाब गरी मन्दिरका हिरा, मोती, बहुमूल्य पत्थर, सुन र चाँदी काठमाडाैं लगिएको थियो । तर वर्तमान महन्त रामतपेश्वर दासले मन्दिरको गरगहना जनकपुरधामवासीलाई दर्शन गराउन भन्दै माग गरेपछि गुठी संस्थानले जानकी मन्दिरका गरगहनाको अत्तोपत्तो नरहेको जवाफ दिएको बताइन्छ । महन्त रामतपेश्वरले अर्बौं मूल्य बराबरको जानकी महारानीको गरगहनाको खोजबिन गर्दा गुठी संस्थानले अरू मन्दिरको गरगहना सुरक्षित रहे पनि जानकी मन्दिरको गरगहना नभेटिएको जवाफ दिएको बताए । २०२० साउन १२ मा मन्दिरलाई कागज नै बनाएर तत्कालीन महन्त रामशरण दासबाट लगिएको गरगहनामा सुनका ५६ किसिमका २ किलो २४० ग्राम गरगहना छन् । ती गहनाहरूमा हिरा, मोती र बहुमूल्य पत्थर जडिएको उनको भनाइ छ । त्यस्तै २ किलो ८५० ग्राम चाँदीका ७७ किसिमका गरगहना थियो । चाँदीका गरगहनामा पनि हिरा, मोती र बहुमूल्य पत्थर जडिएको बताइन्छ । महन्त रामतपेश्वरका अनुसार गरगहनाहरूको जानकारी दिन पटकपटक ताकेता गर्दा र विभिन्न निकायमा धाउँदा समेत ठोस जानकारी दिइएको छैन । नेपाल सरकारद्वारा २०६२ साउन २६ मा भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार, जानकी मन्दिरको प्रशस्त जग्गा, जमिन र अन्य आय स्रोतसमेत रहे पनि मन्दिरको अवस्था दयनीय छ । विगतमा जानकी मन्दिरको शोभाका रूपमा रहेको गुम्बज र बुर्जामा प्रयोग गरिएका प्राचीन कलात्मक स्वर्ण गजुरहरू गायब भएको तथा मन्दिरको स्थापनाका समयमा र त्यसपछि पनि भगवान् राम, लक्ष्मण र जानकी मातालाई चढाइएका बहुमूल्य आभूषण गहनासमेत गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौं पुर्याइएको प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा ‘ती बहुमूल्य गहना कहाँ र कुन अवस्थामा राखिएका छन्, त्यसबारे व्यापक जनचासो रहे तापनि सन्तोषजनक जानकारी प्राप्त नभएको’ उल्लेख छ । मन्दिरको उत्तरतर्फको प्रवेशद्वारमाथि रहेको ढुंगाको कलात्मक सिंह जोडीको हिराजडित आँखा पनि निकालिएको भन्ने भनाइ रहेको उल्लेख गर्दै प्रतिवेदनमा मन्दिरका महन्तसँग गौलोचन, गजमणि, स्यालको सिङ रहेको तर, त्यसको कुनै अभिलेख नराखिएकाले व्यक्तिगत हुने बलियो सम्भावना व्यक्त गरिएको छ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरणको नाममा कमसल तथा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी मन्दिरको स्वरूपलाई कुरुप बनाएर सरकारले नै भ्रष्टाचार गरेको आरोप मन्दिरका महन्त रामतपेश्वर दासले लगाए । उनले कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोग भएको कारण टाइल्स मार्बल फुट्न थालेको र लाइट बिग्रेको बताए । उनले मन्दिरको सौन्दर्यीकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेको दाबी गरेका छन् । उनले मुख्यमन्त्री स्वच्छता कार्यक्रमको नाममा गरिएको जानकी मन्दिर परिसर तथा मन्दिर भित्रको टाइल्स, मार्बल, गेट निर्माण तथा मर्मत सम्भारसहितका भएको सौन्दर्यीकरण र मधेस प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत बृहत्तर क्षेत्र विकास परिषदद्वारा गरिएको लाइट जडानमा समेत भ्रष्टाचार भएको दाबी गरे । त्यस्तै गत आर्थिक वर्षमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले ११ करोड रुपैयाँको लागतमा मन्दिर भरि आकर्षक देखिने लाइट जडान गरेको थियो । सो लाइट दुई महिनामै बिग्रिएको थियो । जानकी मन्दिर सौन्दर्यीकरणको नाममा मधेस प्रदेश सरकारले टाइल्स मार्बल, मर्मत लगायतका लागि ७ करोड २० लाख रुपैयाँ छुट्याएको थियो । जानकी मन्दिरमाथि लाखौँ रुपैयाँको बक्यौता रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण वितरण शाखा जनकपुरधामले २६ जेठसम्म रकम नबुझाइए मन्दिरको विद्युत् अवरुद्ध गरिने भनेर पत्र काटेको थियो । प्राधिकरणका प्रमुख लखनलाल मल्लिकले मन्दिरलाई जेठ २३ मा पठाएको पत्रअनुसार ०७९ साल वैशाख मसान्तसम्म विद्युत् महसुल जरिवानासहित कुल ७८ लाख १३ हजार २ सय ९७ रुपैयाँ तीन दिनभित्र भुक्तानी गर्न भनिएको छ । महसुल तिर्नका लागि तीनवटै तहलाई गुहारेको र कुनै पनि तह तथा संघसंस्थाले सहयोग नगरेपछि बाध्य भएर सम्झौता गरेको उनको भनाइ छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित भोजराज घिमिरेको प्रतिवेदनमा मन्दिरको जग्गाको सवालमा जानकी मन्दिरको नाममा जनकपुरधाममा कति जग्गा थियो, सोमध्ये कति जग्गा मनखप, दोकानी, पूजामा, कति रैतानी नम्बरीमा परिणत र कति तैनाथी कायम रहेको श्रेस्ता उपलब्ध नहुनुले सम्पत्ति मासिँदै गएको उल्लेख छ । महन्त रामतपेश्वरले अहिले आएर विद्युत प्राधिकरणले मठ मन्दिरको विद्युत नै अवरुद्ध गर्ने धम्की दिएपछि बाध्य भएर विद्युत प्राधिकरणसँग प्रतिमहिना ३ लाख २७ हजार रुपैयाँ गरी दुई वर्षसम्म वक्यौता भुक्तानी गर्ने गरी सम्झौता गरेको बताए । प्रतिवेदनमा, ‘पुरानो श्रेस्ता अर्थात् विसं १९८३ को लगत गुठी संस्थान शाखा कार्यालयमा भेटिएको छैन । ०२९ सालमा तत्कालीन अञ्चलाधीश कार्यालय जनकपुरधामले जानकी स्थानका तत्कालीन महन्त (१३ औँ ) रामशरण दास वैष्णवबाट त्यस स्थानमा भएको जग्गाको फाँटवारी जमिन नगदीबाट हुने आयस्था माग गरेकामा जानकी मन्दिरले पेस गरेको लगतलाई नै गुठीले आधिकारिक माने पनि विसं १९८३ मा जानकी मन्दिरको नाममा रहेको जग्गाको अवस्थाबारे यथार्थ श्रेस्ता उपलब्ध गराउन सकेको देखिएन,’ भनिएको छ । यसमा गुठी संस्थानले मन्दिरको नाममा रहेको सम्पूर्ण जग्गाजमिन, चलअचल सम्पत्ति रेखदेख गर्ने, सोको आम्दानी खर्च दुरुस्त राखी मन्दिर सुव्यवस्थित रूपमा परिचालन गर्न, मन्दिरको कुनै पनि सम्पत्ति बेचबिखन, दान दातव्य मनखपद्वारा कसैलाई पनि दिन नपाउने प्रक्रिया अनुरूप नै छुट गुठीभित्र राखी सोको जिम्मेवारी मन्दिरका महन्तलाई सुम्पेकामा महन्तहरूले यसलाई निजी किसिमले प्रयोग गरेपछि अन्योल सिर्जना गरेको प्रतिवेदनमा जनाइएको छ । साविकमा सो मन्दिरको जग्गा ५९८ बिघा १० कट्ठा ४ धुर थियो । यस पृष्ठभूमिमा जानकी मन्दिरको पुरानो श्रेस्ता गुठी संस्थान कार्यालय जनकपुरधाममा फेला नपरेको सो प्रतिवेदनले ध्यानाकर्षण समेत गराएको छ । साविकमा उल्लेख भएबमोजिमको जग्गा महन्तहरूले के प्रयोजनमा प्रयोग गरे सो सम्बन्धमा गुठीमा कुनै श्रेस्ता नहुनुले पनि मन्दिरको जग्गा मासिने अवस्थालाई देखाएको प्रतिवेदनमा जनाइएको छ । जानकी मन्दिरका १३ औँ महन्त रामशरण दास वैष्णवले ०२९ सालमा तत्कालीन अञ्चलाधीश कार्यालय जनकपुरधाममा प्रस्तुत गरेको जग्गा फाँटबारीअनुसार जानकी मन्दिरको नाममा ९१ बिघा १८ कट्ठा ८ धुर जग्गाको लगत देखिएको छ । महन्त रामतपेश्वरले जानकी मन्दिरको जग्गा बेचबिखन गरेको कुनै पनि सबुत कसैले प्रस्तुत गरिदिएमा कानुन बमोजिम सजाय भोग्न तयार रहेको जनाए । २०२९ सालमा ५ बिघा १० कट्ठा २ धुर ४ कनमा जग्गा सट्टा भर्ना भई आएकोबाट जानकी मन्दिरको गुठीको नाममा ९७ बिघा ८ कट्ठा ८ धुर ४ कनमा भई केही वृद्धि भएको देखिएको छ । जानकी मन्दिरको केही जग्गा रेल्वे, जनकपुर चुरोट कारखाना लिमिटेड (हाल मधेस प्रदेश सरकार), परिक्रमा सडक र अस्पतालमा समेत गाभिएको देखिन्छ ।

Like