अमेरिका भ्रमण तय भएपछि जानकारी गराइनेछ, संसदीय समितिलाई प्रधानमन्त्रीको जवाफ

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ५,

मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्। नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा उनले भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी दिने बताएका हुन्। समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो। प्रधानमन्त्री देउवा आफ्नो कार्यव्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेकोको बुझिएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेका सचेतक भुसालले उनीसँग भेट गरेकी थिइन्। समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुंगो लागिनसकेको स्पष्ट पारेका थिए। बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री/रक्षामन्त्रीलाई आगामी बैठकमा पुनःआमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल)ले जानकारी दिइन्।

Like