मुलुकको, प्रमुख प्रशासनिक केन्द्रलाई थप व्यवस्थित गर्दै अब सिंहदबारभित्रै हेलिप्याड प्रविधियुक्त र आकर्षक बनाइदै
रासंसा/काठमाण्डौ, ज्येस्ठ ३१,
मुलुकमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार आपत्कालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ। ‘हामीसँग सिंहदरबारमा आगलागी भएको इतिहास पनि छ। दैवी प्रकोप भयो अथवा कुनै कारणले आपतकालीन अवस्था आयो भयो भने त्यस्तो अवस्थामा प्रयोग गर्न सक्नेगरी सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण प्रस्ताव गरिएको हो,’ संघीय सचिवालय व्यवस्थापन कार्यालयका प्रमुख मच्चकाजी महर्जनले भने। महर्जनका अनुसार सिंहदबार क्षेत्रलाई व्यवस्थित बनाउन तयार पाएिको गुरुयोजनामा केही परिवर्तन गरिएको छ। परिवर्तित गुरुयोजनामा हेलिप्याड निर्माण प्रस्ताव गरिएको छ। हेलिप्याड कहाँ बनाउने भन्नेमा अध्ययन भइरहेको उनले बताए। गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि दुई वटा छट्टाछुट्टै नयाँ भवन निर्माण गर्न प्रस्ताव गरिएको छ। गृह र परराष्ट्र मन्त्रालयका लागि बनाइने भवनमा पार्किङ व्यवस्था जमिनमुनि (अण्डरग्राउण्ड) गरिनेछ। सिंहदरबार परिसरभित्रका बिजुली, टेलिफोनलगायतका तारलाई जमिनमुनि राखिनेछ। सिंहदरबारको सौन्दर्य बढाउन जमिनमुनि तार राख्न गुरुयोजनामा प्रस्ताव गरिएको व्यवस्थापन कार्यालयले जनाएको छ। गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको र मन्त्रिपरिषद्बाट पास हुनेबित्तिकै लागु हुने व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गुरु योजनाअनुसार संसद् सचिवालय भवन निर्माण पूरा भएपछि त्यसमा संसद् सचिवालयको कार्यालय सर्नेछ। त्यस्तै हाल संसद् सचिवालय कार्यालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय र हाल गृह मन्त्रालय रहेको भवनमा सहरी विकास मन्त्रालय सर्नेछ। ‘सिंहदरबारभित्र नयाँ बन्ने भवनमा अण्डरग्राउण्ड पार्किङ हुनेछ र सकेसम्म धेरै ठाउँ खुला राख्नेछौं,’ महर्जनले भने। व्यवस्थापन कार्यालयका अनुसार सिंहदबारलाई नयाँ डिजाइनसहित पुनःसंरचना गरी थप आकर्षक बनाइनेछ। परिसरभित्र आकर्षक बगैंचा तथा पार्क थपिनेछन्। अहिले भइरहेका पार्कलाई झनै सौन्दर्यकरण गरिनेछ। राज्यका तीन अंगमध्ये हाल कार्यपालिका मात्र सिंहदबारभित्र छ। सुरक्षाकर्मी बस्ने ठाउँ पनि व्यवस्थित र प्रविधियुक्त बनाइनेछ। ८ सय ७ रोपनीमा फैलिएको सिंहदबारा व्यवस्थित र आकर्षक बनाउनेगरी योजना बनाएको व्यवस्थापन कार्यालयका अधिकारीको दाबी छ। श्री ३ चन्द्रशमशेरले बनाएको सिंहदबार ९ सय ८० रोपनी क्षेत्रफलमा थियो। तर २०४१ सालमा पूर्वपट्टि र उत्तरपट्टि बाटो विस्तार गर्दा सिंहदबारको केही जग्गा काटिएपछि हाल ८ सय ७ रोपनी कायम छ। अब न्यायपालिका र व्यवस्थापिका पनि सिंहदरबारभित्रै रहनेगरी सहरी विकास मन्त्रालयले सिंहदबारको नयाँ डिजाइन तयार गरेको छ। सिंहदरबार परिसरमा अब राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको सचिवालय तथा कार्यालय बनाइने व्यवस्थापन कार्यालयका एक कर्मचारीले बताए। नयाँ गुरुयोजनाअनुसार सिंहदरबार परिसरभित्र रहेका साना टहरा हटाएर पार्किङ व्यवस्थित गरिनेछ। सहरी विकास मन्त्रालयले तयार गरेको गुरुयोजनामा यसअघि सिंहदरबार परिसमा रहेको ग्यालरी भवनलाई पहिलेकै स्वरुपमा फर्काइनेछ। ‘त्यो भवनलाई पहिले जस्तो थियो, त्यस्तै स्वरुपमा फर्काइनेछ,’ महर्जनले भने। गुरुयोजनाअनुसार मन्त्रीहरूको आवासका लागि ललितपुरको भैंसेपाटीमा आधुनिक र आकर्षक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। २०६४ सालको संविधानसभा निर्वाचनअघि ससद्को बैठक सिंहदरबारस्थित भवनमा हुन्थ्यो। पहिलो संविधानसभा निर्वाचनपछि सदस्य संख्या धेरै भएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा बैठक सञ्चालन गरिएको थियो। अहिले पनि त्यहीं संसद् बैठक बस्छ। सिंहदरबारको पुतली बगैंचामा प्रतिनिधिसभा र राष्ट्रियसभाको नयाँ भवन निर्माण भइरहेको छ।