कहिलेसम्म लगाउनु पर्ने हो मास्क ? लामो समय मास्कको प्रयोगले पछिल्लो समय स्क्रिन विरामी बढे

Share to:

रासंसा/

मुलुकमा पाटनकी सञ्जिता शर्मालाई धुँवा धुलो कारण घाँटीमा एलर्जी अनि रुघाखोकीले नियमित जसो सताउँथ्यो । नियमित सरसफाइमा ध्यान दिए पनि रुघाखोकीले पिछा नछोड्दा कहिलेकाहीँ त औषधि नै खानु पर्थ्यो । कोरोना महामारी सुरु भएको करिब डेढ महिनापछि उनको घाँटीको एलर्जी अनि सामान्य रुपमा नियमित जसो लागिरहने रुघाखोकी स्वात्तै हरायो । औषधि उपचार नगरीकनै घाँटीको एलर्जी निको हुनुको मुख्य कारण नियमित रुपमा मास्क प्रयोग र हातको सरसफाइ भएको उनको बुझाइ छ । उनी आजकाल कोरोना महामारीको संक्रमण दर कम भएपनि घरबाहिर निस्कँदा नियमित मास्कको प्रयोग गर्नुका साथै हातको सरसफाइमा ध्यान दिन्छिन् । अनामनगरकी सुजिता थापा कक्षा ५ मा अध्ययनरत छिन् । उनको स्कुल लैजाने झोलामा स्यानिटाइजरको सानो बोतल झुण्डिएको हुन्छ । उनले आफनो झोलामा मात्रै होइन, घरका आमा, बाबा, भाइको झोलाको बाहिर देखिने गरी सेनिटाइजरको सानो बोतल नराखेको देखे राखिदिहाल्छिन् । अनि, सेनिटाइजर सकिएको थाहा पाउनासाथ भरिदिन्छिन् । उनलाई मास्कको प्रयोग, साबुनपानीले हात धुन सम्भव नभएको ठाउँमा सेनिटाइजरको प्रयोग गर्नुपर्छ भन्ने थाहा छ । सुविधा तामाङ विगत पाँच वर्षदेखि बानेश्वरस्थित एक फाइनान्समा आवद्ध छिन् । घरबाहिर निस्किदा उनी सधै नियमित मास्कको प्रयोग गर्छिन् । जव उनले मास्क प्रयोग गर्दिनन्, तव उनलाई के के गर्न बिर्सिए कि केही छुटाए कि जस्तो हुन्छ । कोरोना महामारीभन्दा अघि उनले कहिलेकाहीँ मात्रै मास्कको प्रयोग गर्थिन् । २०७६ माघ १० गते नेपालमा पहिलो पटक एक जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । यस अवधिमा तीन पटक कोरोना महामारीको लहर नेपालले बेहोरी सकेको छ । कोरोना भाइरस संक्रमण हुन नदिनका लागि अनि जुध्ने प्रमुख हतियार मास्कको प्रयोग, हातको सरसफाइ तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम नै हो । कोरोना महामारी फैलिएपछि मास्कको प्रयोग, साबुन पानीले हात धुने तथा सेनिटाइजर प्रयोग गर्ने दर बढेको यी केही उदाहरण हुन् । कोरोना महामारी भन्दा अघि मास्कको प्रयोग गर्न, नियमित रुपमा हातको सरसफाई तथा सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम विरलै मानिसले गर्ने गरेका थिए । नेपालमा संक्रमण दर शुन्य भएको छैन । त्यसैले, कोरोना महामारीका कारण सर्वसाधारणको जीवन शैली र जनचेतना स्तर अनि व्यक्तिगत सरसफाइमा तुलनात्मक रुपमा परिर्वतनका परिणामहरू देखिइरहेको सरुवारोग विशेषज्ञहरू बताउँछन् । सार्वजनिक यातायातमा चढ्ने धेरै जसो यात्रुले मास्कको प्रयोग गर्ने गरेको देखिने डा. कोइराला बताउँछन् । कुनै कार्यालयमा पुग्दा, सपिङ मलहरुमा जाँदा मास्क र सेनिटाइजरको प्रयोगमा ख्याल गर्न व्यवस्थापन पक्षबाट गरिएको अनुरोध डा. कोइरालालाई मन परेको छ । यो अभियानलाई निरन्तरता दिनुपर्ने उनको जिकिर छ । पाटन अस्पतालका सरुवारोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार कोरोना महामारीले मास्कको प्रयोग र हातको सरसफाइमा सावधानी अपनाउन सिकाएको बताउँछन् । यता शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले पनि कोरोना महामारीपछि सरफाइमा मानिसहरु सचेत भएको सुनाउँछन् । काठमाडौंमा महामारी भन्दा अघि भीडभाड हुँदा मास्कको प्रयोग न्यून मानिसले गर्थे, अहिले मास्क लगाउने ठूलो समूह छ । कोरोना महामारीका कारण अन्य सरुवा रोगबारे धेरैजना सचेत रहेको उनको भनाइ छ । ‘सरुवा जन्य रोगबाट जोगिन कोरोना संक्रमणको महामारीमा मात्रै होइन, अन्य समयमा पनि काठमाडौंको प्रदूषित धुँवाधुलोबाट तथा संक्रमणजन्य रोगबाट जोगिन जनस्वास्थ्यका मापदण्डलाई जति कठोर भएर पालना गर्छौं,त्यति नै सरुवा रोगबाट जोसिन्छौँ ।’ डा. कोइराला भन्छन् । कोरोना संक्रमण दर शुन्य भएको अवस्था नरहेकाले अस्पतालहरू सावधानी अपनाएर सुरक्षा कवच लगाएर बिरामीको सेवा गर्ने गरिएको सरुवारोग विशेषज्ञ डा. कोइराला बताउँछन् । ‘विभिन्न स्थानबाट थरिथरिका रोगका बिरामी उपचारका लागि अस्पताल आउने गर्छन्,’ उनी भन्छन्, ‘महामारी अघिभन्दा पछिका दिनमा सचेत भइ जनस्वास्थ्यका नियम पालना गरी उपचार गरिन्छ ।’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार विभिन्न सरुवारोगबाट हुने स्वास्थ्य समस्याहरु तुलनात्मक रुपमा कम भएको छ । ‘कोरोना महामारीमा जनधनको क्षति भयो,’ उनी भन्छन्, ‘संक्रमण फैलिनु नराम्रो पक्ष भएपनि महामारीले व्यक्तिगत सरसफाइमा मास्कको प्रयोग, हातको सरसफाइ गर्नुपर्छ भन्ने आदत बसेको छ ।’ यसबारे भावी पुस्तालाई पनि सिकाउनै नपर्ने अनि जनचेनता फैलाउनै नपर्ने स्थिति सिर्जना गर्नुपर्ने डा. अधिकारी बताउँछन् । कोरोना महामारीको समयमा घरबाहिर कम निस्कने, बाहिरको खाना नखाने, घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग र हातको सफाइमा ध्यान दिइएकाले अन्य संक्रमणजन्य रोगीहरुको दर कम भएको धारणा राख्ने डा. पुन भन्छन्, ‘हत्तपत्त सचेत हुने नेपालीको बानी छैन तर कोरोना महामारीपछि धेरै मानिस सचेत भएका छन् ।’ यस्तै, पटक पटक हातमा सेनिटाइजरको प्रयोग गर्दा हातको छाला गएर उपचारका लागि छाला रोग विशेषज्ञमा पुग्नेहरू पनि रहेको उनले सुनाइन् । ‘हातमा सेनिटाइजरको ओभर युज गर्दा एलर्जी, छाला उपक्ने,पोल्ने र चहर्याउने भयो भन्दै आउनुहुन्छ,’ उनी भन्छिन्, ‘सेनिटाइजरमा अल्कोहल केमिकल मिश्रणका कारण हातमा समस्या आउँछ, सबै सेनिटाइजर ओइली टायपमा हुँदैनन् ।’ यता वीर अस्पतालका छाला रोग विशेषज्ञ डा लैला तामाङका अनुसार नियमित रुपमा मास्कको प्रयोग गर्दा पछिल्लो समय स्क्रिन विरामी अलि बढिरहेका छन् । मास्कले विमिरा, पिम्पल्स आयो भन्दै स्वास्थ्य संस्था पुग्नेहरू छन् । ‘मास्क लगाएको ठाउँ वढी ओइली भइ पिम्पल्स बढेपछि अस्पताल आउने बढेका छन्,’ उनी भन्छिन्, ‘विश्वमा यसलाई एक्निी मास्क भन्ने गरिएको छ ।’ मास्क लगाएपनि कम्तिमा मास्क लगाएको एक घण्टामा मास्क खोली एक छिनपछि लगाउन उनको सुझाव छ । यस्तै, सकेसम्म हातको सरसफाइ गर्दा सावुन पानीको प्रयोग गर्न उनी आग्रह गर्छिन् । सावुनपानीले हातको सफा गर्ने स्थिति नभएमा मात्रै जेलयुक्त सेनिटाइजरको प्रयोग गर्न उनको सुझाव छ ।

Like