३७ अर्ब १८ करोड खर्च गर्दैै २ महिनामा प्रदेश सरकार
रासंसा/मकवानपुर, ज्येष्ठ २२,
मुलुकमा चालू आर्थिक वर्ष २०७८/०७९ को वैशाख मसान्तसम्म कुल बजेटको ३५ प्रतिशत खर्च भएको छ। हालसम्म जम्मा २० अर्ब ५४ करोड ९२ लाख २९ हजार मात्र खर्च भएको हो। असार मसान्तभित्र थप ३७ अर्ब १८ करोड बजेट खर्च गर्नुपर्ने प्रदेश सरकारको दायित्व छ। बागमती प्रदेश सरकारको चालू आर्थिक वर्षको जम्मा बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ। तीमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार रुपैयाँ र पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार रुपैयाँ रहेको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ विनियोजन गरेकोेमा कुल बजेटको ६९ दशमलव ३१ प्रतिशत खर्च भएको थियो। चालू आर्थिक वर्षमा कुल बजेटको करिब ७० प्रतिशत खर्च हुने आर्थिक ममिला तथा योजना मन्त्रालयको अनुमान छ। चालू आर्थिक वर्षको बजेटमा चालूतर्फ ४३ प्रतिशत अर्थात १० अर्ब ७ करोड ६४ लाख रुपैयाँ बजेट खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायले बताए। पुँजीगततर्फ २८ प्रतिशत अर्थात ९ अर्ब १७ करोड २७ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए। वित्तीयतर्फ १ अर्ब ३० करोड खर्च भएको छ । ‘प्रायः आर्थिक वर्षको अन्तिममा मात्र काम सकेर भुक्तानी माग्ने परिपाटीका कारण पनि अन्तिम समयमा धेरै भुक्तानी हुने देखिएको हो’, प्रदेश लेखा नियन्त्रक उपाध्यायले भने। बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ को १० महिना अर्थात् वैशाखसम्म कुल बजेटको जम्मा २२ दशमलव ९ प्रतिशत खर्च गरेको थियो। तीमध्ये पुँजीगततर्फ १८ दशमलव ३५ प्रतिशत अर्थात ४ अर्ब ८० करोड ६० लाख मात्रै खर्च भएको थियो। उक्त अवधिमा चालूतर्फ २७ दशमलव ४ प्रतिशत अर्थात् ५ अर्ब ७१ करोड ६७ लाख ८१ हजार मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ। प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को ४० प्रतिशत बजेट फ्रिज भएको थियो। बागमती प्रदेश सरकारले नयाँ आर्थिक वर्ष २०७९/८० को लागि करिब ६० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। नयाँ आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त रहेको प्रदेश सरकारले चुनाव केन्द्रित बजेट ल्याउन लागेको हो। ‘विकास र पूर्वाधारका नियमित कामबाहेक आम नागरिकलाई छुने गरी बजेट ल्याउँदैछौं’, उनले भने। खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले अघिल्ला सरकारहरूले जस्तै नारैनाराको बजेट नआउने बताए। ‘काम र जनता केन्द्रित बजेट आउँछ, काम नहुने तर नारैनाराको बजेट यो पटक हुँदैन’, उनले भने। आगामी असार १ गते प्रस्तुत हुने बजेटमा ठूला र महŒवाकांक्षी योजना नसमेटिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बताएको छ। ‘चालू अवस्थामा रहेका ठूला योजनाहरूको निरन्तरता र चुनाव केन्द्रित बजेट आउँछ’, मन्त्रालय स्रोतले भन्यो, ‘अघिल्ला बजेटमा जस्ता ठूला कार्यक्रम राखिएका छैनन्।’ आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले आधारभूत जनतालाई सम्बोधन हुनेगरी बजेट ल्याउने तयारी गरिरहेको बताए।