हृदयेश र रेशम चम्किँदा कमल शून्य स्थानीय तह निर्वाचनमा

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ८,

मुलुकमा स्थानीय तह निर्वाचनमा केही दल पहिलो पटक निर्वाचनमा सहभागी भएका थिए । तीमध्ये पनि हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल, रेशम चौधरी पत्नी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालप्रति जनचासो बढी छ । यसअघि स्वतन्त्र समूह गठन गरेर राजनीतिमा सक्रिय पूर्वमन्त्री त्रिपाठीले २०७४ सालको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको चुनाव चिह्नबाट केही स्थानमा आफ्नो समूहका उम्मेदवार खडा गरेका थिए । जसमा उनीसहित केही जनप्रतिनिधि निर्वाचित पनि भएका थिए । अहिले स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा उनले आफ्नो नेतृत्वमा दल दर्ता गरे । नयाँ भए पनि उनको दलले लुम्बिनी प्रदेशको एउटा पालिकाको अध्यक्ष र उपाध्यक्षसहित केही वडामा जित हासिल गरेको छ । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिले पनि कैलालीमा आफ्नो प्रभाव देखाएको छ । यो पार्टीका उम्मेदवारले कैलालीमा दुई नगरपालिकाको प्रमुख, एक नगरपालिकाको उपप्रमुख, दुई गाउँपालिकाको अध्यक्ष र दुई गाउँपालिकाकै उपाध्यक्ष र केही वडा अध्यक्षमा जित हासिल गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट उम्मेदवार भएकाहरू भने अहिलेसम्म कतै निर्वाचित हुन सकेका छैनन् ।

Like