टिकटकबाट पोल खुल्दा बिदाइ समारोहबाट ‘बलात्कारी’ म्यादी प्रहरी पक्राउ
रासंसा/काठमाण्डौ, जयेष्ठ ८,
मुलुकमा बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् । उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्रहरीले कमललाई हतकडी लगाए । अहिले उनी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् । २०७४ मा उदयपुरमा भएको बलात्कारको घटनामा अदालतले कमललाई दोषी ठहर गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए । बलात्कार मुद्दामा दोषी ठहर भएपछि प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टममा इन्ट्री गरिएको हुन्छ । तर, म्यादी प्रहरीमा छनोट गर्दा छनोटमा संलग्न अधिकारीहरूले क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)को तथ्याङ्कमा ध्यान दिएनन् । कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र बलात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई बलात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्रहरीलाई खबर गरिन् । अनि, कमल पक्राउ गरेका हुन् । अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘हामीले पक्राउ गरेर उदयपुर पठाएका छौँ ।’
