मुलुकमा एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचेकी मीना कुमारी लामा

Share to:

रासंसा/मकवानपुर, जयेष्ठ ७,

मुलुकमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनबाट उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयी भएकी छिन् । बागमती प्रदेशकै एक मात्र उपमहानगरपालिका र प्रदेशको राजधानी रहेको हेटौंडामा लामा पहिलो महिला मेयर बनेकी हुन् । एमालेको लालकिल्ला रहेको हेटौंडामा पाँच दलीय सत्ता गठबन्धनबाट लामाले उम्मेदवारी दिएकी थिइन् । लामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरको उपमेयरमा विजयी भएकी थिइन् । नेकपा एमालेको विभाजन पछि लामा नेकपा एसबाट सक्रिय राजनीतिमा लागेकी थिइन् । कुल ७३ हजार ४१४ भोट खसेको हेटौंडामा लामाले २३ हजार ७५ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले २० हजार ९०८ मत सहित दोस्रो स्थानमा रहे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बहादुर सिंहले २० हजार ५३१ मत प्राप्त गरे । बागमति प्रदेशको राजधानी रहेको एकमात्र हेटौंडा उपमहानगरपालिकाको पहिलो नगर प्रमुख महिला बन्दै गर्दा लामाले महिला शक्तिमाथिको बिश्वासललाई व्यवहारमा देखाउने बताइन् । “जितबाट हौसिएर हैन, संयमित भएर नगरवासीको हितमा काम गर्नेछु” उनले भनिन् । अघिल्लो कार्यकालमा उपप्रमुख भएर काम गरेकी लामालाई नगर प्रमुख भएर इतिहास रच्ने र हेटौंडाको मुहार फेर्ने अवसर प्राप्त भएको छ । गठबन्धनबाट नगरप्रमुख भएमा लामालाई काम गर्न भने त्यति सहज देखिन्न् । पाँच दलीय गठबन्धनको स्वार्थ अनुरुप नगरको काम गर्न पर्ने उनमा बाध्यता रहन सक्छ ।

Like