मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीको मतदातालाई पैसा नबाँडेको दाबी

Share to:

रासंसा/धनुषा, बैशाख २९,

मुलुकमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले आफूले मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ । अन्सारीले मतदातालाई पैसा बाड्दै गर्दा जनकपुरको एक होटलबाट पक्राउ गरिएको भन्ने समाचार बाहिरिएपछि उहाँले आफ्नो चरित्र हत्या गर्न खोज्नेहरुले त्यस्तो आरोप लगाएको दाबी गर्नुभयो । हामिसँग अन्सारीले आफू हिजो बुधबार जनकपुर काम बिशेषले गएको तर, अहिले काठमाडौंमै रहेको भन्दै उक्त अफवाहबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरि बताउनुभयो ।अन्सारीलाई निर्वाचनको पूर्व सन्ध्यामा मतदातालाई किन्न पैसा बाँडेको आरोपमा आज (बिहिबार) बिहान जनकपुरधाम स्थित होटल सीताशरणको कोठा नम्बर ३०५ बाट प्रहरीले नियन्त्रणमा लिएको थियो। दुई-तीन दिनदेखि अन्सारी उक्त होटलमा बस्दै आएकोमा बिहिबार बिहान करिब १० बजे पैसा बाँडिरहेको भन्दै एमाले उम्मेदवार समर्थकहरुले होटल घेराउ गरेका थिए । अध्यक्ष अन्सारी पनि नेकपा एमालेकै नेता हुनुहुन्छ । उहाँ केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा मुस्लिम आयोगकाे अध्यक्ष हुनुभएकाे थियाे । एमाले कार्यकर्ता होटल घेराउ गर्न पुगेपछि अध्यक्ष अन्सारीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित रुपमा होटलबाट बाहिर निकालेको थियो । त्यसपछि उहाँलाई प्रहरीले जनकपुर विमान स्थलसम्म पुर्याएको बताइएको छ । नेकपा एमाले समर्थकहरुले अन्सारीको गाडीमा आक्रमण गर्न थालेपछि प्रहरीले लाठी चार्जसमेत गरेको थियो । सो क्रममा एमालेका नगर अध्यक्ष सुरेन्द्र भण्डारीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ ।

Like