प्रहरीले चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन
रासंसा/दैलेख, बैशाख २३,
मुलुकमा दैलेख प्रहरीले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दर्ता गर्न नमानेको पीडितका आफन्तहरुले गुनासो गरेका छन्। घरपरिवालाई थाहै नदिएर भारत जान हिडेका भैरवी गाउँपालिका दैलेखका एकै गाउँका ५ जना बालबालिकाहरु बाँकेको जमुनाह नाकाबाट फर्काएर आफन्तहरुले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दिएका थिए। तर, प्रहरीले अहिलेसम्म दर्ता नगरेको भन्दै पीडितहरुले गुनासो गरेका छन्। गाउँकै नातेदार पर्ने महिलाले दिल्लीमा राम्रो कमाई हुने भन्दै रोजगारीको प्रलोभन देखाएर बालबालिकाहरुलाई सुटुक्क भारत पठाउने चाजोपाजो मिलाएको भन्दै चार जना बालिकाका आफन्तले मुद्दा प्रहरीमा दिएका हुन्।
घरपरिवारलाई थाहा नै नदिएर भारत पठाउनेविरुद्ध आफन्तले उजुरी दिएका हुन्। भारत जान लगेका ४ जना १४ देखि १६ वर्षका बालिकाहरु र एक जना बालक रहेका छन्। नाकाबाट ती ५ जना बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाएसंगै पीडित आफन्तहरुले १४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा आफ्ना छोरीहरुलाई भारत लैजाने गाउँकै एक महिलाविरुद्ध किटानी जाहेरीसहित चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दिए। बालबालिकालाई सुन राख्न पसलेले नमानेपछि ती महिला (भारत पठाउने) ले उनका आफन्त विरामी छन् भनेर राख्न अनुरोध गरेपछि सुन राखेर भारत जाने पैसा बनाएको एक बालिकालाई उदृत गर्दै आफन्तले नागरिकसँग भनिन्। गाउँमा ७ र ८ कक्षामा पढ्दै गरेका बालिकाहरुलाई पैसा कमाउने प्रलोभनमा पारेर बेच्न पठाइएको आफन्तहरुले दाबी गरे। ‘वैशाख ८ गते साँझ घरबाट भागेको र त्यही साँझ भारतमा कसरी जाने योजना बनाएको देखिन्छ।’ पीडित बालिकाहरुलाई उदृत गर्दै आफन्तले भने, जाने भाडाँ नहुँदा सुन राख्ने, रुपैडियाँ पुगेपछि चिन्ता नहुने भन्दै बालबालिकाहरु सान्त्वना दिईएको र दिल्ली पुगेपछि राम्रो कमाई हुने सपना बाँडिएको थियो।’ गाउँदेखि वडा र पालिकासम्म आफूहरुले बालिकाहरुलाई खोजेर नभेटाएपछि प्रहरीले सिमाबाट आफ्ना नानीहरु बुझ्न बोलाएको आफन्तले बताए। प्रहरीले पनि बालिकाहरुसंग बयान लिएको आफन्तले जानकारी दिएका छन्। आफ्नो नाम नलिन ती महिलाले भनेको बालबालिकाहरुले बताएका पिडितका आफन्तहरुको भनाइ छ। ‘बालबालिकाहरुको घर जोडिएको छ तर, परिवारसंग कुनै सम्र्पक नगरेरै पठाउनुले ती महिलाको नियत प्रष्ट बुझिन्छ।’ एक बालिकाको आमाले भनिन्, मेरा नानीहरु भारत पुगेर तलमाथि भए, केही सुइकोसमेत पाउने रैनछौं। सिमाबाटै फिर्ता भएपछि मात्र पठाउनेको बारेमा थाहा भएपनि प्रहरीले मुद्दा दर्ता गर्नै मान्र्दैन्।’ ‘हाम्रो मुद्दा के भो भनेर सोध्दा प्रहरीले वास्ता व्यस्ता गर्दैन्।’ एक पीडितको आफन्तले भने, जहिले पनि छानविन गर्दैछौ मात्र भन्छन्। गाउँबाट सदरमुकाम हिड्दाँ हिड्दाँ खुटटा दुख्यो तर, न्याय पाउने आश झिनो छ।’ मुद्दा दवाउन प्रहरीले खेल खेलिरहेको आफन्तले आंशका गरेका छन्। पीडितहरु मुद्दा दिन गएको खबर पाएपछि बालबालिकाहरुलाई भारत पठाउने ती महिला प्रहरीको पुगेर आफ्नो बयान दिएकी थिइन्।
‘घरमा जाने कुरा नखोले, मेरो नाम नलिए, एक दिन मर्नु छ। संगै मरे मदिए तर, यो कुरा मलाई (मेरो नाम) नखोलिदिए भनेर ती महिलाले बालिकाहरुसग बाचा समेत खुवाएको आफन्तले बताए। सात दिन भइसक्दा पनि मुद्दा दर्ता नभएपछि आफूहरु जिल्ला प्रहरी कार्यालयमा पुग्दा अनुसन्धान भईरहेको भन्दै आफुहरुलाई हप्काएर पठाएको पीडित आफन्तहरुले बताए। ‘बाँकेबाट ५ जना बालबालिकाहरु (४ बालिका) नाकाबाट फिर्ता गरेर जिल्लामा पठाइएपछि आफन्तहरु बुझाइएको हो।’ डिएसपी साहले भने, बालिकाहरु कसरी गए लगायतका विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धान टुंगिएसंगै मुद्दा अगाडी बढाउने वा नबढाउने भन्ने निर्णय लिइने छ।’ प्रहरीका अनुसार ती महिलालाई प्रहरीले झिकाएको थिएन। मानव बेचविखनविरुद्धको मुद्धा लिएर आफन्तहरु आएको तर, मुद्दामाथि छानविनपछि मात्र के गर्ने निर्णय लिइने जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।