माओवादी र समाजवादीकै तालमेल, केन्द्रबाटै खारेज गर्ने निर्णय, तल्लो तहमा एमालेसँग कांग्रेस

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १४,

मुलुकमा स्थानीय तह निर्वाचनअन्तर्गत सत्ता गठबन्धनका तीनवटा दलले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गरेका छन्। गठबन्धनभित्र भागबण्डा नमिल्दा तल्ला कमिटीले एमालेसँग चुनावी तालमेल गरेका बेला कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले केन्द्रबाट गठबन्धनबाहेकका दलसँगको तालमेल अविलम्ब खारेज गर्ने निर्णय गरेको छ। केन्द्रमा एमालेलाई संविधान भत्काउन खोजेको, परिवर्तन उल्ट्याउन खोज्ने प्रतिगामी र प्रतिक्रान्तिकारी शक्ति भन्दै सत्ता गठबन्धन बनाएका दलहरुले स्थानीय स्तरमा भने चुनावी तालमेल गरेका हुन्। तालमेलकै आधारमा उम्मेदवारी मनोनयन दर्तासमेत गराइसकेका छन्। बैठकमा सहभागी एक नेताका अनुसार जसपा अध्यक्ष यादव र जनमोर्चा उपाध्यक्ष पौडेलले गठबन्धनबाहेकसँग तालमेल नगर्ने निर्णय गरेर एमालेसँग गर्ने भनि कांग्रेस, माओवादी र समाजवादीका शीर्ष नेतासमक्ष प्रश्न उठाएका थिए। त्यसपछि देउवा, प्रचण्ड र नेपाल एमाले र राप्रपासँगको तालेमल खारेज गर्ने र गठबन्धनभित्रै सिट बाँडफाँटमा सहमति खोज्न सहमत भए। गठबन्धनका पाँच दलका शीर्ष नेता कांग्रेस सभापति देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलको उपस्थितिमा बसेको बैठकमा देशका विभिन्न ठाउँमा गठबन्धन दलहरुले एमाले र राप्रपासँग तालमेल गरेको विषयमा चर्चा भएको थियो। तल्लो कमिटीले टुंग्याउन नसकेका महानगरपालिकादेखि वडासम्म केन्द्रको समन्वयमा गठबन्धन दलभित्रै सिट बाँडफाँटमा सहमति जुटाउने र बाहिरका दलसँगको तालमेल खारेज गर्ने निर्णय गठबन्धनले गर्‍यो। यससँगै एमाले र राप्रपासँग स्थानीय स्तरमा कांग्रेस, माओवादी र समाजवादीले गरेको तालमेल भंग हुने भएको छ। सबैभन्दा धेरै कांग्रेसले एमालेसँग तालमेल गरेर उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी सच्याउने समय वैशाख १६ गते अगावै गठबन्धनभित्रै सिट बाँडफाँडमा सहमति जुटाएर नयाँ उम्मेदवारी दिने तयारी छ।
देशभर नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा एमाले र राप्रपासँग तालमेल गरेका छन्। गठबन्धनको ‘स्पीरिट’विपरीत कांग्रेसले रोल्पाको सुनछहरी र माडी गाउँपालिका, सल्यानको कुमाख गाउँपालिकामा, भोजपुरको आमचोक र साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका, झापाको कचनकवल गाउँपालिका, पूर्वी रुकुमको सिस्ने गाउँपालिकामा एमालेसँग हैसियतअनुसार लेनदेनसहित चुनावी तालमेल गरेको छ। गठबन्धनभित्रको अर्को दल माओवादी केन्द्रले पनि एमालेसँग सहकार्य गरेको छ। प्युठानको झिमरुक गाउँपालिकामा माओवादीले राष्ट्रिय जनमोर्चाविरुद्ध एमालेसँग तालमेल गरेको हो। त्यसैगरी कांग्रेसबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीको समूहले तनहुँमा एमालेसँग तालमेल गरेको छ। त्यस्तै डडेल्धुरामा कर्ण मल्ल (जो निष्काशनमा परेका छन्) समूहले एमालेसँग चार पालिकामा तालमेल गरेको छ। केन्द्रबाट गठबन्धनले एमाले र राप्रपासँगको तालेमल खारेजीको निर्णय गरेसँगै यी ठाउँहरुमा एमाले उम्मेदवार पनि संकटमा परेका छन्। गठबन्धन केन्द्रको निर्णय लागू भएमा एमाले र राप्रपाले फेरि उम्मेदवारी परिमार्जन गर्नुपर्नेछ। त्यस्तै आफैँले अवैध पार्टी भनेको माधव नेपालको एकीकृत समाजवादीसँग पनि एमालेको तालमेल भएको छ। हुम्लाको चंखेली गाउँपालिकामा एकीकृत समाजवादीले अध्यक्ष एमालेलाई दिएर उपाध्यक्षमा आफ्नो उम्मेदवार उठाएको छ। राप्रपासँग भने सत्ता गठबन्धनले संयुक्त रुपमा झापामा तालमेल गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धन दलहरुले एमालेविरुद्ध राप्रपासँग तालमेल गरेका हुन्। अर्कोतिर एमालेले कमल थापाको राप्रपा नेपाल, लोसपा, परिवार दल, राजेन्द्र लिङ्देनको राप्रपासँग ठाउँअनुसार तालमेल गरेको छ।

Like