नेकपा एकीकृत समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा

Share to:

रासंसा/मकवानपुर, बैशाख १४,

मुलुकमा हेटौंडाको मेयर पदमा टिकट नपाएपछि एकिकृत समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले स्थानीय तहको भागबण्डा गर्न सत्ता गठबन्धन चुकेको आरोप समेत लगाएका छन् । आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पोखरेलले जिल्लास्तरीय गठबन्धन संयन्त्र र टिकट वितरणका विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पोखरेल तत्कालीन एमालेमा रहँदा ओली निकट नेता हुन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलसँग असन्तुष्ट भएपछि उनी विरोध खतिवडासँग नजिकिएर मेयर पदकै आश्वासनमा समाजवादीमा रोकिएका थिए । मकवानपुर स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको गृह जिल्ला हो । पोख्रेलले ८ महिनाअघि समाजवादीको नेतृत्व सम्हालेका थिए । आसन्न स्थानीय तहको निर्वाचनमा उनले हेटौंडा उपमहानगरको मेयर पद दाबि गरेका थिए । लामो रस्सकस्सीपछि अन्तिम समयमा बहालवाला उपमेयर तथा पार्टी उपाध्यक्ष मिनाकुमारी लामाले मेयरको टिकट पाएपछि उनी थप रुष्ट भएका थिए । पोख्रेलले मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणका काममा लागेकाहरूलाई बाइपास गरेका पनि उल्लेख गरे । पोखरेलसँग पार्टी जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी, देवेन्द्र कोइराला, उत्तम न्यौपाने, गोपालबहादुर स्याङ्तानले सामूहिक रूपमा पार्टी परित्याग गरेका हुन् । पोखरेल मकवानपुरका पुराना कम्युनिष्ट नेता हुन् । उनले आफू विगत ८ महिना नेकपा एस मकवानपुर जिल्लाको अध्यक्षमा रहदा साथ सहयोग गर्नेहरुलाई धन्यबाद दिदै कम्युनिष्ट आन्दोलनको रक्षाका लागि बिद्रोहमा निस्केको बताए । खतिवडाको व्यक्तिगत इच्छाका कारण पार्टीले गठबन्धनमा अवसर चुकाउन बाध्य भएको गुनासो गरेका पोखरेलले एमालेबाट विद्रोह गरेको ८ महिना नपुग्दै पार्टीभित्र हुर्काउन खोजिएको व्यक्तिवाद प्रवृत्तिको विरुद्धमा आफू रहेको बताए । ‘आजभन्दा ठिक ८ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बिद्रोह गरि सुशासन, पार्टीलाई बिधि र पद्धती संगत ढंगबाट संचालन, पार्टीका नेता कार्यकर्ताको मुल्यांकन, गुटबन्दिको अन्त्य, नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन र एक व्यक्ति एक पद लगायतका सुन्दर नारा दिएर भएको विद्रोह ८ महिना नपुग्दै त्यस पार्टी भित्र जबर्जस्त ढंगबाट हुर्काउन खोजियो’ उनले विज्ञप्तिमा भनेका छन् ‘व्यक्तिबाद सरकारमा गएको मन्त्रि र राजकिय ठाउँमा पाएका अवसरमा पठाईएको व्यक्तिमा देखिएको नैतिक आचरणमा ह्रास र भ्रष्टाचारमा लिप्स मनोवृत्ति र दाश बनाउने सोच हाबी हुदै पार्टी नभई केहि व्यक्तिको स्वार्थ पुरा गर्न कार्यकर्ताको समस्यालाई नजर अन्दाज गर्दै प्राइभेट कम्पनीमा रुपान्तरण गर्ने गलत मनसायलाई टुलु टुलु हेरेर बसकिएन ।’ उनले भनेका छन् ।

Like