सेयर बजार फेरि ओरालोतिर
रासंसा/काठमाण्डौ, बैशाख १३,
मुलुकमा सेयर कारोबारको पहिलो दिन आइतबार ९५.५२ अंकले बढेको सेयर बजार आज फेरि दोहोरो अंकले ओरालो लागेको छ। यसदिन नेप्से परिसूचक ३४.९५ प्रतिशतले घटेर २३८६.०१ विन्दुमा अडेको छ। नेप्से दोहोरो अंकले ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। आज दुई अर्ब ४२ करोडको सेयर कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले घटेर ४५४.६९ विन्दुमा बन्द भएको छ। कारोबारमा आएका २ समूहबाहेक ११ समूहको सूचक घट्यो। आइतबार सबै समूहमा हरियाली छाएको थियो । आज होटल तथा पर्यटनको ०.१३ प्रतिशत र म्युचुअल फन्डको ०.८२ प्रतिशतले सेयर मूल्य बढ्यो। अन्य समूहको सर्वाधिक २.२६ प्रतिशतले सूचक घट्यो। विकास बैंकको २.०४ प्रतिशतले सेयर मूल्य घट्दा लगानी समूहको १.९६, जलविद्युतको १.८७, लघुवित्तयको १.५७ र जीवन विमाको १.५३ प्रतिशतले ओरालो लाग्यो। आइतबार २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँमा खरिदबिक्री भएको थियो। यस्तै, २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर ४३ हजार ४५० पटक कारोबार भएको थियो। यसदिन २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता सेयर दुई अर्ब ४ करोड २२ लाख ५३ हजार १८२ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन झन्डै १०० अंकको हाराहारीमा बढेको सेयर बजारमा दुई दर्जन बढी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। करिब ३० कम्पनीको सेयर मूल्य बढेको थियो। आज जाल्पा सामुदायिक लघुवित्त कम्पनीको मात्र ९.९९ प्रतिशतले सेयर मूल्य बढ्यो। यसदिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड बढीको सेयर कारोबार भयो। यस्तै शिवम सिमेन्ट र हिमालयन डिस्टलरी दोस्रो र तेस्रो स्थानमा रहे। एभरेष्ट इन्स्योरेन्सको प्रमोटर सेयर (संस्थापक सेयर) मूल्य ७.७० प्रतिशतले घट्यो।