बिक्री वितरणमा पेट्रोलियम पदार्थको सहज
रासंसा/काठमाण्डौ , चैत्र २१ , \
मुलुकमा केही दिनदेखि पेट्रोल पम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । पेट्रोलियम बिक्रेताले इन्धनको बिक्री वितरण बन्द गर्दा देशभर इन्धनको हाहाकार देखिएको थियो । सरकारी स्वामित्वका पम्पमा सवारी साधनको लामो लाइन लागेको थियो । निगम र व्यवसायीबीच सहमति भएपछि आइतबार बिहानदेखि पम्पले पेट्रोलियम पदार्थ उठाउन थालेका थिए । निगमले आइतबार एक हजार ६०० किलोलिटर पेट्रोल र एक हजार १०० किलोलिटर डिजेल बजारमा पठाएको थियो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ उठाएका थिए । पेट्रोलियम बिक्रेताले कमिसन वृद्धिको माग गर्दै पेट्रोलियम पदार्थको बिक्री वितरण रोकेका थिए । निगम र समन्वय समितिबीच पेट्रोलियम बिक्रेता कमिसन र एलपी ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागका सम्बन्धमा आगामी जेष्ठ १५ गतेसम्ममा सक्ने सहमति भएको थियो । कमिसन र ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले आन्दोलन सुरु गरेको थियो । आज एक हजार १०० किलोलिटर डिजेल र पेट्रोल डिपोबाट वितरण गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएसँगै पेट्रोल पम्प खाली देखिएका छन् । इन्धन भर्न कुनै पनि पम्पमा लाइन बस्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । निगमले अघिल्लो महिना पेट्रोलियम पदार्थको बिक्रीबाट चर्को नोक्सानी रहेको भन्दै मूल्य बढे पनि बिक्रेताले कमिसन भने नबढाउने निर्णय गरेको थियो । व्यवसायीले डिजेल÷पेट्रोल र मट्टितेलको बिक्रीबाट प्रतिलिटरको मूल्यबाट ३.३९५ प्रतिशत कमिसन पाउँदै आएका छन् ।