बीमा समिति अध्यक्ष सिलवालको बीमा दाबी भुक्तानी नरोक्ने आग्रह

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १९,

मुलुकमा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बीमा दाबी भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् । ‘बीमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बीमा कम्पनीबाट पनि समयमा नै बीमा दाबीको भुक्तानी भयो भने बीमा बजारमा विश्वास बढ्छ र बीमाको दायरा समेत बढ्छ ।’ प्रत्येक वर्ष बीमाको कारोवार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बीमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन् । सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्’ अध्यक्ष सिलवालले भने, ‘बीमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्‍यो । बीमा कम्पनीले पनि बीमा दाबी भुक्तानी र बीमा सर्भेयरको फी ढिलाई नगरी भुक्तानी गर्नु पर्‍यो ।’ गत बिहीबार राजधानीमा बीमा समितिको आयोजनामा निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बीमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् । आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सवभन्दा अगाडि हुने उल्लेख गर्दै अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बीमाबाट प्रतिफल पाउन सकून् र बीमा जोखिमको बेलाको साथी बनोस् भनेर बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन र त्यस अनुसार प्रदेश तथा स्थानीय तहमा बीमा नीति निर्माण गर्न पहल गरिएको र सोले सार्थकता पाउन थालेको बताए । ‘पशु म-यो, बाली बिग्रियो बीमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बीमा रकम पाउनु पर्‍यो । कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्‍यो’ उनले भने । कार्यकारी निर्देशक पौडेलले बीमा सर्भेयरले क्षति मूल्याकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्दै बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भे फी पनि भुक्तानी गर्न बीमा कम्पनीहरूलाई आग्रह गरे । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताए ।

Like