बुझाउन थाले कांग्रेस प्रदेश प्रतिनिधिले प्रतिवेदन
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तर्गत नेपाली कांग्रेस गण्डकी प्रदेश समिति प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पठाएका प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेका छन्। खटिएका सबै प्रतिनिधि सम्बन्धित प्रदेश सभामा गएर कार्यकर्ता र जनतासँग प्रत्यक्ष भेटेर त्यहाँको वस्तुस्थिति बुझेर आएको पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जनाए। प्रतिनिधिले प्रतिवेदन बुझाउन थालेको बताउँदै उनले सो प्रतिवेदन आसन्न निर्वाचनमा उम्मेदवारी छनौटका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे। प्रदेशका ११ जिल्लाका ३६ प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचन केन्द्रित कार्यक्रम तय गरी पार्टीका ७२ जना प्रदेश सदस्यलाई निर्वाचन क्षेत्रमा खटाइएको थियो। स्याङजा को प्रदेश २ (ख)का प्रतिनिधि शकुन्तला शर्माले ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियानले गाँउमा पार्टीको उत्साह थपिएको बताए। प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछानेले पार्टीका नेता कार्यकर्तासहित जनताका घरघरमा गएकाले अभियान सफल भएको बताए। प्रदेश समितिले खटाइएका प्रतिनिधि गत चैत ५ देखि परिचालन भएका थिए।