१० किलोमिटर काँधमा छोरीको शवलाई बोकेर हिँडे बाबु
एजेन्सी,
विश्वमा त्तीसगढको सुरगुजा जिल्लाको एक भिडियो सामाजिक सञ्जालमा हाल भाइरल भएको छ । यस भिडियोमा एक पुरुष आफ्नी छोरीको शव काँधमा लिएर हिँडिरहेका देखिन्छन्। उनी शव वाहन नपाएकोले दश किलोमिटर हिँडेर छोरीको शव बोक्दै घर पुगेका समाचारहरुमा उल्लेख छ। घटनाको छानविन गर्न भारत छत्तीसगढका स्वास्थ्यमन्त्री टीएस सिंहदेवले आदेश दिएका छन्। उनले उक्त तस्बिरमा देखिएका दृश्यहरू दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्। ‘सम्भावित उपचारपछि बालिकाको मृत्यु हुनु अत्यन्तै दुःखद छ । शव वाहनलाई खबर गरेर अस्पताल बोलाइएको थियो । तर, यसैबीच शोक सन्तप्त परिवारले विचलित अवस्थामा शव लैजाने निर्णय गरे।’ सिंहदेवले यस घटनामा दोषीलाई कारबाही गरिने बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य विभागमा उपस्थित कर्मचारीले उचित सञ्चारमार्फत परिवारलाई अवस्थाबारे जानकारी गराउनुपर्थ्यो र समवेदना प्रकट गर्नुपर्थ्यो। यस घटनामा दोषी पाइएमा कारबाही गरिनेछ ।’ बालिकाको शुक्रबार साँझ करिब ७:३० बजे मृत्यु भएको थियो। बालिकाको परिवारलाई शव वाहन बोलाइएको बताएको स्वास्थ्य केन्द्रका ग्रामीण चिकित्सा सहायकले जानकारी दिए । साढे ९ बजे गाडी अस्पताल पुग्दा बालिकाका बुवा शव लिएर गइसकेका थिए । सुरगुजा जिल्लाको अमदला गाउँका निवासी ईश्वर दास आफ्नी बिरामी छोरीको उपचारको लागि लखनपुर सामुदायिक स्वास्थ्य केन्द्र गएका थिए।अस्पताल पुग्ने समयसम्म बालिकाको स्वास्थ्य बिग्रिएकोले बचाउन नसकिएको स्वास्थ्य अधिकारीले बताएका छन् ।
