एमसीसी पनि समाधान गर्न, गठबन्धन बचाउन लागिरहेका छौं : प्रचण्ड
रासंसा/काठमाण्डौ, फाल्गुन १४,
मुलुकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीले लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने त होइन भन्ने चिन्ता भएको बताएका छन्। सशस्त्र युद्धको प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न तह आन्दोलनबाट प्राप्त उपलब्धि एमसीसीकै कारणले कारणले गुम्ने त होइन भन्ने स्थिति आएको धारणा राखेका हुन्। उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त जनताका उपलब्धि प्रतिगमनकारीबाट अझै खतरामा पर्ने देखिएको बताए। ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन फेरि अगाडि नआओस्। र संविधान, लोकतन्त्र, राष्ट्रियताको कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। तपाईहरुले देखि राख्नुभएको छ।’ उनले भने, ‘सत्ता गठबन्धन सजिलै नटुटोस् भनेर लागिरहेका छौं। गठबन्धन बचाऔं, एमसीसीको समस्या पनि समाधान होस्, गठबन्धन पनि नटुटोस् भनेर कुनै उपाय छ त भनेर छलफल भइरहेको छ।’ गठबन्धन बनाउँदा र साझा न्यूनतम कार्यक्रम बनाउँदा एमसीसी नराखेको स्मरण गरे। बिना संशोधन एमसीसी सम्झौता पास नगर्ने माओवादीको अडान रहेको उल्लेख गर्दै प्रचण्डले यसकै कारणले गठबन्धन टुट्ने र फेरि प्रतिगमनकारी शक्ति (एमाले) हाबी हुने त होइन भन्ने अवस्था आएको धारणा राखे। उनले युद्ध नसकिएको र नरोकिएको बताए। ‘हामीले फेरि नयाँ परिवेशमा पनि युद्ध र राजनीति भनेको माओत्सेतुङले भनेजस्तै हो। युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो। राजनीति भनेको रक्तपातहीन युद्ध नै हो। अहिले हामी रक्तपातहीन युद्धमा छौं। युद्ध सकिएको छैन, युद्ध रोकिएको छैन।’ प्रचण्डले भने, ‘खाली हामी हिंसामा छैनौं अहिले। बन्दुक लिएका छैनौं हामीले तर युद्ध त जारी छ। पार्टीहरु र राज्यले बुझ्न जरुरी छ। सबैतिर संघर्ष गर्न जरुरी छ।’ उनले प्राप्त उपलब्धिको गुम्न नदिने र थप उपलब्धका लागि एकताबद्ध भएर अगाडि बढ्न संकल्प लिएर अगाडि बढ्नुपर्ने बताए। उनले जनयुद्धमा दलितको सहभागीता र बलिदानको स्मरण गरे। प्रचण्डले माओवादीको विधानबाट दलितलाई विशेषाधिकार दिएर अगाडि बढाएको उल्लेख गरे।