महासंघको निक्षेपमा ब्याज वृद्धिको निर्णय स्थगित गर्न आग्रह
रासंसा/काठमाण्डौ, माघ २८,
मुलुकमा नेपाल उद्योग वाणिज्य महासंघले निक्षेपमा ब्याज वृद्धिको निर्णय स्थगित गर्न आग्रह गरेको छ । महासंघले बैंकहरुको निक्षेपमा ब्याज वृद्धिको निर्णय स्थगित गराउन राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । अनपेक्षितरुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउं पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ–महासंघद्वरा जारी विज्ञप्तिमा भनिएको छ । बैकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भैरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ । साथै थलिएका उद्योग व्यवसायहरुलाई सुुसंचालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसंग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन महासंघ सदैव तयार रहेको प्रतिवद्धता पनि व्यक्त गरेको छ ।