जसपामा हिरो अशोक राई, समर्थनको निर्णय आफुलाई
रासंसा/काठमाण्डौ, माघ ११,
मुलुकमा जनता समाजवादी पार्टी नेपालमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षबीच आन्तरिक सङ्घर्ष सुरु भएसँगै कुन पक्ष कति बलियो भन्ने हिसाब किताब पनि सुरु भएको छ । यद्यपि, माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन अघि भने दुवै पक्ष आन्तरिक गठजोडमा मात्र केन्द्रित रहेका छन् । चुनाव सकिए लगतै दुवै पक्षले पार्टीमा आ-आफ्नो दाबी प्रस्तुत गर्ने बताइएको छ । यतिखेर जसपामा हिरो अशोक राई समर्थन निर्णय नै उहा आफुलाई नै रहेको छ । पार्टीमा शक्ति देखाउने थलो भनेको कार्यकारिणी समिति र संसदीय दल हो । निर्वाचन आयोगले मान्यता दिएको जसपाको कार्यकारिणी समितिमा ३७ जना सदस्य रहेका छन् । यसमध्ये पनि रेशम चौधरीले आफ्नो पार्टी खोलिसकेका छन् भने पर्शुराम खपुङ्ग प्रदेश प्रमुख भइसकेका छन् । यता संसदीय दल १९ सदस्यीय रहेको छ । उता जसपाका वरिष्ठ नेता अशोक राईसँग ६ जना छन् । उनले कसलाई साथ दिन्छन् भन्ने अहिलेसम्म खुलेको छैन । अध्यक्ष यादव पक्षका एक नेता दाबी गर्छन्, ‘अशोक राई हालसम्म तटस्थ नै हुनुहुन्छ, तर टाउको नै गन्ने अथवा बहुमत अल्पमतको अवस्था आए भने उहाँले उपेन्द्र यादवलाई साथ दिनुहुन्छ ।’ हालसम्म संसदीय दलमा जसपाका अध्यक्ष उपेन्द्र यादव बहुमतमा देखिन्छन् । त्यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा पनि डा. भट्टराई पक्षका नौजना मात्र छन् । त्यसैले भट्टराई यतिबेला यादव पक्षका केही नेतालाई आफ्नो पक्षमा तान्ने प्रयासमा छन् । हालसम्म यादवनिकट भनिएका कार्यकारिणी सदस्य महेन्द्रराय यादव, रामनरेश राय यादव, रमेश यादव र इस्तियाक राइ भट्टराईको पक्षमा देखिएका छन् । चार जनाले साथ दिए समितिमा भट्टराईको पक्षमा १३ जना सदस्य हुनेछन् । चार जनाले क्याम्प बदले भने पनि यादवको पक्षमा हालसम्म प्रष्ट रूपमा १६ जना सदस्य देखिएका छन् । भट्टराई पक्षका नेता भन्छन्, ‘पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा गर्नुभएको गतिविधिले अशोक राई पनि सन्तुष्ट हुनुहुन्न । पार्टीबाट मन्त्रीको नाम पठाउने जिम्मेवारी उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । तर यादवले एकलौटी रूपमा नाम पठाउनुभएकोले अशोक राई पनि असन्तुष्ट हुनुहुन्छ ।’ यता परिषद् अध्यक्ष भट्टराई पक्षका नेताहरु पनि राईलाई फकाउने प्रयासमा छन् । किनभने पार्टीको अंक गणितमा नेता राई निर्णायक अवस्थामा देखिएका छन् । स्रोतका अनुसार भट्टराई पक्षले अशोक राइलाई पार्टी अध्यक्ष नै बन्ने प्रस्ताव पनि गरेका छ । स्रोत भन्छ, ‘भट्टराई पक्षले खाली रहेको एउटा अध्यक्ष पदमा आफू बस्न या भट्टराईलाई बनाउन सहयोग गर्न प्रस्ताव गरेको छ । अध्यक्ष यादव वरिष्ठ नेता राईसँग निरन्तर सम्पर्कमा छन् । कार्यक्रमहरूमा पनि दुवैजना सँगै जान्छन् । कार्यक्रमबारे अध्यक्ष यादव र परिषद् अध्यक्ष भट्टराईबीच सल्लाह नभए पनि दुई नेताबीचको सल्लाहमा नै कार्यक्रमहरु तय हुने गरेको ती नेताले दाबी गरे । अध्यक्ष यादवले पार्टीमा कुनै निर्णय गर्दा कसैसँग सरसल्लाह नगरेको गुनासो भट्टराई पक्षको रहेको छ । मन्त्री पठाउँदा होस् या राष्ट्रिय सभामा उम्मेदवार चयन गर्दा होस्, जिल्लामा भइरहेको समायोजनको काम होस् या कोही मनोनीत गर्ने काम होस्, यादवले कसैलाई नसोधी निर्णय लिइरहेको भट्टराई पक्षको दाबी छ । भट्टराई पक्षका नेता भन्छन्, ‘पछिल्लो समय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा गर्नुभएको गतिविधिले अशोक राई पनि सन्तुष्ट हुनुहुन्न । पार्टीबाट मन्त्रीको नाम पठाउने जिम्मेवारी उपेन्द्र यादव, अशोक राई र बाबुराम भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । तर यादवले एकलौटी रूपमा नाम पठाउनुभएकोले अशोक राई पनि असन्तुष्ट हुनुहुन्छ ।’ उनले अगाडि भने, ‘कुनै साथीलाई के कुरामा चित्त नबुझेका होला । कसैलाई केही चाहिएको होला, त्यो प्राप्त नभएपछि असन्तुष्टि जनाउँदै होला, त्यो बेग्लै कुरा हो । कसलाई कसैको शैली मन पर्दैन भने विरोध गर्न सक्छन् तर मुख्य कुरा पार्टीको संस्थागत सिद्धान्त र विचार हो, त्यसमा कुनै विवाद छैन ।’ तर अशोक राईनिकट कार्यकारिणी सदस्य रकम चेम्जोङ भन्छन्, ‘त्यस्तो होइन, पार्टीमा जे निर्णय भएका छन्, सबैको सल्लाहमा भएका छन् । पार्टीमा बैठक बसेर, छलफल गरेर गरिएका छन् । त्यसैले पार्टीमा कुनै पनि संस्थागत विवाद छैन ।’ यादव र डा.भट्टराईबीच बहुमत सिद्ध गर्ने अवस्था आयो भने अशोक राईले कसलाई समर्थन गर्नुहुन्छ ? भन्ने जिज्ञासामा नेता चेम्जोङले भने, ‘अहिलेसम्म पार्टीमा त्यो अवस्था आएको छैन, र आउँदैन पनि ।’ अहिलेसम्म बसेका कार्यकारिणी समिति बैठकहरू बसेका छन्, त्यसबाट सौहार्द रूपमा निर्णयहरू भएको बताउँदै उनले अहिले सञ्चारमाध्यममा आएका कुराहरू व्यक्तिगत कुरा मात्र भएको र संस्थागत रूपमा पार्टीभित्र त्यस्तो विवाद केही नरहेको दाबी गरे । परिषद् अध्यक्ष भट्टराईले पार्टीमा पार्टीमा कार्यकारिणी भूमिका खोजेको यादव पक्षको बुझाइ छ । त्यस विषयमा राष्ट्रिय सभा सदस्यसमेत रहेका नेता यादव भन्छन्, ‘पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था छ, विधान अनुसार हुनुपर्छ भन्ने कुरा उठ्नु स्वाभाविक हो । भट्टराईजीको पक्षबाट अलि बढी उठिरहेको छ । तर यी विषयहरू पार्टीभित्र छलफल गरेर टुङ्ग्याउनुपर्छ बाहिर कराएर हुँदैन ।’ राष्ट्रिय सभाको चुनावपछि पार्टीमा बैठक बसेर यी सबै कुराको किनारा लाग्ने उनले दाबी गरे । त्यस्तै, उपेन्द्र यादव पक्षधर मानिएका कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव भन्छन्, ‘हालसम्म अध्यक्ष यादवले जतिपनि निर्णय गर्नुभएको छ, पार्टीमा सल्लाह गरेर नै गर्नुभएको छ । कुनै बेला केही अपर्झट निर्णय लिनुपर्दा अध्यक्षको नाताले आफै पनि निर्णय गरेर अगाडि बढ्नुभएको छ तर पछि त्यसलाई पार्टीबाट अनुमोदन पनि गराउनु भएको छ ।’ सञ्चारमाध्यममा आएको जस्तो पार्टीमा त्यस्तो कुनै विवाद नरहेको बताउँदै उनले पनि बाहिर हल्ला भए जस्तो पार्टीमा कुनै विवाद नरहेको दाबी गरे । भट्टराई पक्षधर नवराज सुवेदी भन्छन्, भट्टराईजीले आफ्नो लागि अध्यक्ष माग्नुभएको छैन तर पार्टीभित्र सबैले अपनत्व महसुस गर्नुपर्छ भन्ने उहाँको चाहना हो । पार्टीमा नयाँ शक्तिलगायत विभिन्न पार्टीबाट साथीहरू आउनुभएको छ । उहाँहरू सबैले पार्टीमा अपनत्व महसुस गर्नुपर्छ भन्ने नै मूल कुरा हो ।’ पार्टी विधानमा दुई अध्यक्षको व्यवस्था छ । त्यसमा अर्को अध्यक्ष भट्टराईले पाउनुपर्ने दाबी रहेको छ । विधानअनुसार अरू पदमा मनोनीत हुने काम भइरहेको छ भने अध्यक्ष पक्षमा किन हुँदैन भन्दै अध्यक्ष यादवमाथि दबाब बढाइरहेका छन् । पार्टी समावेशी बनाउने भन्ने तर कार्यान्वयनमा एकल जातीय, एउटा विशेष भूगोललाई मात्र प्राथमिकता दिएर कसरी हुन्छ भन्दै उनले मन्त्रीहरूको नाम पठाउँदा त्यस्तै देखिएको दाबी गरे । पार्टीमा अहिले भइरहेको गतिविधिबारे धेरै जना असन्तुष्ट रहेको उनले दाबी गरे । अहिलेको विवाद कुनै व्यक्ति विशेष नभएर पार्टीको समग्र विषयमा रहेको उनको दाबी छ । नेपालका सबैजसो पार्टीमा देखिएको समस्या जस्तै यो पार्टीमा पनि एकल निर्णय र व्यक्तिगत निर्णयका आधारमा अध्यक्ष अगाडि बढी रहेको देखिन्छ, उनले भने, गल्ती अन्य नेताहरूबाट पनि भएको हुनसक्छ तर कार्यकारी जिम्मेवारीमा भएको कारणले अध्यक्ष उपेन्द्र यादव अलि बढी जिम्मेवार हुनुपर्छ ।’