अब ओमिक्रोन भेरियन्टले सताउने चेतावनी, भारतमा संक्रमित बढेसँगै नेपालमा र्यापिड एक्सन प्लानको तयारी
रासंसा/काठमाण्डौ, पौष २३,
पुस ९ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट फैलन नदिन थप सतर्कता अपनाउन स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको छ । नेपाल सरकारले पनि कोभिड–१९ को नयाँ भेरियन्ट फैलिन नदिन थप सतर्कता अपनाउन निर्देशन दिइसकेको छ । कोरोना संक्रमणको अघिल्लो लहरमा भारतमा संक्रमण उच्च बिन्दूमा पुगेको करिब ५० दिनपछि नेपालमा संक्रमितको सङ्ख्या बढेको थियो । भारतमा जबजब कोरोना संक्रमण दर बढ्दै जान्छ, तब सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या बढ्दै जाने भएकाले समयमै सतर्कता नअपनाएको खण्डमा नेपालमा पनि ढिलोचाँडो तेस्रो लहर आउने जनस्वास्थ्यविज्ञहरु बताउँछन् । पहिलो तथा दोस्रो लहरको तुलनामा अहिले धेरै मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले १८ वर्षभन्दा माथिका लक्षित १ करोड ९९ लाख २२ हजार १२६ जनसंख्यामध्ये ५३.२ प्रतिशतले पूर्णमात्रामा खोप लगाएको जनाएको छ । यस्तै, ७२.१ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
