अन्य थपखेलकुदप्रदेश-४ [गण्डकी]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

गण्डकी प्रदेश सरकार जुट्यो नवौँ राष्ट्रिय खेलकुदको तयारीमा

Share to:

रासंसा/कास्की, बैशाख २०,

मुलुकमा गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा सोमबार उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए । भौतिक पूर्वाधार, यातायात व्यवस्था तथा सहरी विकासमन्त्री कुमार खड्काले सङ्घ सरकारसँगको सहकार्यमा प्रतियोगितालाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रतियोगितामा सहभागिता जनाउने सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अगाडि बढ्ने जानकारी दिए । प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशमा खेलाडी छनोट र खर्च प्रक्रियाका लागि आवश्यक पर्ने कार्यविधि तत्काल निर्माण गरिने जानकारी दिए । मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सङ्घीय सरकारको कार्यक्रम भए पनि गण्डकीमा हुन लागेकाले प्रतियोगितालाई सफल पार्न सम्बद्ध सबै निकाय र सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए । उनले प्रतियोगिताका लागि बजेट केन्द्र सरकारले नै उपलब्ध गराउने भए पनि प्रदेशका तर्फबाट खेलाडी छनोटका लागि भने प्रदेशले नै बजेट व्यवस्थापन गर्ने जानकारी दिँदै भने, “राष्ट्रिय खेलकुदमा खेलाडी छनोटका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकार तयार छ ।” गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङले प्रतियोगिता सञ्चालनका लागि हालसम्म भएको प्रगतिका बारेमा जानकारी गराए । प्रदेशस्तरमा खेलाडी छनोट र व्यवस्थापनलगायत कामका लागि पाँच करोड २० लाख आवश्यक पर्ने उनको भनाइ छ । प्रतियोगितामा ३६ खेल समावेश हुनेछन् । पोखरामा हुने भएकाले प्रतियोगितामा नसमेटिने गरी छेलो र क्यानोनिङसमेत समावेश गर्न लागिएको सदस्यसचिव गुरुङले बताए । गण्डकी प्रदेशमा ३९ वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितामा सात हजार खेलाडी, दुई हजार व्यवस्थापक र एक हजार रेफ्री गरी कम्तीमा १० हजार जना प्रत्यक्ष संलग्न हुने जनाइएको छ ।

Like