आज रेलसेवा र प्रसारण लाइनको शुभारम्भ गरिने, देउवा-मोदी भेटवार्ता
रासंसा/काठमाण्डौ, चैत्र १९,
मुलुकका प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा रहेका छन् । शनिबार हैदरावाद हाउसमा आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्दै छन् । आज दुई पक्षबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ । नेपाली राजदूतावासमा शुक्रबार साँझ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने जानकारी दिएका थिए । नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको उनले बताए । आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे । प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ। देउवा शुक्रबार अपराह्न भारत आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् । प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग शुक्रबार अपराह्न नै भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव थिए । शुक्रबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।