एक्लै बहुमत ल्याउने आगामी निर्वाचनमा कांग्रेस शीर्ष नेताहरुको दावी
रासंसा/काठमाण्डौ, फाल्गुन २१,
मुलुकमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन्। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको चुनाव गर्ने बताएका हुन्। यस्तै महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसीर अघिनै संघीय संसदको निर्वाचन हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष मुलुक शान्दार ढंगले चलाउने बताए। उनले स्थानीय तहको निर्वाचन बैशाख ३० गते नै हुने बताए। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सुचारु नहुने हो भने चाँडै संघीय संसदको निर्वाचन गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताए। उनले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि निर्वाचनमा छिटो जानुको विकल्प नरहेको तर्क गरे। अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित कांग्रेसनै मुलुकको भरोसा भएको दावी गरे। उनले मुलुकको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र मुलुकलाई विकल्प दिनेगरी अघि बढ्ने संकल्प पनि गरे। त्यस्तै कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी निर्वाचनतर्फ लम्किएको उल्लेख गर्दै एक्लै निर्वाचनमा लडने संकेत गरे। प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै उनले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई निर्वाचनमा केही फरक नपर्ने बताए। कांग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, मुलुकको विकास र समृद्धिको सवालमा कांग्रेस एकतावद्ध भएर अघि बढछ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको स्मरण गराए। उनले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउन काम गर्न नहुने पनि बताए।