आज बैसाख स्नान प्रारम्भ, हनुमान जयन्ती, SEE २०८२ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी, विश्व अटिजम जागरुकता दिवस मनाइदै

Share to:

रसंसा/काठमाण्डौ, चैत्र १९,

हनुमान चालिसा हनुमानको सम्पूर्ण चरित्रको वर्णन हो । यो गाएर सजिलै हनुमानको भक्ति गर्न सकिन्छ ।
श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुं लोक उजागर।।
रामदूत अतुलित बल धामा।
अंजनि-पुत्र पवनसुत नामा।।
महाबीर बिक्रम बजरंगी।
कुमति निवार सुमति के संगी।।
कंचन बरन बिराज सुबेसा।
कानन कुंडल कुंचित केसा।।
हाथ बज्र औ ध्वजा बिराजै।
कांधे मूंज जनेऊ साजै।

संकर सुवन केसरीनंदन।
तेज प्रताप महा जग बन्दन।।
विद्यावान गुनी अति चातुर।
राम काज करिबे को आतुर।।
प्रभु चरित्र सुनिबे को रसिया।
राम लखन सीता मन बसिया।।
सूक्ष्म रूप धरि सियहिं दिखावा।
बिकट रूप धरि लंक जरावा।।
भीम रूप धरि असुर संहारे।
रामचंद्र के काज संवारे।।
लाय सजीवन लखन जियाये।
श्रीरघुबीर हरषि उर लाये।।
रघुपति कीन्ही बहुत बड़ाई।
तुम मम प्रिय भरतहि सम भाई।।
सहस बदन तुम्हरो जस गावैं।
अस कहि श्रीपति कंठ लगावैं।।
सनकादिक ब्रह्मादि मुनीसा।
नारद सारद सहित अहीसा।।
जम कुबेर दिगपाल जहां ते।
कबि कोबिद कहि सके कहां ते।।
तुम उपकार सुग्रीवहिं कीन्हा।
राम मिलाय राज पद दीन्हा।।
तुम्हरो मंत्र बिभीषन माना।
लंकेस्वर भए सब जग जाना।।
जुग सहस्र जोजन पर भानू।
लील्यो ताहि मधुर फल जानू।।
प्रभु मुद्रिका मेलि मुख माहीं।
जलधि लांघि गये अचरज नाहीं।।
दुर्गम काज जगत के जेते।
सुगम अनुग्रह तुम्हरे तेते।।
राम दुआरे तुम रखवारे।
होत न आज्ञा बिनु पैसारे।।
सब सुख लहै तुम्हारी सरना।
तुम रक्षक काहू को डर ना।।
आपन तेज सम्हारो आपै।
तीनों लोक हांक तें कांपै।।
भूत पिसाच निकट नहिं आवै।
महाबीर जब नाम सुनावै।।

नासै रोग हरै सब पीरा।
जपत निरंतर हनुमत बीरा।।
संकट तें हनुमान छुड़ावै।
मन क्रम बचन ध्यान जो लावै।।
सब पर राम तपस्वी राजा।
तिन के काज सकल तुम साजा।
और मनोरथ जो कोई लावै।
सोइ अमित जीवन फल पावै।।
चारों जुग परताप तुम्हारा।
है परसिद्ध जगत उजियारा।।
साधु-संत के तुम रखवारे।
असुर निकंदन राम दुलारे।।
अष्ट सिद्धि नौ निधि के दाता।
अस बर दीन जानकी माता।।
राम रसायन तुम्हरे पासा।
सदा रहो रघुपति के दासा।।
तुम्हरे भजन राम को पावै।
जनम-जनम के दुख बिसरावै।।

अन्तकाल रघुबर पुर जाई।
जहां जन्म हरि-भक्त कहाई।।
और देवता चित्त न धरई।
हनुमत सेइ सर्ब सुख करई।।
संकट कटै मिटै सब पीरा।
जो सुमिरै हनुमत बलबीरा।।
जै जै जै हनुमान गोसाईं।
कृपा करहु गुरुदेव की नाईं।।
जो सत बार पाठ कर कोई।
छूटहि बंदि महा सुख होई।।
जो यह पढ़ै हनुमान चालीसा।
होय सिद्धि साखी गौरीसा।।
तुलसीदास सदा हरि चेरा।
कीजै नाथ हृदय मंह डेरा।।
पवन तनय संकट हरन, मंगल मूरति रूप।
राम लखन सीता सहित, हृदय बसहु सुर भूप।।

हनुमान जयन्ती
हनुमानकी आमा अञ्जना एउटी अप्सरा हुन् । अन्जानेरी पर्वतमा जन्मिएकी अन्जना आफूमाथि परेको श्रापको कारणले पृथ्वी लोकमा बसेकी हुन् । हनुमानका पिता सुमेरु पर्वतका राजा बृहस्पतिका छोरा केशरी हुन् । त्यसबाहेक, हनुमानका मतिमान, श्रुतिमान, केतुमान, गतिमान र धृतिमान नामक ५ साना भाइहरू छन्। हनुमान एउटा बाँदर देवता हुन् । कलियुगमा श- शरीर उपस्थित हुनु भएक भगवान केवल हनुमान मात्रै हुन् । उनी रामायणको सबैभन्दा दयावान् अनि शक्तिशाली पात्रका रुपमा चिनिन्छन् । ऐतिहासिक रूपमा अझै उत्खनन र अन्वेषण गर्नुपर्ने हनुमान, धार्मिक रूपमा एउटा कोशेढुङगा अनि सामाजिक रूपमा मानिसले पुजेका जनावर देवता हुन् ।
चकचके र चञ्चले स्वभावका हनुमानले साधु सन्तलाई दुःख दिने, ऋषिहरूको तपस्यामा बाधा पुर्याउने गर्थे । त्यसैले एकपटक एउटा ऋषिले उनलाई आफ्नो शक्ति बिर्सने र अरु कसैले सम्झाइ दिए मात्रै आफ्नो शक्तिको याद आउने श्राप दिन्छन् । आमा अञ्जनाले लामो समयसम्म भगवान् शिवको आराधना गरेपछि उनको आराधनाले भगवान् शिव प्रसन्न भए। त्यसपछि शिवले भगवान् वायुलाई आफ्नो पुरुष शक्ति अनि ऊर्जाहरूलाई केन्द्रित गरेर अञ्जनाको गर्भमा भरिदिन भनेपछि हनुमान गर्भमा आएकाले हनुमानलाई वायु पुत्र या पवन पुत्र भनिन्छ । हनुमान बाहेक महाभारतका कुन्तीपुत्र भीम पनि पवनपुत्र हुन् । हनुमान भगवान् रामका परम भक्त थिए । हनुमान प्रत्येक समय भगवान राम र सिताको सेवाको लागि तत्पर रहन्थे । उनको भक्ति भाव साह्रै अनुकरणीय छ । त्यसैले उनलाई भक्ति शिरोमणि भनिन्छ । त्यसबाहेक, हनुमानलाई बजरङ्गबली, केशरी नन्दन, पवन कुमार, मारुती, संकट मोचक आदि नामहरूले पनि चिनिन्छ ।
अंगद, जामवंतजस्ता वीरहरूले १०० योजन लामो समुन्द्र पार गर्न नसक्ने भएपछि श्री रामको आज्ञा मानेर समुन्द्रमा उफ्रिएर हनुमान पारि लङ्का पुगे, त्यहाँ पुगेर उनी लंकिनीहरुसँग बच्दै सीतालाई राखिएको अशोक वाटिका पुगे र श्रीरामको सन्देश सीतालाई दिए। त्यही अशोक वाटिकाको फलहरू तोडेर खाँदै गर्दा एकजना सैनिकले हनुमानलाई देखेर उनलाई बन्धक बनाएर रावणको अगाडि लागे । त्यहाँ रावणले सैनिकलाई हनुमानको पुच्छरमा आगो लगाउने आदेश दिए । हनुमानको पुच्छरमा आगो लागेपछि उनले त्यहीँ पुच्छरको आगोले एक ठाउँबाट अर्को ठाउँ उफ्रिदै गएर लङ्का जलाए । हनुमानले सीता माता बस्ने भएकाले अशोक वाटिका र श्री रामको नाम अंकित गरिएकाले विभीषणको घर भने जलाएनन् । वनबास आएको बेला पत्नी सीता हराएकी चिन्तामा भएका रामको भेट आफ्नो भक्त हनुमानसँग भयो । हुन त भगवान् श्रीरामको जन्म भएपछि बालक रामको दर्शन गर्न हनुमान महादेव मदारीको रुप धारण गरि अयोध्या गएका थिए । उनले त्यसबेला बालक रामलाई आफ्नो वानर नृत्य देखाएर फर्किएका थिए । लङ्कामा मेघनाथ र लक्ष्मण बीच युद्ध हुँदा मेघनाथको वाण लागेर लक्ष्मण घायल भए । आफ्नो भाइको त्यो अवस्था देखेर श्रीराम विलाप गर्न थाले । त्यसपछि एकजना वैधले लक्ष्मणलाई बचाउने सञ्जीवनी बुटी पर्वतमा पाइने बताएपछि हनुमानले त्यो पर्वत पुगे । तर त्यहाँ सञ्जीवनी बुटी कुन हो भनेर पत्ता लगाउन भने सकेनन् । त्यसपछि हनुमानले त्यो पर्वत नै उठाएर लक्ष्मण भएको ठाउँमा लिएर आए । त्यो सञ्जीवनी बुटी लगाएपछि लक्ष्मण ठिक हुन्छन् ।
लङ्कामा रावणको वध गरेर अयोध्या फर्किएपछि एकदिन सभामा माता सीताले हनुमानको शक्ति र उनले गरेको मद्दतको लागि उनलाई मोतीको हार दिन्छिन् । तर हनुमानले त्यो हार स्वीकार्दैनन् । हनुमानले यदि कुनै वस्तुमा राम नभए त्यो वस्तु आफूलाई स्वीकार्य नभएको बताउँछन् । त्यसपछि सभामा हनुमानको नशा नशामा राम नभए हनुमान नि बेकार भएको भनेर सबैले हनुमानलाई गिज्याउन थाल्छन् । त्यसपछि हनुमानले आफ्नो छाती चिरेर आफू भित्र भएको राम सिता सभामा भएका सबैलाई देखाइदिन्छन् ।
रावणसँग युद्ध पश्चात् रामले बिदाइ गर्ने क्रममा हनुमानलाई उसको इच्छा सोध्दा हनुमानले संसारमा रामको नाम चलि रहुन्जेलसम्म आफू पृथ्वी लोकमै रही रहने इच्छा प्रकट गरेपछि भगवान् रामले वरदान दिनुभएको थियो । यसअर्थमा हनुमान जीवित देवताका रुपमा अझै पनि हामीमाझ छन् ।
भगवान् हनुमानको पूजा नेपाल र भारतमा मात्र नभई बंगलादेश, म्यानमार, थाइल्यान्डमा लगायतका देशहरूमा गरिन्छ । थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा सुरक्षाको लागि भनेर हनुमानका दर्जनौँ मूर्ति राखिएका छन् । त्यहाँको स्थानीय भाषामा भने भगवान हनुमानलाई अर्कै नामले पुकारा गरिन्छ।
शास्त्र अनुसार भगवान हनुमानको जन्म मङ्गलवार भएकाले मङ्गलवार हनुमानको पूजा गरिन्छ । त्यसबाहेक, भगवान् हनुमानको पूजा शनिवार पनि गरिन्छ ।
बैसाख स्नान प्रारम्भ
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।

अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन र गङ्गाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाख स्नान सुरुवात भएको छ । आजबाट तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्नाले सम्पूर्ण पाप नास भइ मोक्ष प्राप्त हुने विश्वास रहेको छ ।
चैत्त शुक्ल पूर्णिमवाट बैशाख स्नान औपचारीक रुपमा सुरु भएको छ ।
विश्व अटिजम जागरुकता दिवस
अटिजम, वा अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी, एक न्यूरोडेवलपमेन्टल समस्या हो जसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ। यो एक स्पेक्ट्रम डिसअर्डर हो जसको लक्षण र विशेषताहरू व्यक्तिहरू पिच्छे फरक फरक वा समान पनि हुनसक्छ । अटिजम स्पेक्ट्रम डिसअर्डर को बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन हरेक वर्ष अप्रिल २ मा मनाइने वार्षिक दिवस हो। संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा यो दिवस मनाइएको पाइन्छ ।अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आव्हानमा यस वर्ष पनि विश्वभरि यो दिवस मनाइदैछ । अटिजम सामान्यतया प्रारम्भिक बाल्यकालमा पत्ता लाग्छ यद्यपि यो कहिलेकाहीँ वयस्क जीवनमा पनि पत्ता लागेको पाइन्छ। अटिजमको यति मात्र लक्षण हुन भनेर भन्न सकिने अवस्था नभए पनि सामान्यतया अटिजमका केही सामान्य लक्षणहरू यस प्रकार हुन सक्छन्

सामाजिक अन्तरक्रिया र कुराकानी गर्न या कुनै पनि प्रकारको सञ्चार समन्वय गर्न कठिनाइ
व्यवहार वा दिनचर्या दोहोरिने
इन्द्रियहरू र संवेदनशीलता वा संवेदना प्रशोधनमा समस्या
एउटा गतिविधि वाट अर्को गतिविधिमा जाँदा वा वातावरण परिवर्तन गरिँदा कठिनाइ अथवा भनौँ कुनै पनि प्रकारको परिवर्तन स्विकार्न गाह्रो हुने
कुनै विशेष विषय वा वस्तुहरूमा गहन चासो हुने
नेपाल अकाडमी अफ साइकोलोजीका अनुसार अटिजम भएका सबैमा यी सबै लक्षणहरू एकमुस्टरुपमा हुन्छन् भन्ने हुँदैन ननै अटिजम सहितका व्यक्तिहरू एक प्रकारका हुन्छन् र यी लक्षणहरू अटिजमको पहिचानमा सहायक सिद्धभएतापनि यी लक्षणहरूकै आधारमा अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित हुँदैन। आज न्युरोडाइभरसिटिको अवधारणा विश्वभर गुँजिरहेको अवस्थामा अटिजमलाई समस्याको साटो विविधताको रुपमा हेर्न जरुरी भएको छ र अटिजम सहितका व्यक्तिहरूका गुणहरू पहिचान गरी उपयोगमा ल्याउन सके सो व्यक्ति र समाज सबैका निमित्त फाइदाजनक हुन सक्तछ। अटिजमको कारण पूर्णतया बुझिएको छैन, तर अनुसन्धानहरू अनुसार आनुवंशिक र वातावरणीय कारक दुवै को भूमिका भएको पाइन्छ । अटिजमको कुनै उपचार छैन, तर प्रारम्भिक उपचारले अटिजम भएका व्यक्तिहरूको लागि जीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्न सक्छ। अटिजमको लक्षणहरू प्राय जन्म भएको ३ वर्ष भित्रनै बच्चाहरूमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रूपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटी भन्दा केटाहरूमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरूमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिन्छ । अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरू सफल जीवन यापन गर्न सक्षम हुन्छन्। संसारमा यस्ता धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरण आत्मनिर्भर भएर बाँचेका छन्।
SEE २०८२ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी
एसइई परीक्षा २०८२ साल चैत्र १९ गतेदेखि सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा ( इसइइ ) को सम्पूर्ण तयारी पुरा गरेको जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।
यस वर्षको इसइइले नेपाली शिक्षा प्रणालीमा विविधता र समावेशिता झल्काउँछ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेद विद्याश्रमका लागि अनिवार्य संस्कृत रचना, मदरसातर्फ अनिवार्य अरेबिक भाषा, र अन्य विधाका लागि अनिवार्य नेपाली विषयको परीक्षा सञ्चालन हुने तालिका छ। यसले देशभरका विद्यार्थीहरूको पहुँच र आवश्यकता सम्बोधन गर्ने प्रयास गरेको देखिन्छ। तालिका अनुसार चैत १९ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। यो तालिका नियमित र ग्रेड वृद्धि दुवैका लागि लागू हुने बोर्डले जनाएको छ। परीक्षालाई न्यायोचित बनाउन परीक्षा अनुगमन टोलीलाई परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगत रूपमै कारबाही गर्न सक्ने अधिकार दिइएको छ।

Like