आज ईद उल फितर, गौरी व्रत, मत्स्य जयन्ती व्रत, विश्व कविता दिवस मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ०७,

ॐ गौरी परमेशानी सौभाग्यं संततिं शुभाम्।
प्रयच्छ मे नमस्तुभ्यं देवि माङ्गल्यरूपिणि॥

इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।) कूल जनसख्याँको ५ दशमलव ९ प्रतिशत रहेका नेपाली इस्लाम धर्मावलम्बीहरू लगायत सबै नेपाली जनमा इदको शुभकामना । इद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो इद ) भनेर चिनिन्छ जब इद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर इद) भनेर चिनिन्छ। इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ । दुवै इदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। इद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। इद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।
इद उल फितर र चन्द्र मासको सम्बन्ध ?
ए चन्द्रमा
तिमी कुन जातका हौ
तीजपनि तिम्रो
इद पनि तिम्रो ?
चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘इद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ । यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।
इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ ।
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् । आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।
यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । इदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ । राम रहिम सबैको कृपा बनिरहोस् । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई इद उल फितरको फेरी पनि शुभकामना ।
मत्स्य जयन्ती व्रत
चैत्र शुक्ल पक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान् विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरू\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ ।
‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरू पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि सृष्टिको व्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरू आउँछन् । यसर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुई मत छैन । भगवान् विष्णुको पनि प्रथम अवतारका रूपमा मत्स्य अवतारलाई लिइन्छ । धर्मलाई विज्ञानसँग जोड्ने एउटा सूत्र मत्स्य नारायण अवतारको वर्णनले दिन्छन् । मत्स्य अवतार भगवान् विष्णुको प्रथम अवतार मानिन्छ । म यहाँनेर चाल्र्स डार्विनको ‘इभ्याल्यूशन थ्यौरी’लाई मत्स्य अवतारसँग जोडेर व्याख्या गरौ ।
महाप्रलयका समयमा एउटा सिङ भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरूमा पाइन्छ । विभिन्न आधुनिक लेख, चलचित्र र कथाहरूमा एपोक्लेप्टीक कथाहरू हुन्छन्, अर्थात् महाप्रलय र त्यसपश्चात्का कुराहरू । प्रलय पनि सृजनाको एउटा अंश हो, मत्स्यनारायण अवतार पनि एउटा पोष्टएपोक्लेप्टीक यर्थाथका रूपमा लिइन सकिन्छ । एक कोशको जीवबाट सुरु भएको मानव बिकासक्रमको पहिलो रूप अर्थात् विष्णुको पहिलो अवतार माछा अवतारका रूपमा आज पुजिन्छ । यस दिन गरिने दान पुण्यको पनि ठुलो महत्त्व छ ।
गौरी व्रत
चैत्र शुक्ल तृतीयाका दिन गौरी पूजा गरिन्छ । विवाहित स्त्रीहरू र कुमारीहरू दुवै अखण्ड सौभाग्यवती हुने चाहना राख्दै व्रत बस्ने गर्छन् । यो व्रतलाई गण गौर व्रत पनि भनिन्छ । अनि गौरी तृतीया, सौभाग्य गौरी व्रत अनि गौरी पूजा पनि भन्ने चलन छ ।
ॐ गौरी परमेशानी सौभाग्यं संततिं शुभाम्।
प्रयच्छ मे नमस्तुभ्यं देवि माङ्गल्यरूपिणि॥
(अर्थ: हे गौरी परमेश्वरी! मलाई सौभाग्य, संतान सुख र शुभफल प्रदान गर। म तपाईंलाई नमन गर्दछु।)
खेतमा बालीहरू लगभग काटिइसकेको अवस्था छ, गहुँका बालाहरू काटेर बाली भित्राइसकिएको अवस्था छ । नयाँ वर्षका सुरुवाती दिनहरू, खुल्ला आकाश अनि लामो लामो साँझहरूले लामो दिनको झल्को दिइरहेका छन् ।
सामान्यतया चैत्र महिनाको सक्रान्तिका दिनदेखि यस व्रतको सुरुवात हुने र आजका दिन यसको समापन गरिने चलन रहन्छ । पक्षका हिसाबले हेर्दा चैत्र कृष्ण पक्षको सुरुवातदेखि शुक्ल पक्षको तृतीयासम्म गरेर १८ दिन अवधिको व्रतका रूपमा यो व्रतलाई मानिन्छ । शिवपुराणमा चाहिँ माता पार्वतीले ५ दिनसम्म व्रत लिएको हुँदा भगवान् शिव पाउन सफल भएको भनी उल्लेख गरिएको छ । यद्यपि यस व्रत पार्वती र शिव दुवैका लागि उत्तिकै महत्त्वपूर्ण छ । पति र पत्नी दुवैले आउँदा वर्षहरूसम्म एक अर्कालाई साथ दिँदै अघि बढ्ने र सम्मान गर्ने आशय बोकेको यस व्रतको सबैलाई शुभकामना । अर्को हिसाबले यस व्रतलाई आउँदै गरेको मनसुनको स्वागतका रूपमा पनि लिन सकिन्छ । पानी बोक्न गएका बादलहरूले यथेष्ट पानी अनि चिस्यानहरू लिएर आउन् । सबैको मनकामना पूरा होस्, शुभकामना ।
विश्व कविता दिवस
कविता सधैं भावनाहरूलाई जोड्ने, विविधतालाई सम्मान गर्ने र एकअर्काबीच समझदारी र सद्भावना निर्माण गर्ने सशक्त माध्यम रहँदै आएको छ। यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ। कविता मार्फत सकारात्मक संवाद, प्रेम र एकताको भावना बलियो बनाउने यो अभियानले विश्वव्यापी रूपमै नयाँ ऊर्जा र प्रेरणा दिने अपेक्षा गरिएको छ। विश्व कविता दिवस (World Poetry Day) हरेक वर्ष मार्च २१ तारिखमा मनाइन्छ। यस दिवसको शुरुवात सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (UNESCO) ले गरेको हो। यस दिवस मनाउने उद्देश्य कविता मार्फत भाषिक विविधता प्रवर्द्धन गर्ने, लोपोन्मुख भाषाहरूको संरक्षण गर्ने र विश्वभरका कविहरूको योगदानलाई सम्मान गर्ने हो।

Like