काठमाडौँ फर्किए पूर्वराजा, हौसिएर राजावादीले स्वागत गरे
रासंसा/काठमाण्डौ, फाल्गुण २५,
मुलुकमा करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका छन् । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा बाक्लो संख्यामा उपस्थित राजावादीहरुले राष्ट्रिय झण्डासहित स्वागत गरे । विमानस्थलबाट ‘लक्जरियस’गाडीमा बाहिरिएका पूर्वराजालाई उकास्दै राजावादीहरुले ‘राजा आउ देश बचाउ’ को नारामात्रै लगाएनन् गणतन्त्रिक व्यवस्था र त्यसको नेतृत्वकर्ताविरुद्ध आक्रोश समेत पोखे । उनलाई स्वागत गर्न राजावादीले केही दिनदेखि नै सार्वजनिक आह्वान गरेका थिए । जसअनुसार पार्टी राप्रपा, राप्रपा नेपालसहित दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका साथै विभिन्न धार्मिक र राजवादी संघ/संगठनका प्रतिनिधि विमानस्थल पुगेका थिए । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा शाहले एक भिडियो सन्देशमार्फत अब आफू चुप नलाग्ने आसयसहित आफूलाई साथ दिन आह्वान गरेसँगै राजावादीहरुले आफ्ना गतिविधि बढाउँदै लगेका हुन् । सोही क्रममा राजावादीहरु एकत्रित बन्दै आइतबार उनलाई विमानस्थलमा स्वागत गर्ने भन्दै भेला भएका हुन् । राजावादीहरुले वर्तमान व्यवस्थाले देशमा सुशासन कायम हुन नसकेको, भ्रष्टाचार र बेतिथि बढेको जिकिरसहित राजतन्त्रको विकल्प नभएको बताउँदै आएका छन् । तर, उनीहरुले नै अहिले नै राजतन्त्र पुनर्स्थापनाको स्पष्ट मार्गचित्र भने बनिनसकेको बताउँदै आएका छन् । पोखराबाट समिट एयरको जहाजमार्फत करिब अपराह्न ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनी त्यहाँबाट निजी निवास निर्मल निवास जाँदै गर्दा राजावादीले स्वागत गरेका हुन् । उनी निर्मल निवास नपुग्दासम्म राजावादीहरुले सडकमा उनको पक्षमा नाराबाजी गरिरहे । आइतबार पनि राजावादीहरुले आफ्नो आस्थाअनुसार पूर्वराजालाई स्वागत गरेका मात्रै हुन् । न उनीहरुलाई राजतन्त्र फर्किहाल्ने विश्वास थियो न त पूर्वराजामा नै । उसो त लोकतन्त्रमा आफूलाई लागेको कुरा संविधानको परिधिभित्र रहेर अभिव्यक्त गर्न पाउने छुट पनि छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पार्टीले देशको शासन व्यवस्था र प्रणालीमा सुधार खोजिरहेको बताउँछन् । त्यसका लागि एउटा नवीन राजनीतिक समझदारी आवश्यक रहेको उनी बताउँछन् । उनले सबै राजनीतिक दलहरु फेरि नवीन राजनीतिक समझदारीका लागि तयार हुनुपर्ने उल्लेख गर्दै होइन भने प्रिय÷अप्रिय सबै विकल्पहरु खुल्ला रहने चेतावनी दिए । यद्यपि केही हजार राजावादी सडकमा आएर ज्ञानेन्द्रको स्वागत गर्दा उनीहरु उत्साहित देखिएका छन् । स्मरणीय छ, गणतन्त्रको सुरुवाती समयमा राजतन्त्रको पक्षमा नारा लगाउन समेत राजावादीहरुलाई निकै सकस थियो । परिवर्तन पछिको त्यस अवस्थाबाट गुज्रिएर आएका राजावादीहरुले गणतन्त्र स्थापनाको १६ वर्षको अवधिमा आएर आफ्नो कुरा निर्धक्कसँग राख्न पाउनु नै उपलब्धी बनेको छ । ‘आज सडकमा राजसंस्था पुनःस्थापना पक्षधरहरु कति संख्यामा निस्किए ? राजालाई काठमाडौँमा स्वागत गर्ने विशाल संख्या त दुनियाँसामु छर्लङ्गै छ, पोखराबाट बिदाइ गर्नेहरुको संख्या पनि जोडौं त ! यो भिमकाय उपस्थिति होइन र ?’, उनले उत्साहित हुँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नयाँ समझदारीमा जानका लागि मिलनबिन्दु भनेकै अहिलेको राष्ट्रपतिको ठाउँमा राजालाई अभिभावकीय संस्थाका रूपमा स्थापित गर्नु भएको बताउँछन् । उनले केहीअघि रातोपाटीसँगको अन्तरवार्तामा भनेका थिए, ‘जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले कार्यकारीका रूपमा काम गर्ने, पूर्ण समानुपातिक संसद् र सांसदले मन्त्री हुन नपाउने गरी गयो भने सबै दल र शक्तिबिचमा एकता कायम गर्न सकिन्छ । मिलनबिन्दु पनि त्यही नै हुनसक्छ ।’ राजावादी सडकमा आउँदा उत्साहित देखिएका उनले युवाहरुको उपस्थितिलाई अवमूल्यन नगर्न समेत चेतावनी दिएका छन् । यतिमात्रै होइन उनले आम युवाहरु परिवर्तनको पक्षमा लामबद्ध देखिनु अत्यन्तै सकारात्मक रहेको समेत बताए । तर, अब इतिहास भइसकेको राजतन्त्र फर्किन नसक्ने गणतन्त्र पक्षधर नेताहरु बताउँछन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुले त पूर्वराजालाई राजनीति गर्न मत भए चुनाव लड्न समेत सुझाइ सकेका छन् । ‘गणतन्त्रवादीहरुको नातावाद, कृपावाद, चालचलनले गणतन्त्रको जरा गहिरो नगाडिएको भने साँचो हो’, उनले भने, ‘त्यसकारण जरा हल्लाउन कोसिस भएको हो। गणतन्त्रवादीहरु सच्चिन पर्छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यसलाई सच्याउने र सफा गर्ने काम गर्नुपर्छ ।’ पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किराती दलहरुको कार्यशैलीमा केही समस्या रहेकाले त्यसलाई सुधार्दै आवश्यक रहेको बताए । दलहरु सुध्रिएमा प्रतिगामी तत्वहरुले खेल्ने मौकान नै नपाउने उनको भनाइ छ । उनले आइतबार सडकमा आएका राजावादीहरुको भिडले व्यवस्था बदल्ने नै गरी कुनै संकेत नदेखाउने र त्यो सम्भव पनि नभएको बताए । बरु यो भिडले हाम्रा नेताहरु सच्चिनुपर्छ भन्नेचाहिँ संकेत गर्ने बताए । लोकतन्त्रमा आफूलाई मनपर्ने मान्छे पक्षमा नाराबाजी र स्वागत हुनु स्वाभाविक भएपनि केही अराजक नारा सुनिनु सही नभएको बताए । ‘केपी…देश छोड र राजा आउ देश बचाउको नारा घन्कियो, तर ज्ञानेन्द्रले कहाँ देश बचाउँछन् ? आफ्नो वंश बचाउन सकेनन्’, उनले भने, ‘त्यसकारण वंश नै बचाउन नसक्नेले देश बचाउनै सक्दैन ।’पूर्वराजाले केही अभिव्यक्ति दिनेबित्तिकै बेलाबेलामा राजावादीहरुले पनि सक्रियता बढाएपनि तत्काल राजतन्त्र फर्किन सक्ने अवस्था नरहेको राजावादी दलमध्येको सबैभन्दा ठुलो पार्टी राप्रपाकै नेताहरु बताउँछन् । यद्यपि राजतन्त्र फर्काउनका लागि माहोल तयार गर्न आफूहरु लागिरहने उनीहरुको भनाइ छ ।