आज द्वादशी श्राद्ध, विश्व मुटु दिवस, मघा श्राद्ध
रासंसा/काठमाण्डौ, आश्विन १३,
पितृ गायत्री मंत्र
देवताभ्यः पितृभ्यश्च महायोगिभ्यः एव च। नमः स्वाहायै स्वधायै नित्यमेव नमोनमः।।
यसको अर्थ देवताहरू, पितृहरू, महान योगीहरू, स्वाहा र स्वधालाई सधैं नमस्कार गर्नु हो।
द्वादशी श्राद्ध
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपरान्हकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नुपर्नेछ । तर्पण, दियो पूजा, विश्वदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ । सोह्र श्राद्धका तिथिहरू क्रमशः अघि बढ्दैछन् । सोह्र श्राद्धको प्रारम्भसँगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बीचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्णी नदी तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरूको आर्शिवाद कायम रहोस् । सदीक्षा र शुभेच्छा कायम रहोस् । हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ? वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात् श्राद्ध दुईपटक गरिन्छ । वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको शुरुवातसँगै हरेक परिवारमा शान्ति, खुशियाली कायम भइरहोस् । पितृहरूको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको बैकुण्ठ बास होस् । द्वादशी श्राद्ध तिथिमा बैकुण्ठबास हुनुभएका पितृहरूको मोक्षको कामना ।
विश्व मुटु दिवस
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्यधिक प्रयोग, अशुद्ध खानेकुराहरू, प्रशोधित अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबै जना हृदय रोगको सम्भावित जोखिममा छौँ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।मुटु, एउटा सानो पम्पजस्तो अङ्ग हाम्रो छातीमा जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरूमा पठाइरहन्छ । मुटु हाम्रो सुस्वास्थ्यको पनि मुटु नै हो । सन् २०१२ मा विश्वभरिका स्वास्थ्य सङ्गठन अनि सरकार प्रमुखहरू मिलेर सन् २०२५ सम्म विश्वभरि नै नसर्ने रोगहरूलाई २५ प्रतिशतले कम गर्ने साझा सहमति गरेका छन् । नसर्ने रोगहरूको कुरा गर्दा हरेक वर्ष करिब २ करोड मान्छेहरू हृदयाघात अनि हृदय सम्बन्धी रोग अनि समस्याहरूले मरिरहेका तथ्याङ्क छ । यस कारणले पनि हृदय रोगलाई नम्बर एक हत्याराको रूपमा लिइन्छ ।
मुटु दिवसको नारा
वर्ष २०२४ मा विश्व मुटु दिवसको नारा चाहिँ cardiovascular diseases can affect anyone, regardless of age, gender, or background रहेको छ । यसको अर्थ हृदय रोगले उमेर, लिङ्ग वा पृष्ठभूमिलाई ध्यान नदिई कसैलाई पनि असर गर्न सक्छ भन्ने लाग्दछ । दैनिक व्यायाम, खेलकुदमा कम रुचि, धूम्रपान अनि मदिरा पान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुमाथि अन्याय गरिरहेका छौँ । स्मरणीय रहोस्, माथि उल्लेखित कुराहरूमा मात्र पनि ध्यान दिन सकेमा करिब ८० प्रतिशत हृदय रोगीहरूको असामयिक मृत्युलाई रोक्न सकिन्छ ।मुटु रोगबाट बच्ने जानकारी, उपचार अनि सचेतनाको शक्तिलाई विश्व भरि सबैसमक्ष पुर्याउन शक्तिलाई विकेन्द्रित गरौँ भन्ने आव्हान गरिएको हो । ल है ! आफ्नो मुटुलाई छामौँ र बिचार गरौँ कत्तिको मुटुमैत्री जीवनशैली हामीले अपनाएका छौँ रु हाम्रो परिवार अनि समुदायका सदस्यहरूको मुटु पनि स्वस्थ बनाउन हाम्रो जिम्मेवारी पनि बिचार गरौँ, जबसम्म छाती ढुकढुक गर्छ तबसम्म मात्र जीवन छ नत्र सबै समाप्त । सबैको हृदयको गति जवान होस्, स्वस्थ हृदयभित्र सद्भाव र सबैको माया होस् । विश्व मुटु दिवसको शुभकामना
मघा श्राद्ध
पितृ पक्ष अथवा महालय श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ, कुतुक र रोहिणी मुहूर्तमा यी श्राद्धकर्महरु गरिनु अत्यन्त फलदायी भएको मानिन्छ, त् मघा श्राद्धलाई काकवली अथवा वलभोलानी पनि भनिन्छ । मघा तारा चाहिँ पितृहरूले वास गरेको तारा मानिन्छ, त्रयोदशी तिथिमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो । यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले मघा पनि भनिएको हो । भाद्रपदाको पूर्णिमा देखि अमावस्यासम्म चल्ने पितृ पक्षको मघा नक्षत्र को श्राद्धलाई विशेष रूपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथि पनि अन्य तिथिहरू समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथिलाई विशेष मानिन्छ । यस तिथिमा उमेर नपुगी मृत्युवरण भएका बालबालिकाका लागि संझनास्वरुप श्राद्ध गरिन अत्यन्त फलदायी मानिन्छ, यस तिथिमा मृत्युवरण भएका सकल पितृहरूको मोक्षको कामना ।