विदेशी राजदूतलाई सरकार फेरिनासाथ प्रधानमन्त्री र मन्त्रीलाई शुभकामना दिन हतार
रासंसा/काठमाण्डौ, श्रावण ३,
मुलुकमा नयाँ सरकार गठन भएको होस् वा मन्त्रीमण्डल हेरफेर भएको होस्, प्रधानमन्त्री तथा मन्त्रीहरूले आफ्नो कार्यभार सम्हाल्न नपाउँदै कूटनीतिक नियोगका प्रतिनिधि तथा राजदूतहरू बुकी लिएर बधाई तथा शुभकामना दिन पुगिसकेका हुन्छन् । प्रधानमन्त्री र मन्त्रीहरू शपथ लिएपछि आफ्नो कार्यकक्षमा गएर पदभार ग्रहण गर्न नपाउँदै राजदूतहरू पुगिसकेका हुन्छन् । अहिलेको सरकार परिवर्तनको कुरा गर्ने हो भने असार ३१ गते शपथग्रहण गरेर सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा कार्यभार सम्हाल्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैभन्दा पहिले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटेका थिए । त्यसको दुई दिनपछि नेपालका लागि अमेरिकी राजदूत डिन आर थोमसनले प्रधानमन्त्री ओलीलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रीलाई भेटेर शुभकामना दिनका लागि विदेशी राजदूतहरूको बिचमा प्रतिस्पर्धा नै चलेजस्तो देखिन्छ । खासमा यहाँ नेपालका लागि भारत, चीन र अमेरिका राजदूतहरू यस्तो परिस्थितिमा बढी सक्रिय भएका देखिन्छन् । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई भेट्न पाएका छैनन् तर शपथग्रहण लिएकै दिन उनले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भेटेका थिए । त्यसको भोलिपल्ट असार १ गते उनले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेका थिए । चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटेका थिए । उनले बिहीबार उपप्रधान तथा सहरी विकासमन्त्री सिंहसँग भेटेका छन् । असार २ गते त राजदूत श्रीवस्ताव दिनभरजसो सिंहदरबारमै थिए । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग मन्त्रालयमा गएर भेटेका थिए । त्यसपछि उनी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेट्न गएका थिए । सोही दिन दिउँसो उनले गृहमन्त्री रमेश लेखकसँग उनकै कार्यकक्षमा गएर भेटेका थिए । ‘यस्तो अरू देशमा हुँदैन, नेपालमा मात्र हुन्छ,’ डेनमार्कका लागि पूर्वनेपाली राजदूत विजयकान्त कर्णले भने, ‘विदेशी राजदूतहरूलाई यहाँ प्रधानमन्त्री र मन्त्री नियुक्ति हुने बित्तिकै गएर भेट्न किन हतार हुन्छ भन्ने मैले बुझ्न सकेको छैन । यस्तोचाहिँ मैले नेपालमा मात्र देखेको छु, विदेशतिर यस्तो सम्भव नै छैन ।’ कुनै देशका राजदूतले परराष्ट्रमन्त्रीसम्मलाई भेट्नु ठिक हो तर लाइन लागेर हरेक मन्त्रीलाई भेट्नु त्यति राम्रो नमानिने पूर्वराजदूत कर्णको भनाइ छ । ‘नेपाल सानो र गरिब देश भएर होला यस्तो भइरहेको,’ उनले भने । कर्णका अनुसार शुभकामना तथा ‘कट सी’ का लागि विदेशमा परराष्ट्रमन्त्रीसम्मलाई भेट्न सकिने भए पनि नेपालजस्तो तुरुन्तका तुरुन्त भेट्न सम्भव हुँदैन । अरू देशमा त प्रधानमन्त्री र मन्त्रीसँग भेट्न महिनौँ कुर्नुपर्ने उनले सुनाए । ‘त्यो पनि कुनै विशेष काम भयो भनेमात्र भेट्न पाइन्छ,’ उनले भने । संयुक्त राष्ट्रसंघका पूर्वराजदूत डा.जयराज आचार्यले विदेशतिर राष्ट्रप्रमुख तथा मन्त्रीहरूलाई भेट्न निकै गाह्रो हुने बताए । झन् अमेरिकाका मन्त्रीहरूलाई भेट्नु त निकै गाह्रो हुने उनको भनाइ छ । छिमेकी मुलुक भारतकै विदेशमन्त्रीलाई भेट्न हाम्रो देशका राजदूतलाई निकै गाह्रो हुने आचार्यले बताए । ‘भारतका विदेशमन्त्रीलाई भेट्न कति गाह्रो हुन्छ भन्ने कुरा त्यहाँ नेपालको राजदूत रहिसकेकालाई सोध्दा हुन्छ,’ उनले भने, ‘कतिपय नेपाली राजदूत आफ्नो कार्यकाल पूरा गरेर फर्किने बेलासम्म पनि त्यहाँका विदेशमन्त्रीलाई भेट्न पाएका हुँदैनन् ।’ ‘चीन, जापान, फ्रान्स, जर्मनीजस्ता देशका लागि नियुक्त विदेशी राजदूतले त्यहाँका मन्त्रीलाई भेट्न चाहेमा समय लिएर कुर्नुपर्छ,’ उनले भने, ‘तर नेपालमा मिनेटभरमै भेट्न पाइन्छ । सायद विश्वमा यस्तो यहाँमात्र सम्भव छ ।’ आफ्नै कमजोरीका लागि नेपालमा भने विदेशी राजदूतले जुनसुकै समयमा प्रधानमन्त्री र मन्त्रीहरूलाई भेट्न पाउने गरेको आचार्य बताउँछन् । ‘ठुला व्यक्तिलाई भेट्न कसलाई रहर हुँदैन ? तर कसलाई भेट्ने, कसलाई नभेट्ने, कहिले भेट्ने, त्यो तय गर्ने सम्बन्धित व्यक्तिले नै हो ।’ कतिपय मन्त्रीलाई कूटनीतिक मार्यादा, आचार सहिंताको बारेमा थाहै नहुने गर्दछ । कतिपय राजदूत त परराष्ट्र मन्त्रालयलाई जानकारी नै नदिइकन भेट्न पुगेका हुन्छन्, जो कूटनीतिक मार्यादा विपरीत हो । तर नेपालका प्रधानमन्त्री, मन्त्रीहरू कुनै देशका राजदूतलाई भेट्न पाउँदा गर्व महसुस गर्ने गरेको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । समय नलिइकन पनि मन्त्रालयमा राजदूत आइपुगेका छन् भने मन्त्रीहरूले अरुलाई पन्छाएर पनि उनीहरूसँग भेट्न तयार हुने गरेका छन् । कूटनीतिक नियोगका प्रतिनिधि तथा राजदूतहरूले कुनै उच्चस्तरीय भेटघाट गर्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूलाई पनि सँगै राख्नुपर्ने हुन्छ । तर अधिकांश भेटमा प्रतिनिधि त के, परराष्ट्र मन्त्रालयलाई जानकारीसमेत हुँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई जना राजदूतसँग भेटिसकेका छन्, तर त्यहाँ परराष्ट्रका प्रतिनिधि थिएनन् । तर नेपालमा न कूटनीतिक मार्यादाको ख्याल गरिन्छ न आचारसंहिताको । यहाँ त राजदूतले मन्त्रीसँग भेट्न समय माग्नासाथ सबै काम पन्छाएर मन्त्रीहरूले समय निकाल्ने गरेको कूटनीतिक मामिलाका जानकार बताउँछन् । परराष्ट्र मन्त्रालयका पूर्वसचिव एवं बंगलादेशका पूर्वराजदूत मधुरमन आचार्यले भेटघाट सामान्य कुरा भए पनि राजदूतहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य हुनुपर्ने बताए । आफू बंगलादेशमा राजदूत हुँदा त्यहाँका प्रधानमन्त्रीसँग भेटेको स्मरण गराउँदै पूर्वराजदूत आचार्यले भने, ‘त्यसका लागि समय लिनुपर्छ, सबै प्रक्रिया पूरा गर्नुपर्छ तर नेपालमा त्यस्तो देखिएको छैन ।’ नियुक्त हुने बित्तिकै भेट्नै पर्छ भन्ने जरुरी नरहेको उनले बताए । नेपालका लागि एक जना भारतीय राजदूतले हाफपाइन्ट र चप्पल लगाएरै मन्त्रीलाई भेट्न मन्त्रालय पुगेका थिए । नेपालका लागि यसअघिका चिनियाँ राजदूत एक जना मन्त्रीको झण्डावाला गाडीमा बसेर एक पूर्वप्रधानमन्त्रीको घरमा पुगेका थिए । सम्भवतः यस्तो नेपालमा मात्र हुने गरेको ती पूर्वराजदूतले टिप्पणी गरे । नाम उल्लेख गर्न नचाहने एक पूर्वराजदूतले भने, ‘नेपालमा रहेका भारत तथा चीनका राजदूतहरू १२–१२ बजे राति प्रधानमन्त्री, मन्त्रीलाई भेट्न गइरहेका हुन्छन्, यो समाचारमै आएको विषय हो ।’ प्रधानमन्त्री तथा मन्त्रीहरूलाई दुईतीन महिना विभिन्न देशका राजदूतसँग भेटघाट गर्न भ्याइ–नभ्याइ हुन्छ । सुरुमै अमेरिका, भारत र चीनका राजदूतले भेटघाट गर्छन् भने त्यसपछि पाकिस्तान, बंगलादेश, इजराइल, भुटान, जापान लगायतका देशका राजदूत पनि भेट्न जाने गरेका छन् । त्यतिमा सीमित नरहेर उनीहरू मन्त्रालय नै पुगेर फेरि बधाई तथा शुभकामना दिन्छन् । ती पूर्वराजदूतले भने, ‘सबैको आआफ्नो स्वार्थ हुन्छ, त्यही मिलाउनका लागि भेटघाट गरिरहेका हुन्छन् । नत्र भेट्न आवश्यक नै छैन ।’ प्रधानमन्त्री तथा मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा कूटनीतिक नियोग तथा राजदूतहरूलाई निमन्त्रणा हुन्छन् । त्यहाँ धेरैको उपस्थिति पनि हुन्छ । शपथ लगत्तै उनीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूलाई भेटेर बधाई तथा शुभकामना दिएका हुन्छन् ।