कांग्रेसको, सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ४,

मुलुकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकलेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । ‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भने । बिहीबार सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ । लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिए । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।

Like