गाजामा सङ्घर्ष विरामका लागि वार्ताको प्रयास, वीपिन फर्किने आशा फेरि जगायो
रासंसा/काठमाण्डौ, फाल्गुण १४,
विश्वमा गाजामा झन्डै ५ महिनादेखि जारी युद्धमा सङ्घर्ष विरामका लागि पुनः वार्ताको प्रयास सुरु भएको छ। पछिल्लो समय फ्रान्सको पेरिसमा जारी वार्तामा इजरायल गाजामा सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमत भएको बताइएको छ। सामाजिक सञ्जाल एक्समा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका आफ्ना नागरिकको रिहाइका लागि एक टोली पेरिस पठाइएको र अर्को चरणको कुराकानी सुरु हुने बताए। सङ्घर्ष विराम र बन्धकको रिहाईको विषयमा पेरिसमा वार्ता भइरहेको र इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनी कैदीलाई रिहा गर्ने विषयमा पनि छलफल भइरहेको छ। वार्तामा इजरायल पहिलो चरणमा सहमत भएको बताइएको छ। आइतवार मात्रै अमेरिकाको व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले बन्धक रिहाई र अस्थायी सङ्घर्ष विरामको विषयमा पहिलो चरणमा सहमति बनेको बताएका छन्। गाजामा वार्ताको पहल र इजरायलको पहिलो चरणमा सहमतिले हमासको कब्जामा रहेका नेपाली युवा वीपिन जोशीको रिहाइ हुन सक्ने आशा फेरि जगाएको छ। आइतवार कतारमा पनि सङ्घर्ष विरामको विषयमा वार्ता सुरु भएको बताइएको छ। गत अक्टुबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दै जोशीलाई पनि बन्धक बनाएको इजरायली सरकारको दावी छ। तर, हालसम्मको उनको अवस्था अज्ञात नै छ। युद्ध विराम सकिए लगतै इजरायलले हमासको विभिन्न केन्द्र, अस्पताल र अन्य स्थानमा आक्रमणलाई तीव्र बनाउँदै गएको छ। इजरायलले गाजामाथि गरेको तीव्र आक्रमणमा हालसम्म २७ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ। सर्वसाधारणलाई क्षति नपुर्याउन इजरायललाई विश्व समुदायको दबाब दिएपनि कुनै प्रभाव परेको छैन। यसअघि पहिलो चरणमा नोभेम्बरमा ७ दिनका लागि अस्थायी युद्ध विराम गरिएको थियो। पहिलो चरणमा इजरायलका ११० जना महिला तथा बालबालिका रिहा भएका थिए। त्यो समय महिला र बालबालिका मात्रै रिहा गर्ने र गराउने सहमति भएकाले एकजना पनि पुरुष मान्छे रिहा भएका थिएनन्। इजरायलाई सर्वसाधारणमाथि आक्रमण रोक्न गत डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा युएन बडापत्रको सबैभन्दा बढी शक्तिशाली धारा ९९ लागू गर्यो। जसले युद्ध विरामको आशा जगायो। धारा लागू भएको झन्डै २ महिना पछि इजरायल र हमासबीच फेरि वार्ता भइरहेको छ। इजरायलमा कृषि अध्ययनका लागि त्यहाँ पुगेका जोशीको अवस्था हालसम्म अज्ञात छ। वार्तामा दुबै पक्ष सहमत भएसँगै बन्धक बनाइएका दुबै पक्षका नागरिक रिहा हुनेछन्। जसमा नेपालका जोशी पनि पर्न सक्ने आशा गरिएको छ।