स्रोत नखुलेको ६ किलो सुन, ६ किलो चाँदी र ६३ लाख सहित एक पक्राउ

Share to:

मिनबहादुर कुँवर/कास्की, फाल्गुण ०२,

मुलुकमा स्रोत नखुलेको ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाख नगद सहित प्रहरीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरामा भाडामा बस्दै आएका ४० वर्षीय सुरजितले अवैध रूपमा सुन ल्याई विभिन्न गरगहना बनाई बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचना पाएको प्रहरीले सुरजितको कोठामा छापा मारेको थियो। प्रहरीले पोखरा महानगरपालिका वडा नं-२ मोहरिया टोल बस्ने सुरजित भौमिकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सुरजितको कोठाबाट लुकाएर राखिएको अवस्थामा सुनचाँदी तथा नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। प्रहरीका अनुसार सुरजितबाट विभिन्न किसिमका सुनका गरगहनाहरू ५ केजी २०० ग्राम, काँचो सुन ९९९.९० ग्रामको एक ढिका (बिस्कुट) , र ५० ग्रामको १ ढिक्का (बिस्कुट) बरामद भएको छ। साथै ६ किलो चाँदी समेत बरामद भएको छ। उनको कोठामा फेला परेका गहना र नगदको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। त्यस्तै ६२ लाख ८१ हजार रुपैयाँ नगद पनि प्रहरीले बरामद गरी सार्वजनिक गरेको छ। उनको साथबाट एउटा मोबाइल, आधार कार्ड, १३ वटा चेक, दुई वटा डायरी र ७ वटा रजिस्टरहरू बरामद भएका छन्। सुरजितमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग, पुलचोक ललितपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Like