बाख्रापालक किसान पेसा प्रवर्द्धनमा जुट्दै

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, माघ २७,

मुलुकमातनहुँमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन्। माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्य निरुत्साहन गर्न एकजुट भएका हुन्। भण्डारीले आयातित खसीबोका बिक्री वितरणलाई निरुत्साहित गरी यहीँका उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। आयातित खसीबोका यहाँका बजार तथा होटलमा बिक्री हुने हुँदा यहाँका खसीबोका बिक्री वितरणका लागि बजारीकरण र भण्डारणको समस्या सृजना भएको उनले बताए। नेपाल बाख्रापालक महासंघका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले व्यावसायिक बाख्रापालक किसानलाई एकत्रित बनाउन आवश्यक रहेको बताए। उनले तनहुँ मासुमा आत्मनिर्भर भएको अवस्थामा पनि यहाँका खसीबोका अन्य जिल्लामा बेच्नुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो गरे। उनले भने, ‘जिल्लामा बाह्य खसीबोका आयात गर्नुपर्ने अवस्था छैन तर यहाँका किसानका खसीबोका बिक्री वितरणमा समस्या भएको छ। यसको न्यूनीकरणका लागि व्यावसायिक बाख्रापालक किसान एकत्रित हुनुपर्छ, यसका लागि हामी लागिपरेका छौँ।’ भण्डारीले भने, ‘व्यावसायिक बाख्रापालक किसान एक भएर अब आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्न अनुगमन तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्ने छौँ, आवश्यक सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी अगाडि बढ्ने तयारी गरिरहेका छौँ।’ यहाँ स्थानीय उत्पादन प्रयोग गर्ने वातावरण बनाएर वास्तविक किसानका खसीबोका बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले बताए। उनले भने, ‘आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्नेछौँ, यसले वास्तविक किसान मर्कामा पर्नुपर्ने अवस्था रहँदैन, यहीँको बजारमा हाम्रा खसीबोका खपत हुनेछन्, समन्वय गर्नुपर्ने संघसंस्थाबाट अनुमति लिएर नै सजगताका साथ काम अगाडि बढाउने र जिल्लाबासीलाई जैविक मासु उपभोग गर्ने बनाउने छौँ, यहीँको खसीबोका बिक्री भएमा आर्थिक मन्दी घटाउनसमेत टेवा पुग्नेछ।’ सरकारबाट प्राप्त हुने अनुदान प्राप्त गर्न महासंघबाट प्रक्रियागत रुपमा अगाडि बढ्ने गरी नीतिनिर्माण गर्न केन्द्रीय समिति लागिपरेको समेत उनले जानकारी दिए। नेपाल बाख्रापालक महासंघ तनहुँका अध्यक्ष चिनबहादुर भण्डारीले बाह्य खसीबोका आयातलाई निरुत्साहित गर्दै यहीँको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, ‘बाख्रापालनसँगै मासु व्यवसायलाई अगाडि बढाउन चाहने किसानलाई महासंघले सहयोग गर्छ, बाहिरबाट आयात हुने मासुलाई निरुत्साहित गर्दै जिल्लाबासीलाई जैविक मासु खाने वातावरण तयार गर्नेछौँ।’ जिल्लाबासीलाई प्राङ्गारिक रुपमा उत्पादित खसीबोकाको मासु उपभोग गर्न पाउने बनाउन प्रक्रियामा अगाडि बढेको उनले बताए। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यावसायिक बाख्रापालक किसानलाई अन्य व्यवसायसँग तुलना गर्न नमिल्ने बताए। उनले भने, ‘बाख्रापालक किसानले आफ्ना हकहित र व्यावसायिक समस्या समाधानमा समन्वय र सहयोगमा एक भएर काम गर्दा किसानमा उत्साह थपिएको छ, यसले वास्तविक किसानले सहयोग पाउनेछ।’ उनले सहकारीमार्फत खसीबोका बिक्री वितरणमा अनुदानको व्यवस्था भएको जानकारी गराउँदै सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्न सुझाव दिए। सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्दा नगरपालिकाले प्रतिकिलो १० रुपैयाँ अनुदानस्वरुप प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताए। उनले खसीबोका बिक्री गर्न सहकारीमा आबद्ध हुन उनको आग्रह छ। उनले व्यावसायिक रुपमा खसीबोका उत्पादन गर्दा निस्कने प्राङ्गारिक मलको उपयोग हुने गरी कृषिलाई सहयोगी व्यवसाय बनाउन सुझाव दिए। नगर प्रमुख न्यौपानेले भने, ‘माछामासु आयात गर्नुपर्ने अवस्था छैन, तर खाद्यान्नका साथै गोलभेँडा, काउली, आलुलगायतका तरकारी तथा फलफूल बाहिरबाट आयात गर्न बाध्य छौँ, माछामासुसँगै यी वस्तु पनि यहीँ उत्पादन गर्नतर्फ किसान लाग्नुपर्छ।’ बाख्रापालक किसानलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने कार्यमा नगरपालिकाको सदैव साथ रहेको उनले बताए। रासायनिक मलको उपभोगमा न्यूनीकरण गर्दै बाख्राको बडकौलालाई प्रविधिकरण गरी खेर जाँदै गरेका मलबाट उपभोग्य बनाउन आवश्यक रहेकाले बाख्रापालक संघसँग समन्वय गरी यसको विकासमा सहयोग गर्ने बताए। विपतमा परेर बाख्रा वा पशु मरे नगरपालिकाले राहत उपलब्ध गराउँदै आएको र यस्ता कार्यसम्बन्धी किसान जानकार हुनुपर्नेमा उनको जोड थियो। व्यावसायिक बाख्रापालक किसान एकत्रित बन्दै नगरस्तरीय समिति गठनमा लागेका छन्। समितिमार्फत निर्णय गरी प्रक्रिया अगाडि बढेमा वास्तविक बाख्रापालक किसानले सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य आवश्यक सहयोगमा सहजता कायम हुने अपेक्षा गरिएको छ। अनुदानभन्दा पनि बैङ्क ऋणको ब्याजदर कम भए किसानलाई सहज हने उनीहरुको भनाइ छ। व्यास– १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले सामुदायिक वनलाई बाख्रापालक किसानले चरन क्षेत्रका रुपमा उपभोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘बाख्रापालक किसानले सामुदायिक वनसँग समन्वय गरी चरन क्षेत्र बनाउनुपर्छ, ठूला रूखको व्यवस्थापन गर्दै बुट्यानलाई पशुपालकले उपयोग गर्ने गरी समन्वय गर्नुपर्छ, यसले सहज बनाउनेछ।’ नेपाल बाख्रापालक संघ व्यास नगर समिति गठन गरिएको छ। नेपाल बाख्रापालक महासंघ तनहुँका अध्यक्ष भण्डारीको अध्यक्षतामा शुक्रबार दमौलीमा बसेको बैठकले नगर समिति गठन गरेको हो। व्यास नगर समितिको अध्यक्षमा व्यास– ११ का उदयनाथ अधिकारी सर्वसम्मत चयन हुनुभएको छ। समितिको उपाध्यक्षमा व्यास– ९ का सरस्वती कुमाल, सचिवमा व्यास– १० का विष्णुहरि न्यौपाने र कोषाध्यक्षमा व्यास– ११ का शोभा बोहरा चयन भएका छन्। त्यस्तै सदस्यमा व्यास– ५ का दिलबहादुर थापा, व्यास–१३ का रामहरि सेढाई, व्यास–१२ का जसबहादुर भुजेल, व्यास– ७ का होमबहादुर गुरुङ र व्यास–८ का प्रदीप ओझा चयन भएका छन्। जिल्लाका १० वटै पालिकामा समिति गठन गरी सशक्त बनाउने संघको लक्ष्य छ।

Like